आईपीएल फिक्सिङ प्रकरणबारे धोनीले भने : ममाथि के बितेकाे थियाे, कसैले केही साेध्याे ?

 चैत ८, २०७५ शुक्रबार १५:३७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

सन् २०१३ को आईपीएलमा भएको स्पट फिक्सिङ प्रकरणमा महेन्द्र सिंह धोनीले मुख खोलेका छन् । धोनीले आफूलाई त्यसबेला के भयो भन्ने बारेमा कसैलाई थाहा नभएको बताएका छन् ।

पीटीआईसँगको कुराकानीमा धोनीले भने, ‘मानिसहरुलाई लाग्ला कि म निकै बलियो छु । तर मलाई कस्तो छ भनेर कसैले सोध्दैनन् । यसबारेमा म कसैसँग कुरा गर्न चाहन्नथेँ । तर यसले मलाई भित्रभित्रै गुम्साइरहेको थियो ।’

आईपीएल २०१३ को म्याच फिक्सिङ प्रकरण आफ्नो जीवनको ‘सबैभन्दा कठिन र निराशाजनक समय’ भएको पनि धोनीले बताए । यसमा खेलाडीको के गल्ती थियो र भन्दै उनले भने, ‘सन् २०१३ मेरो जीवनकै कठिन समय थियो । त्यतिबेला म जति निराश भएँ, जीवनमा कहिल्यै भएको थिइनँ । त्यसभन्दा पहिले सन् २००७ को विश्वकपको समूह चरणमै हार व्यहोर्दा निराश भएको थिएँ । तर त्यतिबेला हामीले खराब क्रिकेट खेलेका थियौँ ।’

महेन्द्रसिंह धोनी अगाडि भन्छन्, ‘२०१३ को दृश्य फरक थियो । मानिसहरु म्याच फिक्सिङ र स्पट फिक्सिङको कुरा गरिरहेका थिए । देशैभर यसकै चर्चा भैरहेको थियो ।’ भारतले विश्वकप जित्दा कप्तान रहेका धोनी भन्छन्, ‘हामीलाई सजाय हुँदै थियो ।

केवल कति सजाय हुन्छ भन्ने कुरा मात्रै थियो । चेन्नई सुपर किंग्समाथि दुई वर्षको प्रतिबन्ध लाग्यो । त्यतिबेला हामी सबै एकजुट थियौँ । तर पनि कप्तानको भूमिकाका कारण यही प्रश्न थियो कि टिमको के गल्ती थियो ?’

धोनीले म्याच फिक्सिङ हत्याभन्दा पनि ठूलो अपराध भएको बताए । उनी भन्छन्, ‘फिक्सिङमा मेरो नाम पनि जोडियो । मिडिया तथा सोसल मिडियामा टिम नै सहभागी थियो जस्तो गरी देखाइयो । म पनि फिक्सिङमा सहभागी थिएँ जस्तै देखाइयो ।’

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया