ओमानमा ज्यान गुमाएका ७ जना नेपालीका परिवारले पाए झण्डै १० करोड क्षतिपूर्ति

 चैत ६, २०७५ बुधबार १६:१५:१३ | उमाकान्त पाण्डे


यूएई – वैदेशिक रोजगारीका क्रममा ओमानमा ज्यान गुमाएका ७ जना नेपालीका परिवारले क्षतिपूर्ति बापत झण्डै १० करोड रुपैयाँ पाएका छन् । 

सन् २०१८ मा ज्यान गुमाएका ११ जनामध्ये ७ जनाको परिवारले ९ करोड ८१ लाख ५ हजार ९ सय ९३ रुपैयाँ क्षतिपूर्ति पाएका हुन् । बाँकी चार जनाको परिवारको क्षतिपूर्तिका लागि कानुनी प्रक्रिया गरिरहेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।

इलामकी फूलमाया तामाङ, पाल्पाका बद्रीप्रसाद ढुंगाना, सुनसरीका शुक्रराज मगर, धनकुटाकी गंगाकुमारी राई, रुपन्देहीका बिमल गुरुङ, मकवानपुरका इन्द्रबहादुर स्यातान, तनुहँका बिष्णुबाबु तिवारीका परिवारले क्षतिपूर्ति पाएका हुन् । 

इलामकी फूलमायाको सवारी दुर्घटनामा मृत्यु भएको थियो । उहाँको परिवारले ब्लडमनी वापत ६५ सय ओमानी रियाल अर्थात झन्डै साढे १८ लाख रुपैयाँ पाएको हो । त्यस्तै पाल्पाका बद्रीप्रसाद ढुंगानाको परिवारले १४ सय ९५ ओमानी रियाल पाएको हो । 

त्यस्तै कार्यस्थल दुर्घटनामा ज्यान गुमाएका सुनसरीका शुक्रराज मगरको परिवारले सामाजिक सुरक्षा कोषबाट २ हजार ७ र कार्यस्थल दुर्घटनाका कारण बीमा बापत ५ हजार ओमानी रियाल पाएको छ ।   

धनकुटाकी गंगाकुमारी राईको परिवारले कार्यस्थल दुर्घटनाको क्षतिपूर्ति बापत ५ हजार र मकवानपुरका इन्द्रबहादुर स्यातानको परिवारले तलब बापत २ हजार ८४ ओमानी रियाल पाएको दूतावासले जनाएको छ । 

रुपन्देहीका बिमल गुरुङको परिवारले बीमाबाट ५ हजार, तनुहँका डाक्टर बिष्णुबाबु तिवारीको परिवारले उपदान बापत ७ हजार १ सय ७ ओमानी रियल पाउनुभएको हो । ओमानमा पशु चिकित्सकको रुपमा कार्यरत डाक्टर तिवारीको भरुभूमीमा रहेको जनावारलाई पानी लिएर गएको ट्याङकी पल्टिँदा सन् २०१८ को सेप्टेम्बरमा ज्यान गएको हो । 

पीडित परिवारले पाउनुपर्ने रकम नेपालस्थित परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयले प्रमुख जिल्ला अधिकारीको रोहबरमा सम्बन्धित व्याक्तिको परिवारलाई हस्तान्तरण गर्नेछ । 

अन्तिम अपडेट: चैत २९, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया