लगानी सम्मेलन सुरु, के–के छन् कार्यक्रम ?

 चैत १५, २०७५ शुक्रबार ७:५०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर सरकारले गर्न लागेको लगानी सम्मेलन २०१९ आजदेखि सुरु हुँदैछ । सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २५ आयोजना गरी कूल ७७ आयोजनालाई ‘शो केश’ मा राखेको छ । सम्मेलनलाई लक्षित गरेर राजधानी काठमाण्डाैको सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । 

सम्मेलनका क्रममा नै एक दर्जनभन्दा बढी परियोजनासँग समझदारीमा हस्ताक्षर गर्ने तयारीसमेत गरिएको छ । सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६०० बढी लगानीकर्ताको सहभागी हुनेछन् । यस्तै गैरआवासीय नेपाली सङ्घ र स्वदेशी लगानीकर्ताको सहभागिता पनि ६०० कै हाराहारीमा हुनेछ ।  

शुक्रबार बिहान ९ बजे उद्घाटन हुने कार्यत्रक्रममा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्नुहुनेछ । 

प्रधानमन्त्रीको सम्बोधन पश्चात् अर्थमन्त्री डा. युवराज खतिवडा, म्यान्मारका लगानी तथा विदेश आर्थिकसम्बन्धी मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी लगायतले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । 

शुक्रबार नै नेपालमा लगानीको अवसर विषयमा छलफल हुनेछ । बोर्डले तयार पारेको कार्यतालिका अनुसार ‘ऊर्जा र सूचना तथा प्रविधि’ विषयक छलफल र व्यवसायमा महिला र युवा उद्यमशीलताको विकासका विषयमा समेत छलफल हुनेछ । 

शनिबारसम्म चल्ने सम्मेलनमा कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी परियोजना प्रस्तुत गरिनेछ । सम्मेलनलाई नै ध्यानमा राखेर सरकारले हालै सङ्घीय संसद्बाट ‘सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन’ पारित गर्नुका साथै ‘विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐन’ समेत संशोधन गरिसकेको छ । 

सम्मेलनमा एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसञ्चालनसम्बन्धी उपाध्यक्ष होङ ली तथा माइक्रोसफ्ट, अमेजन, पावर चाइना, चाइना रेल्वे, डाबर, युनिलिभरलगायतका विश्व प्रसिद्ध कम्पनीका उच्चपदस्थ व्यक्तिको सहभागिता रहनेछ । सरकारको सङ्कल्पका रूपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई सफल बनाउनसमेत सम्मेलन महत्वपूर्ण भएको बताइएको छ ।

सम्मेलनमा ६४ करोडदेखि तीन खर्ब ५० अर्ब रुपैयाँसम्मका परियोजना प्रस्तुत हुनेछन् । मुलुकको समृद्धिको प्रमुख आधारका रुपमा रहेको ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखी आठ ठूला परियोजना पनि छनोट गरिएको छ । त्यसमा नलगाड जलविद्युत् आयोजना, एआर–६, सुनकोशी दोस्रो र तेस्रो, तमोर जलाशयुक्त आयोजना, पश्चिम सेती, तल्लो अरुण, पश्चिम सेती र एसआर–६ संयुक्तलाई प्रमुख आयोजनाका रुपमा राखिएको छ । बोर्डका अनुसार ३१ खर्ब रुपैयाँ बराबरको परियोजनाको सूची तयार गरिएको छ । 

विसं २०४६ को परिवर्तनपछि बनेको सरकारले विसं २०४८ मा लगानी सम्मेलनको आयोजना गरेको थियो । यस्तै दुई वर्ष पहिले २०७३ सालमा पनि लगानी सम्मेलनको आयोजना गरिएको थियो । यसपटकको सम्मेलनमा लगानीकर्तालाई परियोजनाको सम्पूर्ण जानकारी र अवस्थाबारे समेत जानकारी गराइने बताइएको छ । 

नेपालमा लामो राजनीतिक सङ्घर्ष र बलिदानपश्चात् स्थापित लोकतान्त्रिक गणतन्त्रको अबको एउटै उद्देश्य नेपाली नागरिकले न्याय, समानता, प्रगति, सुख र समृद्धिलाई समेत जोडेर लगानीमैत्री वातावरण सिर्जना गर्नेगरी अघि बढेको जानकारी गराउने लक्ष्य राखिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । 

सम्मेलनमा सातवटै प्रदेशका तर्फबाट पनि थप केही योजना प्रस्तुत गर्ने तयारी गरिएको छ । सम्मेलनकै लागि सातै प्रदेशका मुख्यमन्त्रीसमेत काठमाण्डौ आइपुग्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रममा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, यहाँ रहेका विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपालका निजी क्षेत्र, गैरआवासीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहनेछ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया