कांग्रेस महामन्त्री भन्छन् : राजतन्त्र र धर्मका बारेमा खै कसरी जिब्रो चिप्लियो, चिप्लियो ?

 चैत १३, २०७५ बुधबार १२:९:४४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले धार्मिक स्वतन्त्रताको विषयमा आफू स्पष्ट भएको भन्दै केही दिन पहिले राजतन्त्र र धर्मको बारेमा आफूले नियतवश नबोलेको भनी स्पष्टोक्ति दिनुभएको छ । 

नेपाल प्रेस युनियन दाङले बुधबार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री कोइरालाले भन्नुभयो, ‘खै कसरी बोलियो, मान्नुस् न जिब्रो चिप्लियो,  खै कसरी चिप्लियो चिप्लियो ।’

महामन्त्री कोइरालाले केही दिनअघि हिन्दू राष्ट्र र धर्मनिरपेक्षताका विषयमा जनमत संग्रह आवश्यक रहेको भन्दै विवादित अभिव्यक्ति दिनु भएको थियो । त्यस अभिव्यक्तिको कांग्रेस सभापति शेरबहादुर देउवाले नै आलोचना गर्नुभएको थियो । 

त्यस्तै महामन्त्री कोइरालाले सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध नलगाएर वार्ताका माध्यमबाट उसलाई मूलधारमा ल्याउनु पर्ने बताउनु भएको छ ।

विध्वंसात्मक गतिविधिलाई नेपाली कांग्रेसले कहिल्यै पनि साथ नदिएको भन्दै महामन्त्री कोइरालाले विप्लव नेतृत्व र उसका गतिविधिलाई प्रतिबन्ध लगाउँदा देशमा थप हिंसा जन्मने खतरा रहेको बताउनुभयो ।

वार्ता र सम्वादका माध्यमबाट प्रतिपक्षको साथ लिँदै देशका तमाम समस्याको समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह पनि गर्नु भएको छ ।

महामन्त्री कोइरालाले नेपाली कांग्रेसभित्रको गुट उपगुटका कारण पार्टी कमजोर भएको भन्दै आफू त्यसको अन्त्यका लागि लागिपरेको बताउनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया