भूकम्प प्रभावित ३२ जिल्लामा कति घर बने ? यस्तो छ पूर्ण विवरण

 चैत ५, २०७५ मंगलबार ११:५३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भूकम्प प्रभावित ३२ जिल्लामा झण्डै ८ लाख १२ हजार लाभग्राही छन् । पछिल्लो तथ्याङ्क अनुसार ३ लाख ८० हजारले अनुदानको तेस्रो किस्तासहित ३ लाख रुपैयाँ बुझेका छन् । यो तथ्याङक अनुसार तेस्रो किस्ता बुझेका प्रभावितका लागि मात्रै आवास अनुदानमा सरकारको १ खर्ब १४ अर्ब रुपैयाँ वितरण भैसकेको छ । भूकम्पबाट अति प्रभावित जिल्लामा अहिले पनि घर बनिरहेका छन् ।

भूकम्प अति प्रभावित १४ जिल्लामा घर पुनर्निर्माणको अवस्था 

भूकम्पको केन्द्रबिन्दु गोरखामा झण्डै ६५ हजार लाभग्राही छन् । तीमध्ये अहिलेसम्म ४६ हजारले तेस्रो किस्ता लिएका छन् । झण्डै ६८ हजार ७ सय लाभग्राही रहेको दोलखामा ४४ हजार ७ सयले तेस्रो किस्ता बुझेको तथ्याङ्क छ । दोलखामा पनि घर बनाएर अनुदानको दोस्रो र तेस्रो किस्ता लिने घरधनी थपिँदै गएका छन् । भूकम्प अति प्रभावित मध्येकै जिल्ला नुवाकोटमा झण्डै ७५ हजार लाभग्राहीमध्ये ४० हजार ३ सयले अनुदानको तेस्रो किस्ता बुझेका छन् । 

त्यस्तै सिन्धुपाल्चोकमा झण्डै ८७ हजार लाभग्राहीमध्ये ५६ हजार ८ सयभन्दा बढीले अनुदानको तेस्रो किस्ता लैसकेका छन् । धादिङमा ७७ हजार ८ सय लाभग्राहीमध्ये ४० हजार, रसुवामा १२ हजार ४ सय ९२ मध्ये ९ हजार ४ सयको हाराहारीमा तेस्रो किस्ता वितरण भैसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान वितरण तथा पूर्वाधार रसुवाका प्रमुख भरत कुमार थापाले बताउनुभयो ।

यस्तै मकवानपुरमा झण्डै ३४ हजार लाभग्राही रहेकोमा तेस्रो किस्ताको अनुदान रकम १३ हजार ४ सयले लिएका छन् । सिन्धुलीमा पनि ३७ हजारमध्ये १५ हजारभन्दा बढीले तेस्रो किस्ता लिएको पुनर्निर्माण प्राधिकरणको तथ्याङ्क छ । 

ओखलढुङगामा अनुदान लिनेको सूचीमा झण्डै २१ हजार भूकम्प पीडित छन् । अहिलेसम्म १५ हजारले तेस्रो किस्ता लिएको देखिन्छ । भूकम्प अति प्रभावितकै सूचीमा रहेको रामेछापमा ४८ हजार ५ सय मध्ये झण्डै ३२ हजारले अनुदानको तेस्रो किस्ता लगेका छन् । अर्को जिल्ला काभ्रेमा ७७ हजार ४ सय मध्ये २७ हजार ४ सयभन्दा बढीले तेस्रो किस्ता बुझेको तथ्याङमा उल्लेख छ । काठमाण्डौ, भक्तपुर र ललितपुरमा भने तेस्रो किस्ता लिनेको संख्या कम छ ।

काठमाण्डौमा ४६ हजार ९ सय लाभग्राही छन् । तीमध्ये ११ हजार ६७ जनाले तेस्रो किस्ताको रकम बुझेका छन् । त्यस्तै भक्तपुरमा २८ हजार ३ सयमध्ये ६ हजार ६ सय ८७ जना र ललितपुरमा २८ हजार ३ सय ५२ मध्ये ७ हजार १ सय ५५ जनाले तेस्रो किस्ताको रकम बुझेको प्राधिकरणको चैत १ गतेसम्मको तथ्याङ्क छ ।

कम प्रभावित १८ जिल्लाको अवस्था

भूकम्प कम प्रभावित १८ जिल्लामा पनि तेस्रो किस्ता कमै वितरण भएको छ । लमजुङमा जम्मा १३ हजार ९ सय ५९ लाभग्राहीमध्ये तेस्रो किस्ताको रकम लैजाने १३ सय ६४ जना छन् । त्यस्तै तनहुँमा १३ हजार ८ सय २१ मध्ये २ हजार ८ सय ४१, सोलुखुम्बुमा झण्डै १२ हजार मध्ये १ हजार ८ सय, खोटाङमा ८ हजार ५ सय मध्ये ३ हजार ७ सय, चितवन ७ हजार ३ सय ३५ मध्ये १ हजार ८ सय ६३, गुल्मीमा ४ हजार १ सय ४४ मध्ये जम्मा एक हजारले मात्रै तेस्रो किस्ताको रकम बुझेका छन् ।

त्यस्तै भूकम्प कम प्रभावित जिल्ला स्याङ्जामा ८ हजार ७ सय मध्ये ८ जनाले मात्रै अनुदानको तेस्रो किस्ता बुझेको प्राधिकरणको तथ्याङक छ । कास्कीमा ६ हजार मध्ये १ सय ७४, पाल्पामा ४ हजार ६ सयमध्ये ९ सय १७, भोजपुरमा ५ हजार ७ सयमध्ये ३ सय ५५, पर्वतमा ५ हजार २ सयमध्ये ९७, धनकुटामा २ हजार ८ सय मध्ये ६ सय, बाग्लुङमा २ हजार ३ सय ५७ मध्ये ४ सय ९९, अर्घाखाँचीमा १ हजार ३७ मध्ये १ सय ५३ जनाले तेस्रो किस्ताको रकम लैसकेका छन् । अर्को जिल्ला संखुवासभामा १ हजार ९ सय ७५ लाभग्राही छन् । तीमध्ये १ सय ६२ र म्यादीमा ८ सय ६८ मध्ये १ सय ९८ जनाले तेस्रो किस्ताको रकम बुझेको तथ्याङक छ ।

पश्चिम नवलपरासी र पूर्वी नवलपरासी गरी ८ सय ७२ लाभग्राही छन् । उनीहरु मध्ये ३ सय ८७ ले तेस्रो किस्ता लगेका छन् । भूकम्प अति प्रभावित १४ जिल्ला जस्तै गरी कम प्रभावित जिल्लामा घर पुनर्निर्माण प्राथमिकतामा पर्न नसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान वितरण तथा पूर्वाधार खोटाङका प्रमुख सागर आचार्य बताउनुहुन्छ ।

प्रगति ७७ प्रतिशत : प्राधिकरण 

लाभग्राहीले अनुदान रकमको पहिलो किस्ता जुन ५० हजार रुपैयाँ हो । यो रकम २०७६ असार मसान्तसम्म लिइसक्नुपर्नेछ । सकेसम्म यसै आर्थिक वर्षभित्र निजीआवास पुनर्निर्माणको काम सक्ने सरकारको लक्ष्य छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ सुशील ज्ञवालीले अहिलेसम्म बनिसकेका र बन्दै गरेका गरी ७७ प्रतिशत प्रगति भएको दावी गर्नुभयो ।
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया