‘सुन्तला क्रान्ति’काे बाटोमा ‘सेक्सन कमाण्डर’

 चैत ४, २०७५ सोमबार १४:१६:३४ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखा नगरपालिका वडा नम्बर १४ को भट्टवेशी गाउँ । सुन्तला खेतीको लागि यो ठाउँ प्रसिद्ध मानिन्छ । सुन्तला बिक्रीबाट आम्दानी गर्न एक किसिमको अघोषित प्रतिस्पर्धा नै छ, यहाँ । सुन्तला बिक्री सकेपछि गाउँमा चर्चा चल्छ, उसले यतिको सुन्तला बेच्यो, त्यसले त्यतिको सुन्तला बेच्यो । यसको आम्दानी यति भयो, त्यसको आम्दानी त्यति भयो । 

हिउँद सकिनै लाग्दा सुन्तलाको किसानहरु बगैंचा गोडमेलदेखि बोटको फेदफेदमा बोडोपेष्ट लगाउने काममा ब्यस्त छन् । अरु सुन्तला उत्पादक किसान जस्तै ३२ वर्षीय जीतबहादुर भुलन पनि बगैँचा गोडमेलमा ब्यस्त हुनुहुन्छ । उहाँले सुन्तला खेती सुरु गर्नुभएको धेरै वर्ष भएको छैन र खेती पनि ठूलो छैन तर दशकौंदेखि सुन्तला खेतीमा लागेका अरु किसान भन्दा उहाँको चर्चा धेरै छ । कारण, भुलन तत्कालीन नेकपा माओवादीका सैन्य कमाण्डर हुनुहुन्थ्यो । 

मकवानपुरको साविक छतिवन गाविस वडा नम्बर ६ र अहिलेको हर्नामाडी गाउँपालिका वडा नम्बर ८ का बासिन्दा जीतबहादुर गाउँमै तुल, ब्यानर लेख्ने काम गर्नुहुन्थ्यो । द्वन्द्वरत तत्कालीन नेकपा माओवादी पनि विभिन्न कार्यक्रमका तुल, ब्यानर लेखाउन उहाँको सम्पर्कमा आउँथ्यो, पछि पछि विभिन्न ठाउँमा भित्तेलेखनका लागि पनि उहाँलाई लैजान थालियो । जनमिलिसियाको रुपमा माओवादीलाई सहयोग गर्ने क्रममा उहाँ विसं २०६१ सालबाट तत्कालीन माओवादी पार्टीको पूर्णकालीन कायकर्ताको रुपमा भूमीगत हुनुभयो । 

भूमीगत भएपछि पनि भूलनको मुख्य काम पार्टीका विभिन्न कार्यक्रमका लागि तुल, ब्यानर बनाउने र भित्तेलेखन गर्ने नै हुन्थ्यो । ‘त्यही बीचमा सैन्य तालिम पनि लिएँ, विभिन्न लडाइँमा मकवानपुर र आसपासका ठाउँसम्म पुग्थेँ’ उहाँले झण्डै डेढ दशक पहिलेको घटनाक्रम सम्झँदै भन्नुभयो, ‘भूमीगत भएको पुग नपुग दुई वर्षपछि शान्ति प्रक्रिया सुरु भयो, अनि हामी क्यान्टोनमेन्टमा बस्यौँ ।’ क्यान्टोनमेन्ट आउने बेलासम्ममा उहाँ माओवादी जनसेनाको एउटा सेक्सनको कमाण्डर हुनुहुन्थ्यो । मकवानपुरबाट चितवनको जुटपानी क्यान्टोनमेन्ट सरेलगत्तै उहाँको गोरखा देउरालीकी अनिता शाहसँग चिनजान, प्रेम अनि विवाह भयो । अनिता पनि माओवादी जनसेनाको प्लाटुन कमाण्डर हुँदै समायोजन प्रक्रियामा आउनुभएको थियो ।

सेना समायोजनका क्रममा स्वेच्छिक अवकाश रोजेका अनिता र जीतबहादुरले क्यान्टोन्मेन्टबाट फर्कने बेला ५/५ लाख रुपैयाँ पाउनुभयो । ‘अनिताको ५ लाख रुपैयाँले चितवनमा १२ कठ्ठा जग्गा किनियो, मेरो पैसाचाहिँ घरखर्च र ऋण तिर्दा सकियो’ जीतबहादुरले भन्नुभयो, ‘क्यान्टोन्मेन्टबाट फर्केपछि केही समय पुरानै आर्टको काम पनि गरेँ तर राम्रो कमाइ नभएपछि विदेश जाने निधो गरेँ ।’ स्टिल फिक्स्चरको काम गर्नेगरी एक कम्पनीमार्फत उहाँ २०६९ सालमा कतार पुग्नुभयो ।

नागरिकको मुक्तिका लागि भनेर वर्ग संघर्षमा होमिएका जीतबहादुरलाई कतारी कामले त्यति सन्तुष्ट बनाउन सकेन । ‘सामान्य तरिकाले अह्राए हुने काममा पनि सुपरभाइजरले थर्काउन, गाली गर्ने भएपछि त्यति चित्त बुझिरहेको थिएन’ कतार गएको डेढ वर्षपछिका दिनहरु सम्झँदै जीतबहादुर भन्नुहुन्छ, ‘एक हजार रियाल तलबमा गएको थिएँ, एक वर्षमा १२ सय बनाउँछु भनेको थियो, पैसा बढाइदिएन, लौ जा त भनेर त्यही झोकमा नेपाल फर्किएँ ।’ 

नेपाल फर्केको केही दिनमा २०७१ को अन्त्यतिर उहाँ ससुराली घर गोरखाको भट्टवेशी आउनुभयो । गाउँलेहरु सुन्तला बगैंचामै व्यस्त थिए । कुरैकुरामा गाउँका एक किसानले सुन्तला बगैँचा बेच्न लागेको चर्चा सुनियो । ‘खै के मन लाग्यो, झण्डै ५ रोपनी जग्गाको सुन्तला बगैँचा २ लाख रुपैयाँमा किनिदिएँ ।’ सुन्तला बगैँचा भन्नुमात्रै, गोडमेल र स्याहार नपाएको बगैँचाका सुन्तलाका बोट लामो समय ओच्छ्यान परेर भर्खरै उठ्न लागेको बिरामी जस्ता थिए । ‘वरिपरी झाडी पलाएर बगैँचाभित्र छिर्न पनि सक्ने अवस्था थिएन’ जीतबहादुरले हौसिँदै भन्नुभयो, ‘मैले दुई तीन दिनमै झाडी सिनित्त पारेर फाँडेपछि पो गाउँमा मेरो चर्चा हुन थालेको ।’ 

बगैँचा त हेर्न लायक भो, तर त्यसको गोडमेल विधि, औषधि उपचार, अहँ मलाई केहीको मेलोमेसो थिएन । उहाँले भन्नुभयो । छिमेकका अरु किसानसँग सरसल्लाह लिँदै सुन्तला बगैँचा गोडमेल र स्याहारमा लागिरहेकै बेला उहाँलाई जिल्ला कृषि विकास कार्यालयमा सुन्तला खेतीका बारेमा तालिम लिने अवसर मिल्यो । त्यसबेला नै हो, भट्टवेशीका सुन्तला उत्पादक किसानले बुढीकोट सुन्तला उत्पादक कृषक समूह गठन गरे । जीतबहादुर त्यसको संस्थापक सदस्य हुनुभयो । तालिमपछि हौसिएका जीतबहादुर फसल लिने बेला भने हिस्स पर्नुभयो । ‘सुन्तला किन्न भनेर ठेकेदार बगैँचामै आए, बगैँचा वरपर एक फन्को लगाएपछि ५० हजार रुपैयाँमा पुरै सुन्तला किन्छु भने, मैले पनि एउटा बोटको एक हजार भनेको राम्रै हो भन्ने लागेर हुन्छ भन्दिएँ ।’ 

बेलुका घर फर्किएपछि मात्रै जीतबहादुरले आफू जिल्लिएको थाहा पाउनुभयो, सुन्तलाको भाउको मेलोमेसो पनि पाउनुभयो । त्यसपछिको वर्ष त्यही बगैँचाबाट डेढ लाखको सुन्तला बेच्नुभएका जीतबहादुरले यो सिजन भने २ लाख रुपैयाँमा बेच्नुभयो । यही बीचमा उहाँले नजिकै अर्को बगैँचा पनि किन्नुभएका जीतबहादुरको सुन्तला खेतीको अनुभव ४ वर्षको मात्रै हो ।

उहाँले फाट्टफुट्ट फर्निचरको काम र घर निर्माणको ठेक्का लिए पनि उहाँको मन भने सुन्तला तिरै छ । ‘७ लाखमा घर किनेको छु, त्यसमा सुन्तलाको कमाईले धेरै भरथेग गरेको छ’ उहाँले भन्नुभयो, ‘अहिले दुईवटा बगैँचामा १ सय ६० बोट सुन्तला छ, राम्रो स्याहार गर्‍याे भने राम्रै उत्पादन दिन्छ भन्ने आशा छ ।’ सँगै युद्ध लडेका केही साथी विदेशमा छन्, बेला–बेला जीतबहादुरसँग सम्पर्क हुन्छ । जनयुद्धकालीन केही साथी भने फेरि पनि क्रान्ति गर्नुपर्छ भन्दै हिँडेका छन्, तिनले जीतबहादुरलाई पनि बेलाबेला सम्पर्क गर्छन् र सँगै हिँड्न आग्रह गर्छन् । तर जीतबहादुर सुन्तला खेतीमै रमाउनुभएको छ, भन्नुहुन्छ, ‘अबचाहिँ कृषि क्रान्ति गर्ने हो, सुन्तला क्रान्ति ।’ 
 

अन्तिम अपडेट: चैत २६, २०७५

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया