१५ लाख रुपैयाँको लगानीमा इलाममा साँस्कृतिक संग्रहालय बन्ने

 चैत ९, २०७५ शनिबार २०:४६:३७ | सुजता सुनुवार
unn.prixa.net

इलाम– इलाम जिल्लाको इलाम नगरपालिकामा १५ लाखको लगानीमा साँस्कृतिक संग्राहलय बन्ने भएको छ ।

सदरमुकाममा रहेको राणाकालीन दरबारलाई साँस्कृतिक संग्राहलय बनाउने भन्दै नगरपालिकाले नगद १५ लाख रुपैयाँ बजेट विनियोजन गर्ने नगर प्रमुख महेश बस्नेतले जानकारी दिनुभयाे ।

नेपाल सरकारले सदरमुकाममा रहेको ऐतिहासिक दरबार इलाम नगरपालिकालाई हस्तान्तरण गरेपछि साँस्कृतिक संग्रहालयको रुपमा विकास गरिने निर्णय भएको हो । यसअघि त्यहाँ जिल्ला प्रशासन कार्यालय रहेको थियो । 

प्रशासन कार्यालय नयाँ भवनमा सरेपछि दरबारको भवन प्रयोगविहीन अवस्थामा छ । यही प्रयोगविहीन अवस्थामा रहेको भवनलाई अब ऐतिहासिक संग्रहालयको रुपमा विकास गरिने नगरपालिकाले जनाएको छ । संग्रहालय निर्माणका लागि आवश्यक बजेट भने आउँदाे आर्थिक वर्ष सुरु भएपछि मात्र विनियोजन गर्ने नगरपालिकाको भनाइ छ ।

जीर्ण अवस्थामा रहेको याे दरबार वि‍.सं. १९२० को दशकमा बनेको इतिहासविद् युद्दप्रसाद बैद्यले जानकारी दिनुभयो । राणा प्रधानमन्त्री जंगबहादुर राणको पालामा इलाममा बडाहाकिम भएर आएका उनका ज्वाइँ गजराजसिङ थापाको कार्यकालमा याे दरबार बनेको बताइएको छ । 

बडाहाकिम थापाले १९१९ सालदेखि १९४२ सम्म इलामको प्रशासन सम्हालेका थिए । दरबारको बनावट यस क्षेत्रमा रहेका घरहरु भन्दा फरक छ । मर्मत सम्हारपछि यस संग्राहलयमा लोप हुने अवस्थामा पुगेका विभिन्न सामग्री, पुराना उपकरणहरु, बजागाजा, विभिन्न जातिका भेषभुषा, भाँडा-वर्तन लगायतका सामग्री राखिनेछ ।

अरनिको संग्रहालयमा रहेका सामग्रीहरुसमेत इलामको साँस्कृतिक संग्रहालयमा राख्ने योजना तय भएको छ । अरनीको संग्राहलयका सामग्री नगरपालिकामा रहेको माईस्थान मन्दिरमा राखिएको थियो । अहिले भने संग्राहलयमा रहेका केही सामान भने हराइसकेको नगर प्रमुख बस्नेतले जानकारी दिनुभयो । 

इलाममा रहेको नेपालकै दोस्रो कंक्रिट भवन भत्काएर प्रमुख जिल्ला अधिकारीको आवास बनाइएको छ । जिल्ला प्रहरी कार्यालय रहेको इलामको पहिलो प्रशासनिक भवन समेत केही वर्ष अघि नै भत्काइएको थियो । जिल्ला प्रहरी कार्यालय रहेको भवन समेत भत्काएर नयाँ भवन निर्माण गरिएको छ । 

स्थानीयका परम्परागत शैलीमा बनेका घरहरु समेत भत्काएर नयाँ शैलीका घर बनाइने क्रम बढेर गएको छ ।

पुराना कला सीप जीवित राख्नका लागि पुराना शैलीमा बनाइएको दरबारलाई साँस्कृतिक संग्रहालय बनाउँदा इतिहासका सम्झना जीवित रहने बताइएको छ । याे संग्राहलय निर्माणपछि भविष्यमा पर्यटन आकर्षणको केन्द्र समेत हुने अपेक्षा गरिएको छ । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया