प्लाष्टिकका झोलाको प्रयोग घटाउन स्राेतमाथिको व्यवस्थापनमा कडाइ गर्ने सरकारकाे तयारी

 चैत १०, २०७५ आइतबार १३:१५:६ | उज्यालो सहकर्मी

काठमाण्डाै - सरकारले प्लाष्टिकका झोलाको प्रयोगलाई न्यून गर्न त्यसको स्रोतमाथिको व्यवस्थापनमा कडाइ गर्ने तयारी गरेको छ ।

राष्ट्रियसभाको आइतबार बसेको बैठकमा प्लाष्टिकका झोलामा लगाइएको प्रतिबन्ध कार्यान्वयन सम्बन्धमा सदस्यहरुले दर्ता गराएको ध्यानाकर्षण प्रस्तावमाथि बोल्दै वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले प्लाष्टिकको स्रोतमाथिकै व्यवस्थापनमा सरकार लागेको स्पष्ट पार्नुभएको हो ।

उहाँले उत्पादन हुने क्रम नरोकिनु र प्रयोगमा मात्रै रोक लगाउने काम भएकाले त्यसको प्रभावकारिता न्यून देखिएको स्वीकार गर्नुभयो । उहाँले प्लाष्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका २०६८ लाई संशाेधन गरी कम तौलका प्लाष्टिकका झोला उत्पादनमा नै रोक लगाउने तयारी सरकारले गरिरहेको स्पष्ट पार्नुभयो ।

उहाँले सकेसम्म न्यून प्रयोगको वातावरण सृजना गर्ने तथा प्रशोधन तथा पुन:प्रयोग नहुने प्लाष्टिकको प्रयोग नै नगर्ने वातावरण सृजना गर्ने विषयलाई सरकारले केन्द्रमा राखेर काम गरिरहेको बताउनुभयो ।

उहाँले कम तौलका प्लाष्टिकका झोलाकाे प्रयोगमा लगाइएको प्रतिबन्धको कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम भइरहेको र अहिलेसम्म १९ स्थानमा कारबाही भएको पनि उहाँले स्पष्ट पार्नुभयो ।  

ध्यानाकर्षण प्रस्तावक डाक्टर बिमला राई पौडेलले काठमाण्डौ उपत्यकामा मात्रै १० लाखभन्दा बढी प्लाष्टिकका झोला एक पटक मात्रै प्रयोग गरेर फालिने गरेको र यसले जम्मा फोहरको ११ प्रतिशत ओट्ने गरेको तथ्यांकले देखाएको भन्दै उपयुक्त व्यवस्थापनतर्फ पनि मन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया