विद्यालय जान हिँडेका प्रधानाध्यापक वेपत्ता

 असार १३, २०७५ बुधबार ९:१४:४७ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ –  जिल्ला शिक्षक संगठन ताप्लेजुङका सचिव मदनकुमार दाहाल मंगलबार बिहानदेखि वेपत्ता हुनुभएको छ । आठराई त्रिवेणी गाउँपालिका–२ मा रहेको गुप्तेश्वर माध्यमिक विद्यालय फुलबारीका प्रधानाध्यपकसमेत रहनुभएका ४७ वर्षका दाहाल वेपत्ता हुनुभएको हो । 

फुङलिङ नगरपालिका ६ मा रहेको आफ्नै घरबाट मंगलबार बिहान विद्यालय जान निस्कनु भएका दाहाल बेलुका राति साढे सात बजेसम्म पनि कसैको सम्पर्कमा नआएपछि खोजी गरिएको थियो । 

सचिव दाहालका श्रीमतीलगायत परिवार काठमाडौंमा बस्दै आउनुभएको छ । परिवारका सदस्य कसैसँग पनि सम्पर्क नभएपछि साँझदेखि खोजिकार्य सुरु गरिएको थियो । उहाँको मोबाइल पनि स्वीच अफ रहेको छ । 

दाहालले मंगलबार बिहान विद्यालय जाने क्रममा पाथीभरा याङवरक गाउँपालिका १ मेवाखाको एउटा होटलमा बिहान ६ बजे खाजा खानु भएको र विद्यालय जान भनि हिड्नुभएको भन्नेसम्म पत्ता लागेको दाहालका दाजु सुजन दाहालले बताउनुभयो । त्यसपछि १ घण्टाको पैदल यात्रामा पुगिने गुप्तेश्वर मा.विमा भने उहाँ पुग्नुभएको छैन ।  

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद खतिवडाले मंगलबार दिउँसो १ बजे व्यवस्थापन समितिको बैठक बोलाएको र प्रधानाध्यपक दाहाल नआएका कारण सहायक प्रधानाध्यपकले बैठक सञ्चालन गर्नुभएको बताउनुभयो । ‘प्रधानाध्यपक केही काम विशेषले जिल्ला सदरमुकामबाट आउनु भएन होला भन्यौँ, धेरै पटक मोकाइल फोनमा सम्पर्क गर्दा स्वीच अफ भनिरह्यो’ अध्यक्ष खतिवडाले भन्नुभयो ।   

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले संगठनका सचिव सम्पर्कमा नआएको खबर मौखिक रुपमा आएको बताउनुभयो । मौखिक रुपमा खबर आएपछि चारैतिर खोजिको लागि संयन्त्र परिचालन गर्ने तयारी गरिएको र छिटै खोजि कार्य गरिने उहाँले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया