मैत्रीपूर्ण खेलमा कुवेतसँग बराबरीमा रोकियो नेपाल

 चैत ८, २०७५ शुक्रबार ७:१३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

कुवेतविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टिमलाई गोलरहित बराबरीमा राेकेको छ ।

कुवेतमा अलसबाब स्टेडियममा भएको खेलमा नेपाली गोल किपर किरन चेम्जोङले उत्कृष्ट प्रदर्शन गरे पछि कुवेत गोल गर्नबाट चुकेको हो । कुवेतले नेपाली पोस्टमा २ दर्जनबढी प्रहार गरे पनि सबै प्रहार किरन र डिफेन्सले किलियर गरिदिएको थियो ।

६५ औं मिनेटमा नेपाली खेलाडीले डी बक्समा फल गरेपछि पाएको पेनाल्टी कुवेती खेलाडीले पोस्ट माथि प्रहार गरेका थिए । आजको खेलमा नेपाली किपर किरन एक्लै हावी देखिएका थिए । खेलको अन्त्यतिर नेपाली खेलाडीले दुई वटा राम्रो मौका पाउँदा पनि गोल गर्न असफल भए । डिफेन्सिभ खेलेको नेपालले काउन्टर एट्याकमा जोड दिएको थियो ।

कुवेतविरुद्ध नेपालका पाँच खेलाडीले राष्ट्रिय टोलीमा डेब्यू गरेका छन् । मुख्य प्रशिक्षक योहान कालिनले पाँच युवा खेलाडीलाई मौका दिएका थिए । अजितसंगै बिमल राना, सन्तोष तामाङ, सुरज बिश्वकर्मा र रबी पासवानले नेपाली टोलीमा डेब्यू गरेका हुन् ।

बराबरीपछि नेपाली टिमका प्रशिक्षक योहान कलिनले टिमले राम्रो प्रदर्शन गरेको प्रतिक्रिया दिए । ‘कुवेतले दबाब दिए पनि हामीले सक्दो राम्रो खेल्यौं,’ प्रशिक्षक कलिनले भने ।

कुवेतका प्रशिक्षक रोमियो जोजाकले पनि नेपाली टिमको प्रदर्शनको तारिफ गरे । उनले नेपाली डिफेन्सले उत्कृष्ट खेलेको बताए । ‘हामीले दबाब दिए पनि गोल निकाल्न सकेनौं, पाँचवटा गोल हुने मौका नेपाली टिमले विफल बनायो,’ प्रशिक्षकले भने ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया