आन्तरिक पर्यटकले आत्मनिर्भर हुँदै सौराहा

 चैत ५, २०७५ मंगलबार १०:३६:१८ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – वन्यजन्तुमा आधारित चितवनको सौराहामा पछिल्लो समय आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ । कुनै समय विदेशी पर्यटकले भरिभराउ हुने सौराहा पछिल्लो समय स्वदेशी पर्यटकमा निर्भर बनेको छ । 

सौराहाको पर्यटन विशेषतः चितवन राष्ट्रिय निकुञ्ज, जंगली जनावर र थारु संस्कृतिमा आधारित छ । यहाँ हात्ती चढेर जङ्गल घुम्न, वन्यजन्तु हेर्न, राप्ती नदीमा डुङ्गा सयर गर्न, सूर्यास्त हेर्न र थारु संस्कृतिको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

विदेशी पर्यटकको आकर्षणमा चितवन राष्ट्रिय निकुञ्ज मात्र पर्ने गरेको छ । पर्यटन व्यवसायीले स्वदेशी पर्यटकहरुका लागि विभिन्न प्याकेजका कार्यक्रम प्राथमिकतामा राख्दै आएका छन् । वन्यजन्तु पर्यटनका लागि ख्याती कमाएको सौराहामा आन्तरिक पर्यटक बढ्दै गएको होटल व्यवसायीहरु बताउँछन् । सौराहामा १ सय १० सुविधायुक्त होटलहरु छन् । जसमा दैनिक दुई हजार ८०० पर्यटक राख्न सकिने क्षमता छ ।

नेपालीहरु बिदाको समयमा घुम्ने संस्कार बढेकाले त्यसको प्रभाव सौराहामा देखिएको रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरी बताउनुहुन्छ । बिदामा घुम्ने शैली बढ्दै गएकाले सार्वजनिक बिदाको समयमा सौराहा आन्तरिक पर्यटकले खचाखच हुने गरको उहाँले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज मात्रै देखाएर पर्यटकको बसाइ लम्ब्याउन नसकिने भएपछि विभिन्न कार्यक्रमसमेत आयोजना गर्दै आइरहेको बताउँदै उहाँले वार्षिक योजना अनुसार नै आन्तरिक पर्यटकलाई लक्षित गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाउनुभयो । सौराहामा नेपाली तथा अङ्ग्रेजी नयाँ वर्ष, प्रणय दिवसलगायतका अवसर पारेर कार्यक्रम आयोजना गरिन्छ । सौराहामा आयोजना हुने हात्ती महोत्सव, खाना महोत्सवलगायत विभिन्न कार्यक्रम आन्तरिक पर्यटक लक्षित  कार्यक्रम हुन् । 

भूकम्पपछि सुस्ताएको र नारायाणगढ मुग्लिन सडक निर्माणका क्रममा यतायात सेवा असहज हुँदा सुस्ताएको सौराहाको पर्यटनलाई अहिले आन्तरिक पर्यटकले चहलपहल बढाएको  क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताउनुभयो ।

दुर्लभ एक सिङ्गे गैंडाका कारण ख्याती पाएको निकुञ्जमा पछिल्लो समय चरा हेर्नसमेत पर्यटकहरु आउने गरेका छन् । निकुञ्ज छेउको मध्यवर्ती वनमा हात्ती सफारी हुने गरेका कारण पनि आन्तरिक पर्यटक बढ्दै गएका हुन् । अहिले सौराहामा आन्तरिक पर्यटकको संख्या बढेर ४० प्रतिशत पुगेको छ । सन् २०१७ सम्म ३० प्रतिशत रहेको अन्तरिक पर्यटकको आगमन दुई वर्षमा १० प्रतिशतले बढेको जानकारी दिँदै अध्यक्ष घिमिरेले सन् २०२० सम्म ५० प्रतिशत पु¥याउने लक्ष्य राखेकोे बताउनुभयो ।  

सौराहासँगै जोडिएको चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको संख्यामा विदेशी पर्यटक धेरै देखिए पनि निकुञ्ज बाहेक सौराहा अवलोकन गर्ने पर्यटकको संख्यामा स्वदेशी नै धेरै रहेका छन् । वन्यजन्तुमा आधारित पर्यटनमा सोचे अनुसारको विदेशी पर्यटक ल्याउने वातावरण बनाउन नसक्नु चुनौति भएको अध्यक्ष घिमिरेले बताउनुभयो । पर्यटनका लागि आवश्यक पूर्वाधार निर्माण तथा हवाई सञ्जालको व्यवस्थापन सहज गरी नेपालमा विदेशी पर्यटकको आगमनमा वृद्धि गर्नुपर्ने उहाँको धारणा छ ।

भारत, चीनसँगै सार्क राष्ट्रका केही पर्यटक मात्रै सौराहा आउने गरेका छन् । चितवन आउने विदेशी पर्यटकको रोजाइमा चितवन राष्ट्रिय निकुञ्ज पर्दछ । तर यहाँ आउने अधिकांश स्वदेशी पर्यटक निकुञ्ज पुग्दैनन् । स्वदेशी पर्यटकको रोजाइमा नदीमा डुङ्गा चढ्ने, सामुदायिक वनमा हात्ती र जीप सफारी पर्ने गरेको छ ।

निकुञ्ज प्रवेशका लागि छुट्टै शुल्क लाग्ने र हात्ती सफारी नभएकाले निकुञ्ज घुम्ने नेपालीमा कमी आएको बताउँदै पर्यटन व्यवसायी दीपक भट्टराइले पारिवारिक, शैक्षिक, सहकारीलगायतका संघसंस्थाको भ्रमण र तालिम गोष्ठीका क्रममा आउने पर्यटकले सौराहाको होटल व्यवसाय धानेको बताउनुहुन्छ ।
 
आर्थिक वर्ष २०७५÷७६ को पुस मसान्त सम्ममा ५९ हजार ७९ विदेशी, १० हजार ३३८ सार्क र १८ हजार ७३४ स्वदेशी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गरेका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया