बालबालिकामा मानसिक रोगको समस्या बढ्दो

 चैत ८, २०७५ शुक्रबार १४:८:९ | विना न्याैपाने
unn.prixa.net

काठमाण्डाै – बालबालिकामा पनि मानसिक समस्या वा रोग हुन्छ भन्ने धेरैजसोलाई थाहा नै हुँदैन । तर, युवावस्था तथा त्योभन्दा बढी उमेरका व्यक्तिमा जति प्रकारको मानसिक रोग हुन्छ, त्यति नै मानसिक रोग बालबालिकामा पनि हुने गर्दछ ।

मानिस जन्मिनेबित्तिकै उसमा चिन्ता सुरु हुन्छ । पछिल्लो समय युवामा भन्दा पनि बालबालिकामा धेरै मानसिक चिन्ता देखापरेको छ । यस विषायमा साथी विना न्यौपानेले पाटन अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ तथा प्राध्यापक डाक्टर रवि शाक्यसँग कुराकानी गर्नु भएको छ । 

बालबालिकामा पहिलाको भन्दा मानसिक समस्या बढेको हो ? 

दिमाग भएपछि मानसिक समस्या हुन्छ नै । बालबालिकाको पनि दिमाग हुन्छ, त्यसैले समस्या हुन्छ  । अहिले आएर रोगी बढेको भन्दा पनि चेतना बढेको हो, त्यसैले संख्या बढ्यो । नेपालमा  तथ्याङ्कको अझै पनि अभाव छ ।

अहिले मानसिक रोगीबारे थाहा हुने भनेको अस्पतालमा आउने बिरामीबाट नै हो । अनि मिडियाको कारण पनि चेतना बढेकाले उपचार गराउनेको संख्या बढेको हो । धेरै रोग पहिला देखि नै थिए, अहिले देखा परेको नयाँ रोग भनेको एन्टरनेट एडिक्सन (इन्टरनेटको लत) हो । 

यस्तो समस्या देखापर्ने कारण के हो ? 

अहिले संसारभर प्रमुख तीनवटा कारण देखा परेका छन् : 

  • धेरै मानसिक समस्या हुने भनेको वंशाणुगत कारण नै हो, यो जन्मजात हुन्छ  
  • वातावरणीय कारण  
  • साइकोलोजिकल पर्सनालिटी (मनोवैज्ञानिक व्यक्तित्व) ले पनि भूमिका खेलेको हुन्छ । 

तपाइँले जन्मजात नै यो समस्या हुन्छ भन्नुभयो तर कतिपयलाई उमेर बढ्दै जाँदा पनि यो समस्या हुन्छ नि ?

कुनै पनि रोग निश्चित समयमा देखा पर्छ । बीउ छर्नेबित्तिकै ठूलो हुने होइन, त्यसलाई समय लाग्छ । त्यस्तै रोग पनि कुनै निश्चित उमेरमा गएर लाग्ने हो । कुनै कुनै रोग ६ वर्षमा, कुनै ७ वर्ष, कुनै १२ वर्ष, कुनै १३ वर्ष, कुनै १७ वर्ष र कुनै १८ वर्षमा  देखापर्दछ ।  

बालबालिकालाई मानसिक रोग लागेको भनेर कसरी थाहा पाउन सकिन्छ  ?

बोली अथवा आवाज एउटा माध्यम हो, त्यो भन्दा धेरै उसको व्यवहारबाट थाहा हुन्छ । बालक-बालिका बोलेनन् भने पनि उनीहरुलाई अटिजम (आत्मकेन्द्रित अथवा गैरसामाजिक) भएको हुन सक्छ । कसैसँग घुलमिल हुन नचाहने, एक्लै बस्ने हुन्छ  । एकलकाँटे र अरुसँग साथी बनाउन नमान्ने हुन्छ । कतिपय बालबालिकाहरु धेरै चकचके हुन्छन्, चाहिनेभन्दा पनि धेरै बोल्ने (हाइपर एक्टिभ डिसअर्डर)  हुन्छ  । कति बोल्दैनन् र सिक्नै खोज्दैनन् । 

धेरै बोल्नु पनि समस्या अनि नबोल्नु पनि समस्या हो ?

समस्या त्यहाँ हुन्छ, जुन अवस्थामा घाटा हुन्छ । उसको सामाजिक तथा व्यक्तिगत जीवनमा असर गरेको छ भने पनि त्यो सम्स्या हो । उसले जानाजान गरेको होइन र नियन्त्रण गर्न पनि सकेको छैन भने त्यसलाई रोगको लक्षणको रुपमा चिन्नु पर्दछ ।

यसमा फेरि फरक पेशाले पनि निर्धारण गर्छ । शिक्षक भएर धेरै बोल्नु समस्या होइन । त्यसैले नचाहिने ठाउँमा पनि बोलेको बोल्यै गर्छ भने त्यो समस्या हो । 

यसको उपचार सम्भव छ ?  

सकिन्छ, तर युवावस्थामा जति सहज हुन्छ, बालबालिकामा त्यति सजिलो छैन । युवाको उपचारमा धेरै यन्त्र उपकरणहरु छन् भने बालबालिकाको सम्बन्धमा यो खासै सहज छैन ।  त्यति अनुसन्धान हुन पनि सकेको छैन, उपचार उपकरणमा पनि त्यति विकास भइसकेको छैन ।

बालबालिकाको उपचार भन्नाले साइको थेरापी (मानसिक चिकित्सा), व्यवहारमा परिवर्तन, वातावरणीय प्रभाव, परिवारको हेरचाह वा घर परिवारले कसरी हेरचाह गर्ने भन्ने साइन्टिफिक (वैज्ञानिक) उपचार उपलब्ध छ  ।

प्रतिकात्मक तस्बिर 

बालबालिका अवस्थामा यस्तो खालको समस्या देखा परेर ठीक हुँदा फेरि पछि दोहोरिने सम्भावना कत्तिको हुन्छ ?  

सबैमा भन्न मिल्दैन, कुनै कुनै रोग त यस्तो छ कि अहिलेसम्म उपचार नै पाइएको छैन । जस्तै सुस्त-मनस्थिति; यो थाहा पाउने भनेको बालबालिका स्कुल जान थालेपछि मात्र हो । यसमा हामीले गर्न सक्ने भनेको उसको जे जति क्षमता छ, त्यसलाई सदुपयोग गर्ने हो । कतिपय रोगमा उपचार गरेर पूर्ण रुपमा ठीक हुन्छ ।

जस्तै बढी चकचके हुने बालबालिकाको उपचार सम्भव छ । यसको औषधीले एकदुई हप्तामा नै पूरै निकाे भइदिन्छ । त्यसैले सबैलाई एउटै भन्न मिल्दैन, बालबालिकाको रोग अवस्था हेरेर हुन्छ ।  

अरुमा उपचार गर्नभन्दा बच्चामा उपचार गर्न गाह्रो हुन्छ, हो ? 

हो, बालबालिकामा उपचार गर्न एकदमै कठिन हुन्छ । पहिला के भएको भनेर पत्ता लगाउनै गाह्रो हुन्छ । बालबालिकाले राम्रोसँग  आफ्नाे विचार व्यक्त गर्न सक्दैनन् । कतिपय कुराहरु उनीहरुले बुझेका पनि हुँदैनन् । त्यसैले जतिसक्दो नजिक भएर थाहा नपाउने गरी अनुसन्धान गर्ने हो । कतिपय अवस्थामा शिक्षकलाई साथीहरुसँग सोधेर निदान गर्न सकिन्छ ।  

उपचार निदानकाे लागि एकदमै ठूलो चुनौती छ  । उपचार त्यति एडभान्स्ड (उन्नत) छैन । पहिला त रोग पत्ता लगाउनै कठिन छ, त्यसपछि उपचार गर्न झन् कठिन छ । 

यसको उपचार कहाँ-कहाँ सम्भव छ ? 

बाल मानोविज्ञानसँग सम्बन्धित डाक्टरहरुले उहाँहरुले उपचार गर्न सक्नुहुन्छ । कान्ति अस्पतालमा नियमित बच्चाको ओपीडी (बाह्य रोग विभाग) चलेको हुन्छ । कान्ति अस्पतालमा छुट्टै चाइल्ड साइकियाट्रिस्ट (बाल मनोचिकित्सक) छन् । त्यसबाहेक हरेक मेडिकल कलेजले मनोचिकित्सक विभागमा अलग्गै क्लिनिक चलाएका छन् । 

उपचार महङ्गो होला नि ? 

नेपाल विश्वकै त्यस्तो मुलुक हो, जहाँ मानसिक रोगको उपचार सबैभन्दा सस्तो छ । अहिले सरकारी अस्पतालमा गयो भने २५/३० रुपैयाँमा कन्सल्टेन्ट डाक्टर (सल्लाहकार चिकित्सक) भेटिनुहुन्छ ।

विकसित देशमा जाने हो भने डाक्टर भेट्नकै लामै आएर उपचार गराइरहेका छन्गि ५/६ महिना कुर्नुपर्छ , अनि एक पटक भेट्नको लागि ३/४ सय डलर खर्च गर्नुपर्छ  । अहिले विदेशमा रहेका नेपाली पनि खर्च धान्न नसकेर नेपालमा उपचार गराउँछन् । 

नेपालको पछिल्लो अवस्था के छ ? 

अहिले सबैभन्दा धेरै आउने भनेको डिप्रेसन (खिन्नता) नै हो । बालबालिकाले पढ्नमा ध्यान नदिने, सानो सानो कुरामा धेरै रिसाउने, स्कुल जान नमान्ने, सानै उमेरमा नशामा लागेको स्थिति आइरहन्छ । हाम्रो अनुसन्धानले पनि बालबालिकाको मन उदास हुने रोग नै बढी देखिएको छ । मानसिक रोग तनावले हुन्छ भन्ने मान्यता छ तर त्यो होइन कतिपय रोगहरु तनावबिना पनि हुन्छ । त्यसैले यसमा अभिभावकले ध्यान दिनुपर्छ । 

मानसिक समस्या देखिनु भन्दा पहिला के कुरामा ध्यान दिनुपर्छ ? 

सजगता सबैभन्दा ठूलो कुरा हो । सजकता दिमागमा भएन भने आँखाले पनि देख्दैन, भनिन्छ । त्यसैले सजगता अपनाउनु आवश्यक छ । शंका लाग्नेबित्तिकै विशेषज्ञको परामर्श लिनुपर्छ । छिटोभन्दा छिटो डाक्टरलाई देखाउनुपर्छ । 

 


 

अन्तिम अपडेट: चैत ३०, २०७५

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया