कमजोर हुन्छन् भन्दै श्रीमानलाई बन्ध्याकरण गर्न दिँदैनन् श्रीमती !

 चैत ७, २०७५ बिहिबार १२:२८:११ | विमल बिष्ट
unn.prixa.net

नेपाल परिवार नियोजन डोटी शाखाले आयोजना गरेको शिविरमा स्थायी मिनिल्याप गर्न आएका महिलाहरु ।

डोटी – बडीकेदार गाउँपालिका अत्तरकाँडाकी कल्पना (नाम परिवर्तन) आफ्ना श्रीमानसँगै बडीकेदार गाउँपालिका–२ खड्यौली पुग्नुभयो । उहाँ स्थायी बन्ध्याकरणका लागि त्यहाँ पुग्नु भएको थियो । 

उहाँका श्रीमानले आफूले स्थायी बन्ध्याकरण गर्ने जिद्धी गर्दै हुनुहुन्थ्यो तर कल्पनाका अगाडि उहाँको जिद्धीले काम गरेन । कल्पनालाई स्वास्थ्यकर्मीहरुले पनि सम्झाउन खोजे तर उहाँले कसैले भनेको न मान्नुभयो न त सुन्नु नै भयो  । अन्ततः उहाँले श्रीमानको बन्ध्याकरणको साटो आफ्नै मिनिल्याप गराउनुभयो ।

श्रीमानको स्थायी बन्ध्याकरण गरे श्रीमान कमजोर हुन्छन् भन्ने अन्धविश्वासका कारण यहाँका महिलाहरु आफना श्रीमानको बन्ध्याकरण गराउनुको साटो आफनो गर्ने गरेको जोरायल गाउँपालिका वडा नम्बर ३ का स्थानीय प्रकाश साउदले बताउनुभयो ।

कल्पना त एक पात्र मात्र हुन् । यहाँका ग्रामीण क्षेत्रका अधिकांश महिलाहरुले आफ्ना श्रीमानलाई स्थायी बन्ध्याकरण गर्न नदिने गरेको पाइएको छ । त्यस्तै जिल्लाकै पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा पनि महिलाहरुले आफना श्रीमानलाई स्थायी वन्ध्याकरण गर्न नदिई बरु आफनै मिनिल्याप गर्ने गरेको डोटी जिल्ला अस्पतालका डाक्टर गिरिश अवस्थीले वताउनुभयो  । ‘हामीले सञ्चालन गरेका कतिपय भ्याक्सेटोमी क्याम्पमा श्रीमतीले नै श्रीमानको बन्ध्याकरण गर्न नदिने र आफनो गरराउने गरेका छन्’, उहाँले भन्नुभयो, ‘किन महिलाले यसो गरेका होलान् म त अचम्मित छु ।’

नेपाल सरकारको सहयोग र जिल्ला स्वास्थ्य कार्यालयका साथै स्थानीय स्वास्थ्य संस्थाहरुको समन्वयमा नेपाल परिवार नियोजन संघ डोटी शाखाले जिल्लाका १६ स्थानमा सञ्चालन गरेको परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरमा बन्ध्याकरण गराउने २१६ मध्ये १६७ महिला रहेका छन् । यो संख्या सेवा लिने कुल संख्याको ७७ प्रतिशत हुन आउँछ ।

प्रत्येक स्थानीय तहमा दुई दिन गरी १८ दिनसम्म सञ्चालन भएको त्यस शिविरमा सवैभन्दा बढी आदर्श गाउँपालिकामा ५१ महिलाले स्थायी बन्ध्याकरण गराएका छन् । त्यस गाउँपालिकामा जम्मा ६० जनाले मात्रै त्यो सेवा लिएका थिए । त्यस्तै सायल गाउँपालिकामा २२ मध्ये १९ महिला, दिपायल सिलगढी नगरपालिकामा ३० मध्ये २२ महिला, केआईसिंह गाउँपालिकामा ११ मध्ये ९ महिला र शिखर नगरपालिकामा १० मध्ये ६ महिलाले स्थायी बन्ध्याकरण गराएको नेपाल परिवार नियोजन डोटी शाखाका प्रमुख चेतराज फुलाराले बताउनुभयो । 

स्थायी बन्ध्याकरण सुविधा लिनेहरुमा पूर्वीचौकी गाउँपालिकामा २६ मध्ये २५ महिला, जोरायल गाउँपालिकामा १७ मध्ये १२ महिला र बडीकेदार गाउँपालिकामा २५ मध्ये १७ महिला रहेका छन् । बोगटान गाउँपालिकामा भने पुरुषको संख्या बढी देखिएको छ । यस गाउँपालिकामा बन्ध्याकरण सेवा लिने १५ मध्ये नौ पुरुष रहेका छन् । पुरुषहरुले बन्ध्याकरण गरे शारीरिक रुपमा कमजोर हुने भन्दै महिलाहरुले पुरुषहरुले बन्ध्याकरण गरे यौन क्षमतामा पनि ह्रास आउने भ्रम महिलाहरुमा परेको र यसले गर्दा उनीहरुले श्रीमानलाई बन्ध्याकरण गर्नबाट रोक्ने गरेको आफूले बुझेको नेपाल परिवार नियोजन संघ डोटी शाखा प्रवन्धक चेतराज फुलाराले बताउनुभयो ।

श्रीमतीले मात्रै नभएर अन्य आफन्त महिलाहरुले पनि पुरुषलाई बन्ध्याकरण गर्नबाट रोक लगाउने गरेको पाइएको फुलाराको भनाइ छ । पुरुषले बन्ध्याकरण गर्दा कुनै पनि शारीरिक रुपमा कमजोरी नहुने जिल्ला अस्पताल डोटीका डाक्टर गिरिश अवस्थीको दाबी छ ।  उहाँ भन्नुहुन्छ, ‘बन्ध्याकरण गरेकालाई सामान्य ढाड दुख्ने समस्या हुन सक्ने तर अन्य कुनै समस्या हुँदैन ।’ डोटीमा महिलाहरु श्रीमानमाथि बढी निर्भर भएका कारण उहाँहरुले श्रीमानलाई केही भई पो हाल्छ की भनेर बन्ध्याकरण गर्न नदिने गरेको डाक्टर अवस्थीको अनुमान रहेको छ । बडीकेदारमा सञ्चालन भएको त्यस शिविरमा १९ वर्षदेखि ५० वर्षसम्मका पुरुषले सेवा लिएको बताइएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया