आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता चैत २२ देखि: आवश्यक पूर्वाधार निर्माणकाे काम तीव्र

 चैत १२, २०७५ मंगलबार १९:१३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके - आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थलको भीआईपी प्यारापिट जडानको काम मंगलबारबाट सुरु भएको छ ।

सोमबार साँझ नेपालगञ्ज रङ्गशालामा आइपुगेको प्यारापिट एकहप्ता भित्र निर्माण सम्पन्न गर्ने गरी जडानको काम भइरहेको छ । चीनबाट सिंगापुर, मलेसिया, भारत हुँदै नेपालगञ्ज रंगशाला आइपुगेको प्यारापिट जडानको काम चिनियाँ इन्जिनियरहरुले गरिरहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिनुभयाे ।

डिजाइन अनुसार नै भिआइपी प्यारापिट जडानको काम भइरहेको बताउँदै उहाँले छिटो काम सक्न रातदिन काम गर्ने बताउनुभयाे ।

रंगशालामै खटिएका सदस्य सचिव विष्टले भिआइपी प्यारापिट निर्माणमा चाहिने आवश्यक जनशक्ति र सामग्री इन्जिनियरलाई उपलब्ध गराउन कर्मचारीलाई निर्देशन दिनुभएकाे छ । ‘इन्जिनियरलाई जे–जे चाहिन्छ उक्त सामान तत्काल उपलब्ध गराउनूस्,’ उहाँले भन्नुभयाे ।

केही दिन रुपेडिहा भन्सारमा रोकिएको प्यारापिटको सामान लिएर आएका आधा दर्जन गाडी सोमबार राति नेपालगञ्ज रंगशाला प्रवेश गरेका थिए ।

आठौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन हुने नेपालगञ्ज रंगशालामा भीआइपी प्यारापिट निर्माण ढिलाइले आठौँ राष्ट्रिय प्रतियोगिताको मिति तोक्न ढिलाइ भएको छ । दुई वर्षमै राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न सदस्य सचिव विष्टसँगै प्रदेश नं-५ का खेलप्रेमीहरु चैत्र महिनामै आठौँ राष्ट्रिय प्रतियोगिताको उद्घाटन गर्ने तयारीमा छन् ।

चैत २७ गते राष्ट्रपतिबाट औपचारिक रुपमा उद्घाटन हुने आठौँ राष्ट्रिय प्रतियोगिताको टिम गेम २२ गतेदेखि गर्ने राखेपको तयारी गरेको छ । ‘आठौँ राष्ट्रिय प्रतियोगिता २०४२ सालपछिको ऐतिहासिक उपलब्धि हुनेछ’, सदस्य सचिव विष्टले भन्नुभयाे । अहिले सवा अर्बभन्दा बढीको पूर्वाधार बनेको छ । आठौँ राष्ट्रिय प्रतियोगिताले नेपालगञ्जलाई पूर्वाधारयुक्त शहर बनाइदिएकोमा नेपालगञ्जवासी खुशी भएका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया