युथ एथलेटिक्समा स्वर्णविजेता अजितलाई बधाई तथा पुरस्कार दिनेहरुको ओइरो

 चैत ६, २०७५ बुधबार १४:४०:५४ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी –  सप्तरीको राजविराजका अजित कुमार यादवले जिल्लाको नामलाई चिनाउने कार्य गरेको भन्दै बधाई तथा पुरस्कार दिनेको ओइरो लाग्न थालेको छ । 

राजविराज नगरपालिका–१२, विषहरियाका यादव मात्र होइनन् उनको परिवारको पनि खुशी यतिबेला थामिनसक्नु छ । 

हङकङ्गमा भएको तेस्रो एसियाली एथलेटिक्समा ऐतिहासिक स्वर्ण पदक हात पार्न सफल भएपछि उनलाई पुरस्कार दिने घोषणा र बधाई दिनेको ओइरो लाग्न थालेको हो । 

प्रदेश २ सरकारले यादवलाई ५ लाख रुपैयाँ पुरस्कार स्वरुप दिने घोषणा गरेको भोलिपल्टै राजविराज नगरपालिकाको बैठकले यादवलाई सम्मानस्वरुप एक लाख रुपैयाँ दिने निर्णय गरेको । त्यस्तै प्रमुख शम्भु प्रसाद यादवले एक महिनाको तलब दिने घोषणा गरेका छन् । 

त्यस्तै तिलाठी कोइलाडी गाउँपालिकाको बैठकले स्वर्ण पदक बिजेता यादवलाई ५१ हजार रुँपैया पुरस्कार दिने निर्णय गर्नुका साथै केही दिनमै एक भब्य कार्यक्रमको आयोजना गरि यादवलाई सम्मान गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सतिश सिंहले जानकारी दिनुभयो । 

त्यसै बैठकले प्रदेश २ स्तरीय भलिबल प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने ६ नं. गण शसस्त्र प्रहरी बल सप्तरीका खेलाडीहरुलाई जनही ११÷११ हजार नगद पुरस्कार दिने निर्णय गरेको छ । 

राजविराजमा रहेको उनको निवासमा बिहानदेखि नै बधाइ दिन आउने शुभेच्छुकहरुको भिंड लागेको आमा सरिता यादवले बताउनुभयो । 

जिल्लाका सर्वसाधारण तथा खेलप्रेमीबीच पनि अजितको प्रदर्शनले खुशियाली छाएको छ । 

यसैबीच अजित यादवलाई प्रदेश सरकारले पाँच लाख पुरस्कार दिने घोषणा गरेको छ । 

हङकङमा आइतबार भएको तेस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपको पुरुष तर्फ ३००० तीन हजार मिटर दौडमा आठ मिनेट ३०.३२ सेकेण्डमा पूरा गर्दै यादवले नेपाललाई युथ एशियाली खेलकुदमा पहिलोपटक स्वर्ण पदक दिलाउन सफल भएका थिए ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया