'लभ स्टेशन' नेपालसँगै अष्ट्रेलियामा पनि प्रदर्शन हुने

 चैत ५, २०७५ मंगलबार ९:५९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र 'लभ स्टेशन'को नेपाल प्रदर्शन अगावै विदेश प्रदर्शनको लागि बिक्री सुरु भएको छ । 

यो चलचित्रको ट्रेलर रिलिजपछि यसले पाएको चर्चासँगै विदेशमा चलचित्र प्रदर्शनका लागि खरिद कार्य सुरु भएको हो । नयाँ वर्षको अवसर पारेर आगामी २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र लभ स्टेशनलाई विदेशमा पनि प्रदर्शनको तयारी गरिएको छ । 

यसै क्रममा लभ स्टेशन चलचित्रलाई आधिकारिक रुपमा अष्ट्रेलियामा प्रदर्शनका लागि गोर्खा इन्टरटेनमेन्टले किनेको छ ।  लभ स्टेशनलाई अष्ट्रेलियाको लागि २७ लाख रुपैयाँमा गोर्खा इन्टरटेनमेन्टले खरिद गरेको यो चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराएका छन् । जापानलगायतका मुलुकबाट पनि चलचित्र प्रदर्शनका लागि कुराकानी भैरहेको उनले बताए । 

चलचित्र लभ स्टेशनलाई निर्देशक उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । यसमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानालगायतका कलाकारहरुको अभिनय छ । चलचित्रको कथा निर्देशक घिमिरे र सुवाससिंह बस्न्यातले संयुक्त रुपमा लेखेका हुन् ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । चलचित्रमा लोकेश बज्राचार्य र अर्जुन जिसीको सम्पादन, एलिस कार्कीको पार्श्व संगीत, शिशिर खातीको नृत्य निर्देशन, कुमार महर्जनको द्धन्द्ध निर्देशन, राजेन्द्र रावलको निर्माण व्यबस्थापन रहेको छ । 

– उज्यालो र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया