क्षतिपूर्तिमा कुरा नमिल्दा एक्स्काभेटर दुर्घटनामा ज्यान गुमाएका चालकको शव उठेन

 चैत ७, २०७५ बिहिबार १८:३१:५८ | शिव ढुंगाना

ओखलढुंगा – बुधबार मानेभञ्ज्याङ गाउँपालिकामा भएको एक्स्काभेटर दुर्घटनामा ज्यान गुमाएका चालकका परिवारलाई क्षतिपूर्ति दिने विषयमा सहमति नहुँदा आफन्त र स्थानीयले शव उठाउन मानेका छैनन् ।

मृतकका परिवारले शव उठाउन नमान्दा शव पोस्टमर्टम तथा दाहसंस्कारसमेत हुन सकेको छैन ।  

सोलु करिडोरको विद्युत प्रसारण आयोजनाको पोल गाड््ने स्थल निर्माणका क्रममा एक्स्काभेटर दुर्घटना हुँदा चालक सुनकोशी गाउँपालिका ४ का १८ वर्षीय जीवन श्रेष्ठको ज्यान गएको थियो । 

दुर्घटनापछि आफन्त र स्थानीय क्षतिपूर्ति नपाएसम्म शव उठाउन मानेका थिएनन् । बिहीबार साँझसम्म स्थानीय, पीडित परिवार र सरोकारवालाबीच जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा छलफल भइरहेको स्थानीय नबराज खड्काले बताउनुभयो । खड्काका अनुसार क्षतिपूर्ति कसरी दिलाउने भन्ने विषयमा छलफल भइरहेको छ । क्षतिपूर्तिको सहमति भएपछि मात्रै शव पोस्टमर्टम गरिने खड्काले जानकारी दिनुभयो । 

मंगलबार साँझ करिडोरको टावर (पोल) निर्माण स्थल खन्ने क्रममा ना १ क ७७९४ नम्बरको एक्स्काभेटर दुर्घटनामा परेको थियो । दुर्घटनासँगै हराइरहेका चालकको शव बुधबार बिहान फेला परेको थियो । आयोजनाका प्रतिनिधि र सरोबारवाला राखेर सहमति गरिने प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २३, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया