छाउगोठ भत्किए, मनको डर भत्किएन

 चैत ५, २०७५ मंगलबार ८:५३:१ | मुना हमाल
unn.prixa.net

सुर्खेत – चार वर्ष अघि सुर्खेतको तत्कालीन ८ वटा गाविसहरु छाउपडीमुक्त घोषणा भए । गैरसरकारी तथा सरकारी प्रतिनिधिहरु र स्थानीयको सक्रियतामा छाउगोठ भत्काइए । तामझामसहित छाउपडी मुक्त भएको घोषणा गरियो ।   

तर वर्षौदेखि छाउगोठमा बस्दै आएका महिलाहरु केही समयका लागि घरमै बसे पनि फेरि उनीहरु छाउगोठमै फर्किएका छन् । सुर्खेतको पश्चिममा पर्ने तत्कालीन गाविसहरु लगाम, बेतान, गुठु, विद्यापुर, बिजौरा, बावियाचौर, घाटगाउँ र तातापानी छाउपडीमुक्त गाविस घोषणा भए पनि अहिले  देवीदेउता रिसाउने डरले रजस्वला भएका महिलाहरु फेरि छाउगोठमा नै बस्न थालेका हुन् ।  

‘छाउगोठ भत्काएर घर भित्रै पनि बस्यौँ । पछि बिरामी हुने, गाईवस्तु मर्ने भएपछि फेरि घर बाहिर बस्न थाल्यौँ’ चौकुने गाउँपालिका वडा नम्बर २ लगामकी  पदमा जैशीले भन्नुभयो,  ‘भित्रै बस्नु त भन्छन् । तर देउताको डरले हामी भित्र बस्न सकेनौँ ।’ 

कर्णाली प्रदेशको सुर्खेतसहित कालिकोट, जुम्ला, दैलेखलगायत सुदूपश्चिम प्रदेशमा छाउपडी प्रथाले जरा गाडेको छ । केही समयसम्म घरभित्रै बसे पनि देउता लाग्ने डरले चौकुने गाउँपालिकाकी समुन्द्रा विक पनि बाहिर नै बस्नु थाल्नुभयो । घरमा भएको छाउगोठ भत्काएपछि उहाँ छिमेकीले बनाएको गोठमा गएर बस्न थाल्नुभयो । ‘आफूले बनाएका छाउगोठ भत्कायौँ । अहिले अरुको गोठमा गएर बस्ने गरेको छु’ उहाँले भन्नुभयो, ‘देउता लाग्ने डरले हामी घरभित्र बस्न सकेनौँ ।’

महिनावारी हुँदा घरको आँगनसमेत टेक्न नपाउने महिलाहरु बिस्तारै घरमै बस्न थालेका थिए । गौरा धामी भन्नुहुन्छ ‘पहिले त हामी खेतमा बस्ने गर्थ्याैँ । अहिले गोठमा सम्म बस्ने गरेका छौँ ।’

नयाँ पुस्ताले छाउपडी प्रथा नमान्ने क्रम बढ्दै गएको भए पनि पुरानो पुस्ता भने सजिलैसँग घरभित्र बस्न हिचकिचाउने गरेका छन् । ‘छाउगोठ भत्काउँदा केही समयसम्म घरभित्रै बस्न पायौँ । अहिले बाहिर गोठमा नै सुत्छाैँ’ लगामकी नवीना बुढाले भन्नुभयो, ‘बुबाआमाले देउता लाग्छ भित्र सुत्नुहुन्न भन्नुहुन्छ । राति कोही आउने हुन् कि, सर्पले टोक्ने हो भन्ने डर लाग्छ ।’ 

नेपालको कानुनले पनि महिनावारी भएको समयमा छाउगोठमा राख्नु अपराध भनेको छ । मुलुकी (अपराध) संहिताको दफा १ सय ६८ को उपदफा ३ ले  पनि महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भन्ने उल्लेख गरिएको छ । 

यसरी राख्ने व्यतिmलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुबै  सजाय हुने उल्लेख गरिएको छ । तर कानुन भने कार्यान्वयन भएको पाइँदैन । महिनावारी भएको समयमा छाउगोठमा बस्दा महिला र बालिका विभिन्न हिंसामा पर्ने गरेका छन् । सुर्खेतमा अघिल्लो आर्थिक वर्षमा एक किशोरी सामूहिक बलात्कारको शिकारसमेत हुन पुगिन् । 

‘एक्सन वर्क्स नेपाल’ र ‘भेरी इन्भाइरोन्मेन्टल एक्सेलेन्स’ले सार्वजनिक गरेको अध्ययनमा ७७ प्रतिशत किशोरीहरु महिनावारी भएको समयमा छाउगोठमा बस्दै आइरहेको छन् । त्यस मध्ये ७१ प्रतिशत किशोरी तथा महिलाहरुले असुरक्षित महसुस गर्ने गर्छन् ।  

स्थानीय अगुवा धनश्याम बमले सुरक्षित हुनका लागि पहल गरेको बताउनुभयो । ‘म आफैँ धामी हुँ । छाउगोठ भत्काउनमा म पनि सक्रिय भए । छाउगोठ भत्काइयो तर अहिले महिलाहरु असुरक्षित भएर बस्न थाले’ उहाँले भन्नुभयो, ‘अहिले हामीले घरको एउटा कुनामा भए पनि सुरक्षित रुपमा बस्ने कुरामा जोड दिएका छौँ।’

अधिकारकर्मी तथा अधिवक्ता गिता कोइराला भत्किएका छाउगोठ बन्दै गएको भन्दै कानुन बनाएर मात्र परिवर्तन नहुने बताउनुहुन्छ ।  ‘छाउगोठ भत्काएका गाउँमा हामी पुग्यौं । फेरि छाउगोठ बनाएर बसेको पाइयो’ उहाँले भन्नुभयो, ‘यो प्राकृतिक पक्रिया हो भनेर जनचतेना जगाउन आवश्यक  छ र  स्थानीय निकाय नै जिम्मेवार हुनुपर्छ ।’ 

चौकुने गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले केही हदसम्म परिवर्तन भए पनि अझै केही महिलाहरु छाउगोठमा बस्ने गरेको बताउनुभयो । ‘छाउपडी चौकुने गाउँपालिकाको जटिल समस्या रहेको छ ।जनचेतानामूलक कार्यक्रम सोचे अनुरुप नभए पनि यो प्रथा न्यूनीकरण हुँदै गएको छ । यसका लागि धामीलाई नै हामीले अघि सारेका छौँ । धामीले महिनावारी हुँदा घर भित्रै बस्नेलाई सम्मान र पुरस्कार दिने नीति लिएका छन् ।’  

अन्तिम अपडेट: चैत २८, २०७५

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया