प्रधानमन्त्रीका अभिव्यक्तिप्रति हामी रामराम भन्न सक्छौँ, काँध थाप्न सक्दैनौँ : सांसद गौतम

 चैत ४, २०७५ सोमबार १७:२७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार निषेधको राजनीतिमा अघि बढेको भन्दै सरकारको कार्यशैलीको विरोध गरेको छ । 

प्रतिनिधिसभाको सोमबार बसेको दोश्रो बैठकमा बोल्दै कांग्रेसका सांसद सञ्जयकुमार गौतमले विप्लव समूहलाई प्रतिबन्ध लगाएर सरकारले निषेधको राजनीति गरेकोमा आपत्ति जनाउँदै त्यसको विरोध गर्नुभयो ।

प्रतिबन्धले नियन्त्रण नभई अराजकता निम्त्याउने र हिंसाको वातावरण बनाउने भन्दै उहाँले सरकारले अबलम्बन गरेको निषेधको नीतिले देशलाई हानी पुर्याउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो सरकार वार्ता र संवादको सट्टा निषेधको राजनीतिलाई अगाडि बढाइरहेको छ । यो सर्वथा गलत छ ।’

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीका सार्वजनिक अभिव्यक्तिप्रति पनि आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, ‘कहिले प्रधानमन्त्रीज्यू भन्नुहुन्छ ९–९ महिनामा अर्को सरकार देख्न पल्केका हरुले विरोध गरेका छन् । कहिले सीके साउतको नाममा रोटी सेक्न पल्केकाहरुले के कुरा गर्छन् के कुरा गर्छन् भन्नुहुन्छ । हिजो मात्रै पनि उहाँले भन्नुभएको छ ‘मलाई यो देशका बुद्धिजीवि र अगुवा भन्नेहरुको बुद्धि देखेर दया लाग्छ । के हामी सबै त्यो दयाका पात्र भएका छौँ सम्माननीय सभामुख महोदय ? यो आपत्तिजनक छ ।’

सरकारले सीके राउतसँग सहमति गर्दा सदन र प्रतिपक्षी दलको बेवास्ता गरेकोे आरोप उहाँले लगाउनुभयो । उहाँले शान्ति सुरक्षा, भ्रष्टाचार, सुनकाण्ड, महिला हिंसालगायतको अवस्थामा सुधार आउन नसकेको भन्दै सरकारको प्रभावकारीमा प्रश्न उठाउनुभयो ।

सरकारका कार्यशैलीले संघीयतालाई झन–झन कमजोर बनाईदै लगेको तथा संसदको मर्यादा र गरिमालाई कायम राख्न नसके टिप्पणी उहाँले गर्नुभयो ।उहाँले भन्नुभयो, ‘अति सर्वत्र बर्जते । दम्भले अधिनायकवादतर्फ जान प्रेरित गर्छ । प्रधानमन्त्रीका अभिव्यक्तिप्रति हामी राम राम भन्न सक्छौ काँध थाप्न सक्दैनौँ ।’

कांग्रेसले विधिसम्मत रुपमा संसदका कारबाही सञ्चालन गर्न सभामुख र सरकारको ध्यानाकर्षण गराएको छ । सांसद गौतमले नियमावलीमा भएको प्रधानमन्त्रीसँग प्रश्न सोध्ने व्यवस्था कार्यान्वयन गर्न माग गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘प्रतिनिधिसभा नियमावली २०७५ को परिच्छेद ९ को धारा ५६ ले प्रत्येक महिनाको पहिलो हप्ता बस्ने पहिलो बैठकको पहिलो एक घण्टा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रभित्र पर्ने मन्त्रालयसंग सम्बन्धित महत्वपूर्ण विषयहरुमा प्रश्न सोध्ने व्यवस्था रहेको छ । म विधिसम्मत तरिकाले सदन सञ्चालन होस् भनेर जोडदार माग गर्दछु र सम्माननीय प्रधानमन्त्री यूले रोष्टममा आएर हामीलाई जवाफ दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’

गौतमले बोलिसकेपछि सभामुख कृष्णबहादुर महराले नियमावलीको त्यस व्यवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

अन्तिम अपडेट: चैत १३, २०८०

1 Comments

  • महेश्लर रिजाल

    March 18, 2019, 8:33 p.m.

    राजनीतिक मुद्धाकाे नाम लिएर अातंक मच्चाउने विप्लव समूहलाई मन्द स्वरमा घुमाउराे भाषामा समर्थन गर्नेहरू नेपालकाे हितमा साेच्नेकाे समूह हाेइन । उनीहरूलाई कुनै तर्कद्वारा स्थापित गर्ने कुचेष्टा अहिले भइरहेकाेमा दिक्क लाग्छ । उनीहरूले हिंसाकाे कुनै माध्यम प्रयाेग गर्नुभन्दा स्पष्ट राजनीतिक बीचार सहित जनतामाझ जानू पर्छ । उघ्र बीचारद्वारा वास्तविक रूपमाा जनताकाे हित गर्न नसकिने प्रमाणित भैसकेपछि पनि त्यस्तै पृष्टभूमिमा राजनीति गर्न चाहनेलाई किन सहानुभुति राख्न खाेजिएकाे हो ?

  •  0 Reply

तपाईको प्रतिक्रिया