महिला साफ च्याम्पियनसिप : विराटनगरको मैदानबाट इतिहास रच्ने दाउमा नेपाल

 चैत ८, २०७५ शुक्रबार ८:२४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – विराटनगरमा भैरहेको महिला साफ च्याम्पियनसिपको उपाधिका लागि शुक्रबार नेपाल र भारत खेल्दैछन् । घरैमा भएको प्रतियोगिता भएकोले मात्र होइन पछिल्लो समयको उच्च लयका कारण पनि नेपाल महिला फुटबलको दक्षिण एसियाको च्याम्पियन बन्ने मौका नजिकै छ । 

साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले पुरानै प्रतिद्वन्द्वी पाएको छ । यो नौलो कुरा होइन, दक्षिण एसियाली महिला फुटबलमा भारत र नेपाल शीर्ष दुई टाेली हुन् । तर, साफ च्याम्पियनसिपमा नेपालमाथि भारतको दबदबा कायम छ ।

प्रतियोगिताको चार संस्करण सकिँदा भारत नै नेपालको सफलताको बाटोमा तगारो बन्दै आएको छ ।

यसपटक मौका नचुकाउने प्रतिबद्धता नेपाली खेलाडीहरुले लिएका छन् ।  खेलाडीहरु अनिता बस्नेत र मन्जलीकुमारी योन्जनको ‘यो हाम्रो लागि अवसर हो, यसपाली मौका खेर जान दिदैनौँ ।’

नेपालले साफ च्याम्पियनसिपकै फाइनल खेल्न लागेको यो चौथो पटक हो । यसअघिका तीनवटै फाइनलमा नेपाल भारतसँगै पराजित हुनुपरेको छ । तर, प्रतियोगितामा नेपाली टोलीको लोभलाग्दो लय, भर्खरै भारतलाई हराएको जोश र घरेलु भूमि र दर्शकको साथ यसपटक भारतलाई हराउने आधारहरु भएको नेपाली टोलीकी कप्तान निरु थापाको भनाई छ ।

भारतमा भएको हिरो वुमन गोल्डकपमा भारतलाई हराउँदै च्याम्पियन बनेकाले नेपाली खेलाडीमा भारतलाई पनि हराउन सकिन्छ भन्ने मनोविज्ञान बनेको छ । नेपाली टोलीका प्रशिक्षक हरी खड्काले भारत भन्यो कि डराउनुपर्ने यसअघिको अवस्था अब नरहनु पनि नेपाली टोलीका लागि ठूलो हतियार हुने बताए । उनले भने, ‘आजको दिन नेपालको लागि विशेष दिन हो, हामी इतिहास रच्न सफल हुनेछौँ ।’ 

अहिलेसम्मका चारवटै उपाधि जितेको भारतीय टोली यसपटक पनि उपाधि उतै लैजाने ध्याउन्नमा छ । तर नेपाली टोलीलाई भारतले पनि कम भने आँकेको छैन । भारतीय टोलीकी कप्तान आशालातादेवी लोईन्टोवाङले नेपाली टोली दरिलो भए पनि  यस अघि ४ पटक विजेता भएकोले यो पटक पनि जितको लागि प्रयास गर्ने दावी गरिन् ।

तर, खेलाडी र प्रशिक्षकले जे–जे दावी गरे पनि त्यसको पुष्टि मैदानबाट गर्नुपर्ने छ । नेपाल र भारतबीचको फाइनल खेल शुक्रबार दिउँसो ३ बजे शहीद रंगशाला विराटनगरमा हुँदैछ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया