सुदूरपश्चिम प्रदेश सरकारले पहाडी जिल्लामा १६ वटा एम्बुलेन्स प्रदान गर्ने

 चैत १०, २०७५ आइतबार ११:१४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, बाजुरा र डोटीमा १६ वटा एम्बुलेन्स प्रदान गर्ने तयारी गरेको छ । 

यहाँका १६ वटा निर्वाचन क्षेत्रहरुमा एम्बुलेन्स वितरण गरिने कार्यक्रम तय भएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिनुभयो । 

दिपायल सिलगढी नगरपालिका, डोटीले आयोजना गरेको महिलाहरुको पाठेघरको निःशुल्क अप्रेशन तथा जनरल स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सुवेदीले एम्बुलेन्स प्रदान गर्न लागिएको जानकारी दिनुभयो । यहाँका पहाडी भेगका दुर्गम क्षेत्रका मानिसहरुको स्वास्थ्य सेवामा पहुँच बढाउनका लागि प्रदेश सरकारले सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गर्न लागेको मन्त्री सुवेदीले बताउनुभयो ।

प्रदेश सरकारले प्रति एम्बुलेन्स ३९ लाखका दरले ६ करोड ४० लाख खर्च गरिरहेको र केही समय भित्रै खरिद प्रक्रिया पूरा गरेर निर्वाचन क्षेत्रमा एम्बुलेन्स हस्तान्तरण गरिने उहाँले जानकारी दिनुभयो । त्यस्तै सुदूरपश्चिममा बर्सेनि औषत ३२ हजार महिलाहरु सुत्केरी हुने गरेको र आमा सुरक्षा कार्यक्रममा बजेट अभाव भएकाले केन्द्र सरकारसँग २९ करोड माग गरेको मन्त्री सुवेदीले बताउनुभयो । 

सुदूरपश्चिममा डक्टरहरुको अभाव रहेको प्रसङ्गमा मन्त्री सुवेदीले कम्तीमा १० वर्ष यसै क्षेत्रमा बस्ने गरी ४ जना गैर दलित र ४ जना समावेशी गरी ८ जना डक्टरका लागि प्रदेश सरकारले बजेट व्यवस्था गरेर जिम्मा लिने गरी आगामी योजना बनाइरहेको पनि जानकारी दिनुभयो ।

डोटी जिल्लामा पनि एकजना डाक्टर राख्नका लागि बर्सेनी २०/२२ लाख प्रदेश सरकारले सहयोग गर्ने उहाँले बचन दिनुभयो । यस्तै जिल्ला अस्पतालहरु प्रदेश सरकारको मातहतमा रहेकाले रिक्त रहेका व्यवस्थापन समितिलाई यसै चैत्र महिनाभित्र पूर्णता दिने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया