ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, ७ जना घाइते

 असार १२, २०७५ मंगलबार ८:५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

डडेल्धुरा – ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । सोमबार साँझ ७ बजे जिल्लाको आलिताल गाउँपालिका–६ झरकाँडा (घोडेखान) मा बालुवा बोकेको से १ त ८४१० नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा आलिताल–६ दोबाटाका ११ वर्षीय भरत महरको ज्यान गएको आलिताल प्रहरी चौकीका प्रहरी हावल्दार मानबहादुर चन्दले जानकारी दिनुभयो ।

परशुराम नगरपालिकाको जोगबुडाबाट बालुवा ल्याएर बुडर हुँदै आलिताल–६ दोबाटा जाने क्रममा ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परि घाइते हुनेहरुमा आलिताल–७ बलौचाका दीपक बोहरा, उनका छोरा गोविन्द बोहरा, त्यही गाउँपालिकाकै वडा नं ६ भवनाका हिक्मत महरा, प्रेम महरा, सीता पहरी, मानबहादुर कुँवर र चन्द्र महरा रहेका छन् । घाइतेहरुको कैलालीमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया