काठमाण्डौको सडकमा अर्काे हप्तादेखि मात्र ब्रुमर सञ्चालनमा आउने

 चैत ८, २०७५ शुक्रबार ९:३०:० | उज्यालो सहकर्मी

काठमाण्डौ – काठमाण्डौ महानगरपालिका र सडक विभागको सहकार्यमा धुलो संकलन गर्ने ब्रुमर (यान्त्रिक कुचो) अर्काे हप्तादेखि सञ्चालनमा आउने भएको छ ।

बिहीबारदेखि सञ्चालनमा ल्याउने भनिए पनि केही तयारी बाँकी भएकाले अर्को हप्तादेखि सञ्चालनमा ल्याउने तयारी भएको महानगरपालिकाले जनाएको छ । गएको सोमबार इटालीबाट ५ वटा ब्रुमर काठमाण्डौ भित्र्याइएको थियो । 

‘ब्रुमर सञ्चालनका लागि प्रतिवेदनको काम भइरहेको छ । सम्भवतः आगामी सोमबारसम्म यसले पूर्णता पाउनेछ र त्यसपछि औपचारिक रुटमा ब्रुमरले काठमाण्डौको सडकको धुलो संकलन गर्नेछ,’ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले उज्यालो अनलाइनसँग भन्नुभयो ।   

महानगरपालिकाले मगाएको ५ वटा ब्रुमरमध्ये चारवटाको १६ टन क्षमता छ भने बाँकी एउटाको ६ टन क्षमता रहेको छ । ती ब्रुमरहरुले दिनमा १० किलोमिटरसम्मको धुलो संकलन गर्ने काठमाण्डौ महानगरपालिकाले जनाएको छ । यसअघि पुराना २ ब्रुमर बिग्रिएर थन्कने अवस्थामा पुगेपछि महानगरले १० करोड ८० लाख रुपैयाँको खर्चमा इटाली कम्पनीको ५ वटा ब्रुमर भित्र्याएको हो । 

ब्रुमर सञ्चालनमा आएपछि धुलोमुक्त महानगरको सपना पूरा हुने महानगरपालिकाले दावी गरेको छ । ब्रुमरको प्रभावकारिता हेरेर आउँदा दिनमा यसमा थप गर्न सकिने महानगरले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया