भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त

 चैत ८, २०७५ शुक्रबार ११:५१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी – अपहरणमा परेको एक व्यक्तिलाई महोत्तरी प्रहरीले १७ दिनपछि सकुशल उद्धार गर्न सफल भएका छन् । गएको फागुन १९ गते अपहरणमा परेको गौशाला नगरपालिका ८ का २९ वर्षीय सुरेश साहलाई महोत्तरी प्रहरीले भारतको वेतिया भन्ने स्थानबाट अपहरणमुक्त गर्न सफल भएका हुन् । 

फिरौतीको लागि अपहरणकारीले प्रयोग गरिएको फोनको लोकेशनको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले खोजी गर्दा साहलाई सकुशल उद्धार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

शुक्रबार बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले दिनुभएको जानकारी अनुसार भारतीय प्रहरीको सहयोगमा अनुसन्धान गर्ने क्रममा भारतको वेतिया जिल्लाको सौरहा चौकमा फिरौतीको रकम लिन आएका वारा जिल्ला कलैया उपमहानगरपालिका १२ का ५२ वर्षीय मुन्ना भनिने सुरज चौधरी र काशी साह कानुलाई नियन्त्रणमा लिई सुरेश साहलाई प्रहरीले सकुशल उद्धार गर्न सफल भएको हो । 

प्रहरीले यही क्रममा सुरजको साथबाट १ राउण्ड गोली लोड गरिएको १ थान कटुवा पेस्तोल सहित नियन्त्रणमा लिएको हो । त्यस्तै उनकै साथमा रहेको काशी साहको साथबाट यही पेस्तोलमा प्रयोग हुने ४ थान गोलीसहित पक्राउ गर्न सफल भएका हुन् ।

पक्राउ परेको सुरज र काशीको बयानमा प्रहरीले अनुसन्धान गर्ने क्रममा यही स्थानबाट १.५ किलोमिटर दुरीमा रहेको मैन्मा जंगलको नहरबाट सुरेश साहलाई बन्धक बनाएको अवस्थाबाट उद्धार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

पक्राउ परेको सुरज र काशीलाई थप अनुसन्धान र कारवाहीको लागि भारतीय प्रहरीको जिम्मा लगाइएको छ भने उद्धार भएका सुरेशलाई तत्काल नै आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गएको फागुन १९ गते घरबाट निस्किएको सुरेश घर नफर्किएपछि उनकी आमा सुनरदेवीले ईलाका प्रहरी कार्यालय गौशालामा खोजतलाशको लागि निवेदन दिएपछि प्रहरीले तीव्र रुपमा खोजतलाश सुरु गरिएको थियो ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया