कांग्रेसको अनुशासन समिति गठन

 चैत ५, २०७५ मंगलबार ६:२८:४ | रासस

काठमाण्डाै – नेपाली कांग्रेसले केन्द्रीय सदस्य भीष्मराज आङदम्बेको संयोजकत्वमा पार्टीको केन्द्रीय अनुशासन समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काङ्ग्रेसको विधानको धारा ३४(७) अनुसार अनुशासन समिति गठन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

पाँच सदस्य रहने अनुशासन समितिको सदस्यमा अहिले केन्द्रीय सदस्यद्वय देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर रहनुभएको छ । बाँकी दुई सदस्य वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नाम दिएपछि पूर्णता दिइने बताइएको छ । 

यसअघि गएकाे फागुन १४ गते बोलाइएको बैठक सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल पक्षबीच अनुशासन समिति गठनमा सहमति हुन नसक्दा बैठक बस्दै नबसी स्थगित गरिएको थियो । साेमबार पनि केन्द्रीय समिति बैठक बस्नुअघि दुवै पक्षबीच पदाधिकारीस्तरमा समिति गठन सम्बन्धमा सहमतिको प्रयास गरिएको थियो । अनुशासन समितिलाई काङ्ग्रेसमा महत्वका साथ लिइन्छ । 

सभापति देउवाको अध्यक्षतामा बसेको सोमबारको बैठकमा केन्द्रीय सदस्य बालकृष्ण खाँण, रमेश रिजाल, फरमुल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, भीष्मराज आङ्दम्बे, अजयकुमार चौरिसिया, शङ्कर भण्डारी, ईश्वरी न्यौपाने, मोहनबहादुर बस्नेत र वीरबहादुर बलायरले आ–आफ्नो धारणा राख्नुभएको थियो । केन्द्रीय कार्यसमितिको बैठक चैत ५ गते दिउँसो २ बजे पुनः बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया