अख्तियारमा अधिकांश बेनामे उजुरी

 चैत ११, २०७५ सोमबार ८:८:४६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयमा अधिकांश उजुरी बेनामे पर्ने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार अन्र्तक्रिया कार्यक्रममा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म परेका १ हजार १ उजुरी मध्ये ५४ प्रतिशत बेनामे रहेका कार्यालयका उपसचिव नारायण पाण्डेले जानकारी दिनुभयो । 

आयोगमा चिठीपत्रमार्फत ८८४, इमेलमार्फत ८१ , टेलिफोनमार्फत १३ उजुरी परेका छन् । पछिल्लो ८ महिनामा कार्यालयले ४९२ उजुरीको फर्छ्याैट गरेको छ । यो संख्या प्राप्त उजुरी मध्ये ४९ दशमलव १० प्रतिशत हो ।

फर्छ्याैट भएका मध्ये २६ उजुरी विस्तृत अनुसन्धानमा छन् । जसमा प्रदेश मन्त्रिपरिषद र प्रदेश सभा सचिवालयले खरिद गरेका गाडीमा भएको अनियमितताको उजुरीसमेत रहेको छ । आयोगका अनुसार सबैभन्दा धेरै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका ३५७ उजुरी परेका छन् । शिक्षाका ३१० उजुरी पर्दा सबैभन्दा कम कृषि मन्त्रालयसँग सम्बन्धित १४ उजुरी परेका छन् ।

सबैभन्दा बढी उजुरी रुपन्देहीमा ३३८ परेका छन् भने सबैभन्दा कम रुकुम पूर्वमा ७ उजुरी परेका छन् । कपिलवस्तुमा १९७ तथा नवलपरासी पश्चिममा १७९ उजुरी परेको कार्यालयले बताएको छ । पछिल्लो सात महिनाको अवधिमा अख्तियारले रंगेहात पक्राउ गरेका ८ जनाबाट ३९ लाख ७७ हजार ५०० बरामद गरेको छ ।
स्थानीय तहको आन्तरिक आयको विनियोजन र खर्च पारदर्शी नभएको , स्थानीय तहमा करार कर्मचारी नियुक्ति गर्दा विधिसम्मत नभएको, नक्कली बिल भरपाई बनाई सरकारी रकमको हिनामिना गरेको लगाएतका उजुरी बढी पर्ने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रमुख सहसचिव तारानाथ अधिकारीले जानकारी दिनुभयो । 

अख्तियारको बुटवल कार्यालयको लुम्बिनी अञ्चलका ६ सहित प्युठान, रुकुम पश्चिम र रोल्पा गरी १० जिल्ला कार्यक्षेत्र रहेको छ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया