कोरियन भाषा परीक्षाको आवेदन भर्न लाइनमा बस्न नपर्ने, बेलुका ६ बजेसम्म झण्डै ५४ हजारले भरे आवेदन

 चैत ८, २०७५ शुक्रबार ८:३६:१८ | उज्यालो सहकर्मी

काठमाण्डौ – यो वर्ष कोरियन भाषा परीक्षाको आवेदन फारम अनलाइनमार्फत भर्न सकिने भएकाले लाइनमा बस्नु नपर्ने भएको छ । ग्लोबल आईएमई बैंकको अनलाइन तथा आईएमई–पे र ई–सेवामार्फत रकम भुक्तानी गर्न सकिने भएकाले लाइनमा नबस्न ईपीएस शाखाले अनुरोध गरेको छ । शुक्रबार  बेलुका ६ बजेसम्म झण्डै ५४ हजारले फारम भरेको शाखाका सूचना अधिकारी शोभाकर भण्डारीेले जानकारी दिनुभयो । 

ईपीएस शाखाका प्रमुख कृष्णप्रसाद खनालले आवेदन भर्नको लागि रातिदेखि लाइनमा नबस्न र नहतारिन आग्रह गर्नुभयो । ‘घरमै बसीबसी अनलाइनमार्फत रकम भुक्तानी गर्न र आवेदन भर्न सकिन्छ, त्यसैले लाइनमा बस्न जरुरी छैन’ उहाँले उज्यालोसँग भन्नुभयो, ‘अघिल्ला वर्षहरुको तुलनामा व्यवस्थित गरेका छौं ।’ तर ग्लोबल आईएमई बैंकको कीर्तिपुरलगायत शाखामा भने रातीदेखि नै युवाहरु लाइनमा बसेका छन् । 

‘लाइनमा बसेर भर्दा पनि हुन्छ, तर रातिदेखि नै गएर उभिनु पर्दैन, आरामले भर्न सकिन्छ’ खनालले भन्नुभयो ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान चाहने कामदार छनोट गर्न कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि खुलेको हो । ग्लोबल बैंकमा रहेको एकाउण्टमा पैसा जम्मा गरेपछि दिइने नम्बरका आधारमा  www.eoers.epsnepal.gov.np मा लगइन गरेर अनलाइनबाटै फारम भर्न सकिन्छ । 

यसरी भर्न सकिन्छ कोरियाली भाषा परीक्षाको आवेदन (भिडियोसहित)
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया