युरोकप छनोट : बेल्जियम, क्रोएसिया र नेदरल्याण्ड्सको विजयी सुरुवात

 चैत ८, २०७५ शुक्रबार ७:३२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

सन् २०२० मा हुने युरोकप फुटबलका लागि छनोट चरणका खेलहरु सुरु भएका छन् । समूह सी बाट नेदरल्याण्ड्स र समूह आईबाट बेल्जियमले सुखद सुरुवात गरेका छन् । 

बिहीबार राति भएका खेलमा बेल्जियमले रुसलाई ३–१ गोलले हराउँदा नेदरल्याण्ड्सले बेलारुसको चुनौति ४–० ले समाप्त पार्‍यो । 

बेल्जियमको जितमा इडेन हाजार्डले २ गोल गरे । खेल सुरु भएको १४औं मिनेटमै योरी टेलिम्यान्सले बेल्जियमलाई अग्रता दिलाएका थिए । उनको यो पहिलो अन्तर्राष्टिय गोल हो ।

तर, त्यसको दुई मिनेटपछि नै बेल्जियम तथा रियल मड्रिडका गोलरक्षक थियावट कोर्टवाको गल्तीमा ड्यानियर चेरिसेभले रुसका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफको अन्त्यतिर हाजार्डले गोल गरेपछि बेल्जियमले पुनः अग्रता बनायो । उनले पेनाल्टी अवसरलाई सदुपयोग गरेका थिए । हाजार्डको यो २८ औं अन्तर्राष्ट्रिय गोल हो । 

खेलको अन्त्यतिर गोल गरी हाजार्डले अन्तर्राष्ट्रिय गोलसंख्या २९ बनाए । उनले ८८औं मिनेटमा बात्सुयीको पास सदुपयोग गरेका थिए ।

त्यसको एक मिनेटपछि नै रुसका अलेक्जान्दर गोलोभिन दोहोरो पहेलो कार्ड खाँदै मैदान बाहिरिएपछि रुसले १० खेलाडीमा खेल टुंग्याएको थियो ।

नेदरल्याण्ड्सले बेलारुसलाई ४–० गोलले हराउँदा मेम्फिस डिपेले सानदार प्रदर्शन गरे । उनले २ गोल गरे भने २ गोलका लागि बल उपलब्ध गराए । उनले खेलको पहिलो मिनेट गोल गरी सुरुआती अग्रता दिलाएका थिए भने ५५ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।

२१ औं मिनेटमा जर्जिनो विन्जलदमले गोल गर्दा पनि डिपेले नै पास उपलब्ध गराएका थिए । ८६औं मिनेटमा भिर्गिल भान डाइकले गोल गर्दा पनि उनैले पास दिएका थिए । 

बिहीबार राति भएका अन्य खेलमा समूह ई बाट विश्वकप उपविजेता क्रोएसियाले अजरबैजानलाई २–१ गोलले हराउँदा बोर्नो बेरिसिच र आन्द्रेज कार्मारिचले गोल गरे । यही समूहमा स्लोभाकियाले हंगेरीलाई २–० गोलले पराजित गर्‍याे । 

समूह जीबाट मासेडोनियाले लात्भियालाई २–१ गोलले हराउँदा इजरायल र स्लोभेनियाले १–१ गोलको बराबरी खेले । अष्ट्रिया भने पोल्याण्डसँग १–० गोलले पराजित भयो ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया