नारायणगढ–मुग्लिन सडक : चारकिलो र भालुढुङ्गामा पहिरो नियन्त्रणको काम हुन सकेन

 असार १२, २०७५ मंगलबार ९:१५:५६ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत ३२ ठाउँमा पहिरोको जोखिम रहेको छ । पहिरो नियन्त्रण गर्न अयोजनाले काम गरिरहेको छ । ३२ ठाउँमध्ये चारकिलो र भालुढुङ्गा क्षेत्रमा भने पहिरो नियन्त्रणको काम वर्षा आगाडि नहुने भएको छ । 

हरेक वर्ष वर्षायामको समयमा पहिरोले दुःख दिने गरेकाले यस वर्ष पहिरो नियन्त्रणका लागि आयोजनाले समयमै काम सुरु गरेको थियो । सडक विभागमार्फत आयोजनाका लागि खटिनु भएको भूप्रविधि परामर्शदाता टुकलाल अधिकारीले सडकखण्डमा पर्ने चारकिलो र भालुढुङ्गा क्षेत्रमा पहिरो नियन्त्रणको काम गर्न अहिले सम्भव नदेखिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘चारकिलो र भालुढुङ्गामा भौगोलिक वनावट जोखिम र काम गर्न कठीन भएकाले वर्षा अगाडि नै पहिरो नियन्त्रणको काम सम्भव देखिँदैन ।’

यो सडक खण्डको चारकिलो र भालुढुङ्गा क्षेत्रमा पहिरोको अवस्था हेरेर मात्र यात्रा गर्नुको विकल्प नभएको बताउँदै उहाँले सडकखण्डको अन्य क्षेत्रमा पहिरो नियन्त्रणको काम भने सफल हुदै गएको जानकारी दिनुभयो ।

३२ स्थानमा पहिरो नियन्त्रणको लागि काम गरिएकोमा ८० प्रतिशत काम सकिएको आयोजनाका इन्जिनियर शिव खनालले बताउनुभयो । पहिरोको जोखिम रहेको ३२ स्थान मध्ये ३० स्थानको काम अन्तिम चरणमा पुगेको बताउँदै उहाँले चारकिलो र भालुढुङ्गा क्षेत्रमा कसरी नियन्त्रणको काम गर्ने भन्ने विषयमा आयोजना गम्भीर भइरहेको बताउनुभयो । 

सडकको विस्तार एवम् निर्माणका काम सकिए पनि पहिरोको जोखिम कायम छ । पानी पर्दा हिलो पहिरो र नपर्दा सुख्खा पहिरो झर्ने गरेको छ । राजधानीलाई बाहिरका जिल्लासँग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोका कारण सडक जाम हुँदा यात्रुले अत्यासलाग्दो जामको सामना गर्नु परिरहेको छ ।

यो सडक खण्डको १२ स्थानमा ठूलो पहाड काटिएको छ । ३३ दशमलव २ किलोमिटर दुरी रहेको सडकमध्ये १७ दशमलव १ किलोमिटर सडक विस्तारका लागि भित्ता पहाड काटिएको थियो । वर्षातको समयमा पहिरो नझर्ने गरी दुईवटा निर्माण कम्पनीले सडकखण्डलाई दुई भागमा विभाजनगरी काम गरिरहेको इन्जिनियर खनालले बताउनुभयो । 

दाशढुङ्गाबाट चोरखोलासम्म न्यू टेक्निकल हाईहिमालयन जेभि र चोरखोलाबाट मुग्लिनसम्म न्यू टेक्निकल हाई हिमालय हिमसगरमाथा जेभिले काम गरीरहेको छ । १४ करोडको लागतमा पहिरो नियन्त्रणको काम भइरहेको छ ।

सडक क्षेत्रमा चट्टान, साना ढुंगा, माटोको ढिस्को, गेग्रान खस्न सक्ने उच्च जोखिम रहेका बताउदै आयोजना इन्जिनियर खनालले सबै क्षेत्रमा पहिरो नियन्त्रण गर्नका लागि नयाँ प्रविधिका साथ काम भएको जानकारी दिनुभयो । नारायणगढबाट १६ किलोमिटरसम्म ११ मिटर चौडा र त्यसपछि मुग्लिनसम्म ९ मिटर चौडा सडक बनाइएको छ । 
 
 

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया