आगलागीमा दुई बालिकासहित तीन जनाको ज्यान गयाे

 चैत ९, २०७५ शनिबार २०:१२:५१ | आशिष विश्वकर्मा

सिरहा - सिरहाका छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा दुई बालिका र एक महिलासहित तीन जनाको ज्यान गएकोे छ ।

शनिबार अपराह्न धनगढीमाई नगरपालिका-१४, अमिलटारमा दीपक धमलाको गोठमा आगलागी हुँदा दुई बालिकाको मृत्यु भएको हो । 
आगलागीमा परेर दिपक धमलाकी ६ वर्षीया छोरी दीक्षा र नित्यराज पोखरेलकी ७ वर्षीया छोरी ऋतु पोखरेलको जलेर ज्यान गएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 

गाईगोठमा जम्मा भएको पतकरहरुमा केटाकेटीले सलाई कोरेर आगो लगाएको हुनसक्ने स्थानीयले बताएका छन् । प्रहरीले भने आगलागीको कारण अझै नखुलेको जनाएको छ ।

स्थानीय र प्रहरीको सहयोगमा डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लहानले जनाएकाे छ ।

त्यसैगरी, कल्याणपुर नगरपालिका-७, भेडियो पूर्वारी टोलमा खाना पकाउने क्रममा आगलागी हुँदा ५० वर्षीया बनारसी देवी सदायको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शुक्रबार राति बनारसीले पराल बालेर खाना पकाउँदै गर्दा कपडामा सल्केर आगलागी भएको थियो । घाइते अवस्थामा उनलाई कर्जन्हामा रहेकाे फुलकुमारी मेमोरियल अस्पतालमा पुर्‍याइएकोमा शनिबार बिहान ४ बजे मृत्यु भएको थियाे । आगलागीबाट उनको घरसमेत जलेको छ भने आगलागीको यकीन विवरण अझै आइनसकेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया