रोकिएन छाउपडी प्रथा : कानुनभन्दा बढी देवीदेवताको डर

 चैत १०, २०७५ आइतबार १०:८:३८ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङ जिल्लामा छाउपडी कुप्रथाको समस्या अझै उस्तै छ । विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले छाउपडी प्रथाविरुद्ध अभियान चलाए पनि अशिक्षा, जनचेतनाको अभाव, रुढीवादी परम्परालगायतका प्रमुख कारणले समस्या हट्न नसकेको हो ।

बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ५ मा रहेको धामीलेखमा सबैभन्दा बढी छाउपडी समस्या रहेको स्थानीय बासिन्दा शिवराज जोशीले बताउनु भयो । अर्का स्थानीय शिद्धराज जोशीका अनुसार, झण्डै ९५ परिवार बसोबास गर्ने यस वडामा २० भन्दा बढी छाउगोठ रहेका छन् । 

अझै पनि अधिकांश महिलाहरु रजस्वला र सुत्केरी भएका बेलामा गोठमा नै बस्न बाध्य छन् । 

छाउप्रथा कुरीति र छाउगोठमा बस्न नहुने भन्ने थाहा हुँदा पनि यो प्रथा अन्त्य गर्न तत्काल सम्भव नभएको स्थानीय महिला सीता देवीले बताउनुभयो ।  ‘नजिकै सुर्मा देवीको मन्दिर छ, यहाँ देवी देउता भनेपछि हुरुक्कै हुन्छन्,’ उहाँले भन्नुभयो, ‘पुलिस प्रशासनको डरभन्दा पनि यहाँका स्थानीय बासिन्दा देवीदेउताको बढी डर मान्छन्, अनि कसरी छाउपडी प्रथा अन्त्य हुन्छ ?’

अशिक्षित महिलाहरु मात्र नभइ शिक्षित महिलाहरु पनि छाउगोठमा बस्नैपर्ने बाध्यता रहेको स्थानीय पार्वती जोशीले बताउनुभयो । ‘शिक्षित महिलाहरु पनि छाउगोठ छोडेर घरभित्र बस्न सक्ने अवस्था छैन,’ उहाँ भन्नुहुन्छ । 

आफ्नो परिवार (श्रीमती) लाई  महिनावारी भएका बेलामा घरमै राख्ने गरेको भए पनि समाजले नानाथरी कुरा काट्न थालेपछि फेरि छाउगोठमा नै बस्न बाध्य बनाइएको समाजसेवी तथा नेपाली कांगे्रसका क्षेत्रीय सभापति भत्तराज जोशीले गुनासो गर्नुभयो । 

यो प्रथा अन्त्य गर्न महिलाले मनदेखि नै देवीदेउताको डर हटाउनु पर्ने उहाँले बताउनुभयो । समाज परिवर्तन गर्नका लागि खुलेका विभिन्न संघसंस्था र विभिन्न व्यक्तिहरुका लागि छाउ पैसा कमाउने माध्यम बनेको स्थानीयबासिन्दाको आरोप छ । 

महिनावारी भएको ७ दिनसम्म यहाँका महिलाहरुले कडा काम गर्नुपर्ने, पानीकोे धारामा लाइन लाग्न नमिल्ने, अरुले दिएको खाना खानु पर्ने, पानी तिर्खा लागे अरुलाई गुहार्नु पर्ने र कोही मान्छे फेला नपरे पानी पिउन नै नपाई बस्नुपर्ने वाध्यता रहेको सत्यदेवी जोशीले बताउनुभयो । 

व्यवहारिक भएन छाउपडी कानुन 

महिनावारी भएका महिलाहरुप्रति गरिने विभेद र छुवाछुत अपराधजन्य कसुर ठहरिने भए पनि यो व्यवहारमा लागू गर्न गाह्रो भएको बझाङका महिला बताउँछन् । ‘छाउपडी प्रथा ठीक होइन भने सबैलाई थाहा छ तर हामीलाई गोठमा राख्ने आमाबुवालाई जेल हाल्न पनि त सकिँदैन’, तल्कोट गाउँपालिकाकी करिश्मा विकले भन्नुभयो । उहाँ मात्र होइन यहाँका महिला अधिकारकर्मीहरु कानुन बन्नु सकारात्मक भए पनि यसको व्यवहारिक प्रयोग असम्भव भएको बताउँछन् । 

महिला अधिकार मञ्च बझाङकी अध्यक्ष जयन्ती जोशी भन्नुहुन्छ, ‘‘कानुन त बन्यो तर त्यसको प्रयोग गर्न गाह्रो छ, वर्षाैंदेखि चलिआएको अन्धविश्वासका कारण समाजमा आफ्नै घर परिवारका विरुद्धमा छाउपडीलाई विभेद गरेको भनेर मुद्दा हाल्ने जोखिम उठाउन पनि सकिँदैन ।’’ नेपाल महिला संघकी जिल्ला अध्यक्ष शान्ति बोहरा पुजारा पनि छाउ बारेको विषयलाई लिएर कानुनी उपचार खोज्दा परिवारबाटै अपहेलित हुने खतरा भएको बताउनुहुन्छ । 

‘‘महिलाहरु अझै पनि आर्थिक र सामाजिक हिसाबले आत्मनिर्भर छैनन्’’ उहाँले भन्नुभयो, ‘‘आज छाउपडीलाई विभेद गर्याे भनेर कुनै महिलाले मुद्दा हाल्ने हिम्मत त गर्लिन् तर भोलि त्यही घरमा तिनै महिला गएर पूर्ववत बस्न सक्ने अवस्था हुन्छ कि हुँदैन ? त्यसका लागि अर्काे मुद्दा खेप्नु पर्छ होला । यस्तो साहस जुटाउने अवस्थामा यहाँका महिलाहरु पुगिसकेका छन् भन्ने मलाई लाग्दैन ।’’ 

छाउपडी प्रथा अपराध हो भन्ने मान्यता स्थापित हुनु सकारात्मक भए पनि यसको व्यवहारिक प्रयोग निकै जटिल भएको कानुनविद्हरुको भनाइ छ । ‘‘छाउपडीमाथि गरिने विभेद फौजदारी अपराध हो भन्ने कुरा कानूनी रुपमा स्थापित हुनु आफैंमा ठूलो कुरा हो तर चेतनाको स्तर, आर्थिक तथा सामाजिक अवस्थाले गर्दा व्यवाहारिक प्रयोग हुनेमा ढुक्क हुन सकिँदैन’’ एक दशकभन्दा बढी अधिवक्ताको काम गर्दै आउनुभएका अधिवक्ता मोहन दौल्यालले भन्नुभयो ।

कानुनले छाउप्रथालाई अपराध घोषणा गर्नु राम्रो पक्ष भएको बताउँदै नेपाल बार एसोसिएसन बझाङका अध्यक्ष पृथ्वी बहादुर सिंहले कानुनले अपराध हो ठहर गरेको कुप्रथाको अन्धविश्वास हटाउन चेतनाको स्तर माथि उठाउनुपर्ने बताउनुभयो । बझाङमा हुने विभिन्न धार्मिक अनुष्ठानहरुको अगुवाई गर्दै आउनुभएका विष्णुभक्त शास्त्री पनि सबैको साझा अभियान र बहसको विषय बनाउन सके मात्र यो अन्धविश्वास हट्न सक्ने बताउनुहुन्छ । जिल्लामा खुला दिशामुक्त अभियान सफल भएको उदाहरण दिँदै सबै मिलेर कुप्रथा विरुद्ध अभियान थाले यसको अन्त्य पनि असम्भव नहुने उहाँको भनाई छ । 

करिब ३३ हजार परिवारको बसोवास रहेको बझाङ जिल्लामा अहिले पनि २५ हजार भन्दा बढी छाउगोठ रहेको र ९८ प्रतिशत महिनावारी भएका महिलाहरु छाउगोठमा नै बस्ने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ । महिनावारी भएको बेला छाउगोठमा बस्ने क्रममा २ वर्ष पहिला एक जनाको सर्पको टोकाइबाट ज्यान गएको थियो । छाउगोठमै बसेका कारण यौनजन्य हिंसामा परेका घटनाहरु जिल्लामा पटक पटक सार्वजनिक हुने गरेका छन् । 


 

अन्तिम अपडेट: चैत १६, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया