चितवनमा होटलको सेप्टिक ट्यांकीमा खसेर गैँडाकाे मृत्यु

 चैत १०, २०७५ आइतबार १५:११:४४ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवनको भरतपुर महानगरपालिका वडा नम्बर-२३, जगतपुरमा रहेको होटल टाइगरल्याण्डको सेप्टिक ट्यांकीमा खसेर एउटा गैँडाकाे मृत्यु भएको छ ।

करिब २० वर्षको पोथी गैँडा आइतबार बिहान साढे चार बजे सेप्टिक ट्यांकीमा खसेको थियो । होटलको सेप्टिक ट्यांकीको माथिल्लो भागमा टिन राखिएको र त्यहीँबाट खसेर गैँडा मरेकाे चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताउनुभयो । 

गैँडाको चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले पोष्टमार्टम गरिसकेको र थप कारणबारे अनुसन्धान भइरहेको ढकालले जानकारी दिनुभयो ।

यो वर्ष ३९ वटा गैँडा कालगति वा प्रकृतिककारणले मरेका छन् । एक वर्षको अवधिमा यति धेरै गैँडा मरेको यो नै पहिलो पटक हो । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ३९ वटा गैँडा मरेको निकुञ्जको तथ्या‌ंकमा उल्लेख छ । 

२०५८ सालमा चोरी शिकारका कारण एकै वर्षमा ३७वटा गैँडा मरेका थिए । २०५८ सालपछि चोरी शिकारका कारण मर्नेको संख्या घटे पनि पछिल्लो समय प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेको छ ।

प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि थप अनुसन्धान र कारणकाे खोजी भइरहेको प्रमुख संरक्षण अधिकृत ढकालले बतउनुभयो ।

गैँडा भाले–भाले जुँधेर, लडेर, पाेथीले बच्चा पाउन नसकेर, दलदलमा फसेर, बिरामी भएर र बुढो भएर कालगतिबाट मर्ने गरेको देखिएको बताउँदै उहाँले गैँडाको संख्या बढ्दै गएका कारण प्राकृतिक कारणले मर्ने क्रम पनि बढेको जानकारी दिनुभयाे ।

पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा छन् । २०७३ साल चैत २५ गतेपछि चोरी–शिकारबाट गैँडा मरेका छैनन् । 


 

अन्तिम अपडेट: चैत ११, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया