विद्यालयलाई साढे ६ लाख सहयोग, पत्रकार योगीलाई मोटरसाइकल प्रदान

 चैत ११, २०७५ सोमबार १०:२०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया – ठाकुरबाबा नगरपालिका ९ खुसालपुरमा रहेको संस्थागत विद्यालय बीबीएएस पब्लिक स्कुलको भौतिक संरचना निर्माणका लागि बेलायतमा रहेको वैज्ञानिक अनुसन्धान संगठन (साइन्टिफिक एक्सप्लोरेसन सोसाइटी) ले साढे ६ लाख रुपैयाँ सहयोग गरेको छ । 

बर्दिया राष्ट्रिय निकुञ्ज, टुरिष्ट गाइड तथा द डेन एडभेन्चरका संचालक राजन चौधरी, टुरिष्ट गाइड एवं बर्दिया प्रकृति संरक्षण क्लबका अध्यक्ष रामबहादुर शाही, टुरिष्ट गाइड एवं बीटीआरका महाप्रवन्धक रेशम थापा, पर्यटनकर्मी गौरी मालाकारलगायतको सिफारिस अनुसार सहयोग गरिएको वैज्ञानिक अनुसन्धान संगठन (साइन्टिफिक एक्सप्लोरेसन सोसाइटी) बेलायतका अध्यक्ष जोन बलास्फोर स्नेलले बताउनुभयो । 

बेलायती संस्थाका अध्यक्ष जोन बलास्फोर स्नेलले विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थीका लागि आवश्यक पर्ने विभिन्न खेल सामाग्रीसमेत बीबीएएस पब्लिक स्कुलका सञ्चालक तिलक रिजाललाई प्रदान गर्नुभएको छ । अध्यक्ष जोन बलास्फोर स्नेलले विद्यार्थीलाई वन्यजन्तु संरक्षण शिक्षामा जोड दिन आग्रह गर्दै विद्यालयको प्रगतिको कामनासमेत व्यक्त गर्नुभयो । ग्रामिण क्षेत्रमा रहेको विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ४ सम्म पढाई हुन्छ अहिले १ सय ४६ जना विद्यार्थी रहेका छन् ।

वैज्ञानिक अनुसन्धान संगठन (साइन्टिफिक एक्सप्लोरेसन सोसाइटी) बेलायतमा आवद्ध २० जना पर्यटकहरु आएर बर्दिया निकुञ्ज अवलोकनसँगै बर्दियाका वन्यजन्तुको अवस्थाका विषयमा विविध अध्ययन अनुसन्धान गर्न आएका बेला एक कार्यक्रमकाबीच उनीहरुले विद्यालयलाई सहयोग गरेको द डेनका सञ्चालक राजन चौधरीले बताउनुभयो । उनीहरु बुधबारदेखि ६ दिनका लागि बर्दिया निकुञ्ज अवलोकनमा जंगल क्याम्प गरी बसिरहेका छन् ।

पत्रकार भावुक योगीलाई मोटरसाइकल प्रदान
 
वन्यजन्तु र जैविक विविधता संरक्षणमा टेवा पुर्‍याएको भन्दै याे संस्थाले बर्दियाका उज्यालो सहकर्मी एवं रेडियो टाइगरका प्रवन्धक भावुक योगीलाई एउटा मोटरसाइकल प्रदान गरेको छ ।

बर्दिया निकुञ्जका बाघलगायतका वन्यजन्तु र जैविक विविधता संरक्षणका लागि सञ्चारमाध्यम मार्फत जनचेतनामूलक समाचार सम्प्रेषण, संरक्षण शिक्षा प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै पत्रकार योगीलाई समाचार संकलनसंगै संरक्षण पत्रकारितामा थप टेवा पुग्ने उद्धेश्यले मोटरसाइकल प्रदान गरिएको द डेन ठाकुरद्वाराका सञ्चालक राजन चौधरीले बताउनुभयो ।

कार्यक्रममा वैज्ञानिक अनुसन्धान संगठन (साइन्टिफिक एक्सप्लोरेसन सोसाइटी) बेलायतका अध्यक्ष जोन बलास्फोर स्नेलले पत्रकार योगीलाई होन्डा कम्पनीको साइन एसपी मोटरसाइकलको साँचो प्रदान गर्नु भएको हो । यसअघि यस संस्थाले बर्दिया निकुञ्ज कार्यालयलाई पनि एउटा मोटरसाइकल सहयोग गरेको थियो । 

 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया