युरियाले माटो बिगारेपछि जैविक मल बनाउँदै किसान

 असार १३, २०७५ बुधबार १०:५५:२३ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – फेदाप गाउँपालिका–२, ओयाक्जुङका नेत्र ढकालले चार वर्ष अघिसम्म आफूले बालीनालीमा युरिया मल राख्नुहुन्थ्यो । युरिया राखे धेरै उब्जनी लिन सकिन्छ भन्ने विश्वास थियो उहाँलाई । गाईबस्तुको मलभन्दा धेरै युरिया राखेको कारण ढकालले खेती गर्दै आउनुभएको जमीनमा अम्लियपना बढ्यो ।

युरियाले बर्सेनि उत्पादन त बढायो, तर त्यसले माटोमा कसरी असर गरिरहेको छ भनेर उहाँलाई पत्तै भएन । माटोमा अम्लियपना बढेपछि क्रमशः बर्सेनि उब्जनी घट्दै गयो । पहिलेको तुलनामा कम उत्पादन हुन थालेपछि बल्ल उहाँले बुझ्नुभयो कि युरिया प्रयोगले माटोको मलिलोपना नष्ट गर्यो‍ । त्यसपछि ढकालले थाल्नुभयो, अग्र्यानिक उत्पादनको अभियान ।

उहाँले आफूजस्तै रसायनिक मल प्रयोग गरेर खेती गर्दै आएका किसानलाई आफूले भोगेको समस्या बताउनुभयो, र अग्र्यानिक खेतीमा लाग्न प्रेरित गर्नुभयो । अहिले सिंगो ओयाक्जुङ गाउँ नै अग्र्यानिक खेतीमा लागेको छ ।

बारीमा जैविक खेती

ढकालले अहिले आफ्नै बारीमा टिमुर, हात्तिवार र सिमली उमार्नुभएको छ । सयपत्री, तीतेपाती जस्ता मौसमी वनस्पति पनि प्रशस्तै छन् । ती वनस्पतिको प्रयोगबाट बालीनालीका लागि उपयुक्त हुने प्राङ्गारिक जैविक विषादी बनाएर ढकालले खेती गरिरहनुभएको छ । गाउँघरमा पाइने वनस्पतिबाट खेतीमा लाग्ने रोग र किरा मार्न सकिने भएकाले जिल्लाका धेरै गाउँमा जैविक विषादी बनाउने लहर चलेको छ ।

यस्तो विषादी बनाउन कम खर्च लाग्ने र प्रयोगबाट कुनै पनि हानी नहुने बुझेपछि किसानले जैविक विषादीको प्रयोग बढाएका छन् । बालीनाली र तरकारीमा रासायनिक मलको प्रयोग घट्दै गएको छ । पछिल्लो समय नसर्ने रोगको मुख्य कारणका रूपमा पनि घातक विषादीको प्रयोग भएको भन्ने तथ्य बाहिर आएपछि किसानले पनि जैविक विषादी बनाएर प्रयोग गर्न थालेका छन् । किसानहरु आफैँ जैविक विषादी प्रयोग र प्रचारको अभियानमा लागेका छन् ।

किसान ढकाल भन्नुहुन्छ, ‘मैले गएको पाँच वर्षदेखि जैविक मल आफैँ बनाउँछु, र प्रयोग गरिरहेको छु ।’ आफूले बनाएको जैविक विषादीबारे गाउँका अरु किसानलाई पनि सिकाएपछि अहिले सिंगो गाउँ नै जैविक विषादीयुक्त गाउँको रुपमा परिचित बनेको छ । ओयाक्जुङ गाउँका किसानले अदुवा, अकबरे, अलैँची, बन्दा, आलु, स्याउ, केरा, मटरलगायत तरकारी र फलफूल बालीमा जैविक विषादीको प्रयोग गर्ने गरेका छन् ।

अर्ग्यानिक उत्पादनमा प्रतिस्पर्धा

मकै, धान लगायत अन्नबालीको खेतीमा पनि युरियालगायत रसायनिक मलको प्रयोग हुन छाडेको छ । किसानले प्राङ्गारिक मल आफँै बनाएर प्रयोग गर्न थालेका अर्का किसान नारायण ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँमा अर्ग्यानिक  उत्पादनको होडबाजी चलेको छ, सबैले जैविक विषादी आफैँ बनाउँछन् र प्रयोग गर्छन् ।’ ओयाक्जुङमा मात्रै हैन, जिल्लाका बसन्तपुर, सोल्मा, सुङनाम, ओख्रे, सुदाप, आङ्दिम, हमरजुङ, श्रीजुङ, पौठाक, मोराहाङ, आम्बुङ र पिप्ले लगायत गाउँका किसानले पनि जैविक विषादीको प्रयोग बढाएका छन् । 

विषादीमुक्त गाउँ बनाउने अभियान

आठराई गाउँपालिका–५, छातेढुंगाको करिब सय घरधुरी किसान रहेको खानीटार गाउँका किसानले सिंगो गाउँलाई पनि रासायनिक विषादीमुक्त गाउँ बनाउने अभियानमा छन् । आफूले उत्पादन गर्ने सबै कृषिवालीमा रसायनिक विषादीको प्रयोग निषेध गर्ने र जैविक मलको प्रयोगबाट अग्र्यानिक उत्पादन गरी कृषि पर्यटनको विकास गर्ने उनीहरुको अभियान छ ।

खानीटारका किसान चन्द्र तिवारी भन्नुहुन्छ, ‘हामीले आफूले खाने उत्पादनलाई अग्र्यानिक मात्रै बनाउने हैन, हाम्रो अग्र्यानिक उत्पादन हुने बगैँचामा पर्यटक आएर घुम्ने र अग्र्यानिक कृषि उपज खाएर रमाउने गाउँ बनाउने अभियानमा छौँ ।’

खानीटारका किसान सुन्तला, कागती, अकबरे, अलैँची, अम्लिसो, केरा लगायत व्यवसायिक खेती र मौरीपालन व्यवसायमा लागेका छन् । गाउँघरमै पाइने बनस्पतिको संयोजन गरेर किसानले जैविक मल बनाउँछन् । त्यसलाई उनीहरुले रासायनिक मलको ठाउँमा प्रयोग गर्छन् । 

यसरी बनाइन्छ जैविक विषादी

गाउँमै पाइने सयपत्री, टिमुर, अँसुरो, हात्तीबार, सिमली, लसुन, अकबरे खुर्सानी, तितेपाती, सुर्ती, बकाइनो, गोदावरी फूल, बोझो, सिस्नुलगायतका वनस्पतिको मिश्रणबाट जैविक विषादी बनाइन्छ ।

यसरी बनाएको विषादीले बाली नालीमा लाग्ने रोग किराको नियन्त्रणमा सहयोग पु¥याउँछ । ‘यी सबै वनस्पतिलाई टुक्राएर एउटा ड्रममा खाँद्नुपर्छ,’ ओयाक्जुङका किसान मालती जोगी भन्नुहुन्छ, ‘एक महिनासम्म हावा नछिर्ने गरी राखेपछि तयार भएको विषादी जति नै फेरि गहुँत फिट्नुपर्छ । एक महिना लगाएर तयार भएको विषादीलाई एक भागमा २० भाग पानी हालेर प्रयोग गर्नुपर्छ ।’ यस्तो विषादी रोगकिरा नियन्त्रणका लागि उपयुक्त हुने उहाँले बताउनुभयो ।

किसानले रासायनिक मल र विषादीको प्रयोगले उर्वर माटो मात्र नभएर प्रयोग र उपभोग गर्ने दुवैलाई गम्भीर समस्या निम्तिने गरेको बुझेपछि जैविक विषादीको प्रयोग गर्न थालेका हुन् । रासायनिक मलहरु जस्तैः युरिया, डीएपीलगायतको विकल्पमा समेत किसानले कम्पोष्ट र प्राङ्गारिक मल बनाएर प्रयोग गर्न थालेका छथर गाउँपालिका–२ का किसान लोकेन्द्र बुढाथोकीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबैका घरमा कमसेकम एक–दुई वटा गाईभैँसी छँदैछन्, ती नै गाईभैँंसीको मल र मुत्रबाट प्राङ्गारिक मल निर्माण गरेपनि पर्याप्त हुन्छ ।’ 

किसानले सुधारिएको गोठ प्रयोग गरेर प्राङ्गारिक मल निर्माण गरी प्रयोग गरिरहेका छन् । ओयाक्जुङका किसान नेत्र ढकालको गोठसँगै पाँच सय लिटर क्षमताको प्लाष्टिक ट्यांकी पनि राखिएको छ । ट्यांकीमा गाई, भंैसी र गोरुले गरेको पिसाब दैनिक रुपमा जम्मा हुन्छ । गाईवस्तुको दिशालाई सोत्तर र स्याउलासँग मिलाएर प्राङ्गारिक मल बनाउने गरेको उहाँले बताउनुभयो ।

किसानमा सचेतना बढ्दै

जिल्लाका किसानले रासायनिक मलको प्रयोगलाई क्रमशः घटाएर लगेका छन् । किसानले अग्र्यानिक उत्पादनको मूल्य र उपभोक्तालाई गर्ने लाभका विषयमा जानकारी पाएपछि जैविक मल र विषादीको प्रयोग बढाएका जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक भुवन बुढाथोकीले बताउनुभयो । उहाँले भन्नुभयोे, ‘कार्यालयले वार्षिक कार्यक्रममा पनि यस्ता तालिम र गोष्ठी सन्चालन गरेको छ, किसान आफैँ पनि सचेत बन्दैछन् ।’ जिल्लाका किसानलाई जैविक विषादी प्रयोग र अग्र्यानिक उत्पादनका लागि प्रोत्साहन गर्न विभिन्न गैरसरकारी संस्थाहरुले समेत सहयोग पु¥याएका छन् ।

जैविक विषादी र मल बनाई प्रयोग गरेपछि किसानको कृषि उपजले बजारको समस्या भोग्नुपरेको छैन । ‘हामीले किसानलाई एकीकृत गरेर अग्र्यानिक उत्पादनको बारेमा सिकाएका छौँ, प्राविधिक सहयोग कृषि कार्यालयले नै गरेको छ, यसरी किसानले अग्र्यानिक उत्पादनका लागि जैविक मलको प्रयोग गर्न थालेका छन्,’ देउराली सोसाइटीका कार्यक्रम संयोजक नरबहादुर लिम्बुले भन्नुभयो 

जिल्लाका ३ हजार बढी किसानलाई जैविक विषादी प्रयोग र फाइदाबारे जानकारी दिएको उहाँले बताउनुभयो । जिल्लामा अन्नबालीतर्फ मकै, धान, कोदो र गहुँको खेती हुन्छ । नगदेतर्फ अलैँची, अदुवा, सुन्तला, कागती, अकबरे र तरकारी खेती बढी छ । सबै बालीमा रोगकिराको संक्रमण छ । किसानले त्यस्तो रोग र किराको संक्रमणलाई हटाउन हानीकारक विषादी खरिद र प्रयोगका लागि महँगो शुल्क खर्चिन बाध्य छन् भने त्यसले उपभोक्ताको स्वास्थ्यमा समेत असर गरिरहेको छ । त्यस्तो जोखिमबारे थाहा पाएपछि किसान आफैँले जैविक मल बनाएर प्रयोग गर्न थालेको बताउँछन् ।  
 

अन्तिम अपडेट: चैत २४, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया