भैँसी खर्कमै बित्यो तीन पुस्ताको जीवन !

 चैत ९, २०७५ शनिबार १२:३५:३२ | विमल बिष्ट
unn.prixa.net

डाेटी – पाँच वर्षेको उमेरदेखि बुवाको औंला समाएर भैँसी चराउन डाेटीकाे शिखर नगरपालिकामा पर्ने तेलेलेक गएका गोरख मल्ल अहिले ६४ वर्षको हुनु भयो । त्यसबेलादेखि अहिलेसम्म उहाँ भैँसीखर्कमै रमाइरहनु भएको छ । 

उहाँ बिहानै उठ्नुहुन्छ, ११ वटा भैँसीको स्याहारमा जुट्नु हुन्छ । दिनभरि भैँसीसँगै लेकभरीको जँगल चहारेर बेलुकी लामीतालमा रहेको खर्कमा फर्किनु हुन्छ । गोरखका बुवा बहादुर मल्लले पनि त्यही लेकमा भैँसी चराउँदा चराउँदै जीवन त्याग्नुभएको थियो । उहाँका ३६ वर्षका एक्ला छोरा यामबहादुरले पनि खर्कमै मृत्युवरण गर्नुभयो । 

जसरी बुवा र छोराले खर्कमै जीवन त्यागे । त्यसैगरी खर्कमै सुखदुःख सहेर गोरख पनि जीवन बिताउन चाहनुहुन्छ । तीन पुस्ताले खर्कमा बिताएको अनुभवपछि गोरखको जीवन जिउने आफ्नै सूत्र छ । 'हाकिम हुनलाई लेखपढ गरिनँ, अरूको रवाफ सहन नोकरी गर्न सकिनँ', मल्लले भन्नुभयो, 'भैँसीकै हाकिम र भैँसीकै नोकर भएर मेरा तीन पुस्ताले जीवन गुजारिसके, म पनि यसैमा रमाएको छु ।'

करिब ७४ वर्षीय देव बहादुर ऐर पनि ५ वटा भैँसी पालेर देउतालस्थित खर्कमै रमाइरहनु भएको छ । बुढेसकाल भए पनि लेकमा पाइने शान्ति र स्वतन्त्रता अन्यत्र नपाइने उहाँको अनुभव छ । ६८ वर्षका शिखर नगरपालिका ५ कै देवराज भट्ट पनि बुढ्यौली उमेरमा पनि ३०-४० किलो भारी घाँस र सोत्तर बोकेर लेकमा मजाले हिँड्नुहुन्छ । 

भैँसीका संगीतमय घाँणो (घन्टी) का आवाज, पशुपन्क्षीका चिरबिरे बोली, सिरसिरे बतास र चिसो मौसम आफ्नो जीवनको अभिन्न अझैं भएको उहाँहरू बताउनुहुन्छ । अहिले पनि धेरै संख्यामा वृद्ध किसानहरू भैंसी खर्कमा जीवन बिताइरहेका छन् ।

खर्कमा जिन्दगी बिताएका उनीहरु गाउँघरमा रमाउन सक्दैनन् । सबैले छोराछोरीलाई पनि पढाउन सकेका छैनन् । गोरख मल्लले आफ्नी दुई छोरीलाई पनि लेकमै ल्याएर राख्नुपरेको नमिठो कथा सुनाउनुभयो । 

सानै उमेरबाट आफूले अभिभावक गुमाउँदा लेकमै जीवन बिताउनुपरेको बताउने गोरखले सन्तानहरूलाई पढाउन नपाउँदा भने खिन्नता महसुस भइरहने बताउनुभयो । अहिले पनि केही खर्कमा बालबालिका, महिलाहरूसमेत भेटिन्छन् । उनीहरूले लेखपढ नगरी, सहरिया जीवनशैलीको अनुभूति नै नगरी जीवन व्यतित गरिरहेको स्थानीय लालबहादुर महराले बताउनुभयो । 

फागुनदेखि भदौ महिनासम्म लेकमा भेटिने उहाँहरू खर्कमा चिसो बढेपछि भने घर अर्थात् औलतिर झर्नु हुन्छ । लामीताल, खकरेताल, देवताल, मुस्ताल, गदीभैंसी, देउकापानी, पल्लेपानीलगायत ठाउँमा वर्षाैं पहिलेबाट खर्क बनाएर बस्ने चलन छ ।

'तेलेलेकका रक्षक भनेकै यिनै किसान हुन्', शिखर नगरपालिकाका नगरप्रमुख सीताराम जोशी भन्नुहुन्छ, 'वर्षाैंअघिबाट लेकका कुनाकन्दराहरूसँग परिचित भएका यिनीहरूका पुस्ताले पनि यही जीवन बिताएका हुन् ।'

अहिले शिखर नगरपालिकाले तिनै खर्कहरूलाई केही परिमार्जित र सुधार गरी होमस्टे बनाएर पर्यटन प्रवद्र्धनको प्रयास भइरहेको छ । स्थानीय दही, दूध, कुखुरा, खसी, बोकाको मासु र पर्यावरणको सौन्दर्यमार्फत पर्यटकलाई भित्राउने नगरपालिकाको लक्ष्य रहेको नगरप्रमुख जोशीले बताउनुभयो । 

लेकमा पनि किसानहरूको आफ्नै नियम र चलन छ । लेकमा हुने विषजन्य जडीबुटीका कारण बोका, बाख्राहरू भने कसैले नपाल्ने गरेको र भैँसीमात्रै पाल्ने गरेको भैँसी किसानहरु बताउँछन् । तेलेलेकमा पालिएका भैँसी किन्न टाढा टाढाबाट मानिसहरू किनमेल गर्न आउँछन् ।

भैँसीलाई दुहुने उमेरसम्म पालेर उनीहरू बेच्ने गर्छन् । 'आम्दानी भनेकै भैँसी बेचेर हो', शिखर नगरपालिका ५ का वडाध्यक्ष पदम बोहराले भन्नुभयो, 'वर्षमा २ वटाजति भैँसी पाले पनि लेकमा जीवनयापन गर्न पर्याप्त हुन्छ ।'


 

अन्तिम अपडेट: असार ५, २०७६

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया