एएफसी यू–२३ च्याम्पियनसिप छनोट : नेपाल कतारसँग ५ गाेलले पराजित

 चैत ११, २०७५ सोमबार ६:३४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

एएफसी यू–२३ छनोट प्रतियोगिता समूह ए अन्तर्गतको दोस्रो खेलमा नेपाल ५-० ले पराजित भएको छ । आयोजक कतारसँगको पहिलो हाफमा एक गाेलमात्र खाएको नेपालले दोस्रो हाफमा चार गाेल खान पुग्यो ।

खेलको २५ औं मिनेटमा नेपालका डिफेन्डर अनन्त तामाङले हसन अहमद पलङलाई डी–बक्सभित्र फल गरेपछि कतारले पेनाल्टी पाएको थियो । जुन पेनाल्टीलाई अब्दुल्लाह अलाहरकले गोल गरेका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको कतारले ५३औं मिनेटमा अग्रता दोब्बर बनायो । 

बसम अल रवीले करिव ३५ यार्ड टाढाबाट गरेको प्रहार सोझै गोलमा परिणत भएको थियो । ६०औं मिनेटमा नेपालले तेस्रो गोल खायो । खलिफा सादले हानेको बल रोक्ने क्रममा डिफेन्डर दिनेश राजवंशीले आफ्नै  पोस्टमा गोल गर्न पुगे । ७९औं मिनेटमा बासम अल रवीले ब्यक्तिगत दोस्रो गोल गर्दा कतारले चार गोलको अग्रता लियो । यसपटक उनले फ्रिकिक मार्फत उत्कृष्ट गोल गरे ।

इन्ज्युरी समयमा गोलकिपरको गल्तीका कारण नेपालले अर्को गोल खायो । अहमेद अल्बाखितले हानेको लामो प्रहार गोलकिपर अर्पन कार्कीले हातबाट फुस्काउँदा नेपालले ५–० को पराजय ब्यहोर्‍याे । अर्को चरणको आशा कायम राख्नका लागि पनि नेपालले खेल जित्नै पर्ने दबाब रहेका बेला ब्यहोरेको यो हारका कारण नेपाल बाहिरिएको छ । 

अब नेपालले अन्तिम खेलमा आफगानिस्तानविरुद्ध उत्रिनेछ । अफगानिस्तान पनि लगातार दुई हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । अफगानिस्तान पहिलो खेलमा कतारसँग २–० ले पराजित भएको थियो भने आइतबार भएको खेलमा ओमानसँग २–१ ले पराजित भयो ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

1 Comments

  • Kumar Bhandari

    March 25, 2019, 9:35 a.m.

    हा हा हा नेपालको फूटबल वा क्या बात /

  •  0 Reply

तपाईको प्रतिक्रिया