माई भ्याली गोल्डकप : दाउफिन्स र हिमालयन शेर्पामा कसले उचाल्ला ट्रफी ?

 चैत ४, २०७५ सोमबार १७:५८:३० | सुजता सुनुवार
unn.prixa.net

इलाम – पाँचौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्डकप प्रतियोगिताको फाइनलका लागि शेर्पा र दाउफिन्स पहिलो पटक प्रतिस्पर्धा गर्दैछन् । 

यस संस्करणको उपाधि उचाल्नेमा दुवै टिमले आ–आफ्नो रणनीतिअनुसार राम्रो तयारी गरेको दाबी गरेका छन् । 

प्रतियोगितामा हिमालयन शेर्पा क्लब काठमाण्डौले झापाको मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई हराउँदै इलामको खेल मैदान ठूलो टुँडिखेलमा मंगलबार हुने फाइनल खेलको यात्रा तय गरेको हो । शेर्पाले काँकरभिट्टालाई आइतबारको अन्तिम सेमिफाइनलमा ३–० गोल अन्तरले पाखा लगाएको हो । 

यस्तै क्यामरुनको दाउफिन्स फुटबल क्लबले भने गएको शनिबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबविरुद्ध २–० गोल अन्तरको नतिजा निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो । दाउफिन्सले यो सिजनमा नै नेपालमा तीन उपाधि हात पारेको छ । दाउफिन्सका मेनेजर आशिस थापा मगरले इलामका दर्शकले अपेक्षा गरेको भन्दा राम्रो खेल खेल्ने बताउनुभयो ।

जारी सिजनका ८ प्रतियोगितामा सहभागिता जनाएको पाहुना टिम दाउफिन्सले बुढासुब्बा गोल्डकप, पोखरा कप र तिलोत्तमा गोल्डकपको उपाधि हात पारेको थियो । २१ औँ बुढासुब्बा गोल्डकपको सेमिफाइलनमा पुलिसलाई सडनडेथमा हराउँदै त्यस प्रतियोगिताको उपाधि समेत दाउफिन्सले नै जित्न सफल भएको थियो । पोखराको आहा रारा गोल्डकपको १७ औं संस्करणमा भने दाउफिन्सले पुलिसलाई तेस्रो पटक हराएको थियो 

शेर्पाले भने जारी प्रतियोगिताकै क्रममा साविक विजेता थ्रीस्टार क्लबलाई पराजित गर्दै फाइनलसम्मको यात्रा तय गरेको छ ।  शेर्पाका प्रशिक्षक विजेन्द्र पुडासैनीका अनुसार, अघिल्ला खेलभन्दा उत्कृष्ट खेल प्रर्दशन गर्ने तयारीमा टिम नै जुटिरहेको छ । 

दोश्रो विशाल मेमोरियल गोल्डकपमा विभागीय टिम त्रिभुवन आर्मीसँग सडनडेथमा पराजित बन्दै हिमालयन शेर्पा उपविजेता बनेको थियो । पोखरा कपमा अर्को विभागीय टिम एपिएफसँग शेर्पा पुनः  २–१ गोल अन्तरले पराजित हुन पुगेको थियो । 

दुवै टिमका टोली टिम मेनेजरले गोल्डकपको उपाधि जित्ने दाबी गरेका छन् । सोमबार इलामको खेलमैदान ठूलो टुँडिखेलमा भएको प्रि–म्याच कन्फ्रेन्समा उनीहरुले फाइनल खेल स्तरीय खेल्ने र दर्शकको मन जित्ने बताएका छन् । 

गएको फागुन २६ गतेबाट सुरु भएको माई भ्याली गोल्डकपमा ३ विदेशी टिमसहित १० टिमको सहभागिता रहेको थियो । 

प्रतियोगिताका विजेताले सात लाख र उपविजेताले चार लाख रुपैयाँसहित ट्रफी मेडल र पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ । त्यस्तै उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ पाउने क्लबले जानकारी दिएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया