आफ्ना बडीगार्ड शेराका छोरालाई बलिउडमा लञ्च गर्दैछन् सलमान

 चैत १५, २०७५ शुक्रबार १३:४८:४८ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता सलमान खान नयाँ पुस्तालाई बलिउडमा अवसर दिने अभिनेताको रुपमा परिचित छन् । सलमान खानले नै अवसर दिएर अभिनेता जहीर इकवाल र प्रनुतन बहलको डेब्यू फिल्म ‘नोटबुक’ यही मार्च २९ मा रिलिज हुँदैछ । अब भने सलमान खान उनका बडीगार्ड शेराका छोरा टाइगरलाई लञ्च गर्ने तयारीमा छन् । 

सलमान लामो समयदेखि टाइगरलाई बलिउड डेब्यू गराउने तयारी गरिरहेका थिए । तर उनले चाहेको जस्तो फिल्मको स्क्रिप्ट नभेटेका कारण अहिले उनी त्यसैको खोजीमा छन् । खबरहरुका अनुसार, सलमान अहिले टाइगरका लागि फिल्महरुको स्क्रिप्ट आफैं पढिरहेका छन् । तर उनलाई अझै चित्त बुझ्दो स्क्रिप्ट फेला परेको छैन । 

टाइगर अक्सर सलमान खानका साथ विभिन्न पार्टी तथा कार्यक्रममा एकसाथ सहभागी हुने गर्छन् । २५ वर्षीय टाइगर सलमान खानको बडी र लुक्सदेखि निकै प्रभावित भएको बताइन्छ । उनले बलिउड डेब्यूको लागि भनेर विभिन्न प्रोफेशनल ट्रेनिङ पनि लिएका छन् । यसैगरी टाइगरले सलमान खानको फिल्म ‘सुल्तान’ मा असिस्टेन्ट डाइरेक्टरको काम पनि गरेका थिए । 

टाइगरका बुवा शेरा करिब २१ वर्ष देखि सलमान खानको सुरक्षा गरिरहेका छन् । सलमान खान जहाँ जान्छन्, शेरा सधैं सलमानको बडीगार्ड भएर साथमै रहन्छन् । सलमानले जानुपर्ने स्थानमा शेरा १ दिन अगावै त्यहाँको सबै जानकारी लिने गर्छन् । शेरा मुम्बईमा सलमान खानको छिमेकी थिए । पछि उनी सलमान खानको बडीगार्डको रुपमा नियुक्त भए ।

सलमान खानको सल्लाहमा शेराले सन् २०१७ मा आफ्नै इभेन्ट कम्पनी खोलेका छन् । साथै उनको अर्काे कम्पनी ‘टाइगर सेक्यूरीटी’ पनि सञ्चालन गरिरहेका छन् । सलमान खानको बडीगार्डको काम सुरु गर्नु अघि शेरा भारत आएका हलिउड कलाकारहरुलाई सुरक्षा दिने काम गर्ने गर्थे । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया