लगानी सम्मेलनको पहिलो दिन : विदेशीले गरे प्रशंसा, नेपाली मख्ख !

 चैत १५, २०७५ शुक्रबार २१:२:४ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – निकै महत्वका साथ प्रचारप्रसार गरिएको नेपाल लगानी सम्मेलनको पहिलो दिन उत्साहपूर्वक सकिएको छ । 

पहिलो दिन उद्घाटन समारोहदेखि नेपालमा लगानीका अवसर, सूचना प्रविधि,  उर्जा, पर्यटनलगायतका सत्र पनि आयोजना भए । 

उद्घाटनदेखि विभिन्न सत्रमा नेपालमा लगानीको वातावरण बन्दै गएको विदेशीको भनाइ थियो । नेपालले लगानीका लागि छुट्याएका ७७ ओटा परियोजनामा पनि विदेशीले चासो दिए ।

यस्तै नेपालको तर्फबाट विभिन्न सत्रमा प्रस्तुति दिएका नेपालका मन्त्री र कर्मचारी तथा निजी क्षेत्रले नेपालमा लगानीका लागि विदेशीलाई आग्रह गरे र अहिले भैरहेका कम्पनीले मनग्य नाफा कमाएर उनीहरुको देशमा लगेका उदाहरण पनि सुनाए । 

प्रधानमन्त्रीको ‘दमदार भाषण’

लगानी सम्मेलनमा आएका ४० देशका झण्डै ६ सय पाहुनालाई अर्थमन्त्री युवराज खतिवडाले स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभयो । उहाँले नेपालमा लगानीका लागि कानुन सजिलो बनाइएको र नाफा विदेश लैजान सहज भएको बताउनुभयो । 

दोस्रो वक्ताकै रुपमा बोलेका प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीको ध्यान तान्नेगरी भाषणको सुरुवात गर्नुभयो । ओलीले २८ मिनेट सम्मेलनलाई सम्बोधन गर्नुभयो । 

‘अ भेरी गुड मर्निङ टु अल, वेलकम टु द ल्याण्ड अफ् बुद्ध एन्ड सगरमाथा’, ओलीले यसरी भाषणको सुरुवात गर्नुभएको थियो । भाषणका क्रममा उहाँले नेपालीहरुसँग ऐतिहासिक घटनाक्रम भएको इतिहास भएको र सयौँ हिमालले सधैँ विदेशीलाई स्वागत गरिरहेको बताउँदा तालीको गडगडाहटले हल गुञ्जिएको थियो ।  

उहाँले विदेशीलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । लगानीकर्ताको सानो लगानीले पनि नेपालमा ठूलो प्रभाव पर्न सक्ने प्रधानमन्त्रीले बताउनुभयो । उहाँले एक वर्षअघि आफूले राराबाट सम्बोधन गर्दै नेपाल अब विकासको बाटोमा अघि बढ्छ भनेको र त्यसैअनुसार अब देश अघि बढ्ने पनि बताउनुभयो । ‘देशमा निर्वाचित सरकार छ, हामी विकास र लगानीको सुरक्षामा कुनै कम्पर्माइज गर्दैनौं, ढुक्क भएर लगानी गर्नुहोस्’ प्रधानमन्त्रीले भन्नुभयो ।

आर्थिक विकासबिना राजनीतिक सुधारले मात्र महत्व नराख्ने भन्दै प्रधानमन्त्रीले लगानीकर्तालाई झण्झट नहुनेगरी कानुन सुधार गरिएको जानकारी पनि दिनुभयो । उहाँले पूर्वाधार विकास सरकारको मुख्य प्राथमिकता भएको भन्दै निर्यातका लागि समस्या नभएको र आन्तरिक बजार पनि बढेको बताउनुभयो ।

नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता उत्साहित

सम्मेलनको उद्घाटन सत्रमा विश्व बैंकका उपाध्यक्ष हार्टविग स्याफर, एसियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, म्यानमारका विदेश आर्थिक सम्बन्ध मन्त्री यु थाउङ टुङलगायतले नेपालको प्रशंसा गरे । 

हार्टविग स्याफर - उपाध्यक्ष, विश्व बैंक

विश्व बैंकका उपाध्यक्ष हार्टविग स्याफरले नेपाले गरिबी घटाउनेदेखि कानुनी सुधारमा नेपालले धेरै सुधार गरेको भन्दै दमदार भाषण गर्नुभयो । ‘नेपालले लगानी आकर्षित गर्न  पछिल्ला वर्षमा धेरै कानुनी सुधार गरेको छ, तर यो सुधार कार्यान्वनयमा देखिएमा झनै राम्रो हुनेछ’, विश्व बैंकका उपाध्यक्ष हार्टविग स्काफरले भन्नुभयो, ‘कानुन पालना गर्ने निकायले कार्यान्वनयनमा ध्यान दिनुपर्छ ।’

अहिलेको सरकार निजी क्षेत्रप्रति पनि सकारात्मक रहेको भन्दै सरकार र निजी क्षेत्र अनि वैदेशिक लगानीले देशका आर्थिक सुचकांक सुधार हुने उहाँको भनाइ छ । 

उपाध्यक्ष स्याफरले नेपाल चीन र भारतजस्तो विश्वमै उदयमान र बलिया देशको बीचमा रहेकाले यहाँ लगानी गर्दा उत्पादन  ठूलो बजारसम्म पुग्ने भएकाले लगानी गर्न आग्रह गर्नुभयो । 

सिजिन चेन - उपाध्यक्ष, एसियाली विकास बैंक

एसियाली विकास बैंकको तर्फबाट लगानी सम्मेलनलाई बधाई दिएका सिजिन चेनले पनि नेपालमा शान्ति सुरक्षा बढेको भन्दै खुसी व्यक्त गर्नुभयो ।  नेपालले राजनीति क्षेत्रमा जस्तै आर्थिक क्षेत्रमा पनि सुधार गर्दै गएका उहाँको भनाई छ । 

‘विदेशी होस् या स्वदेशी लगानीकर्ता, नेपालले उनीहरुका लागि राम्रो व्यवस्था गर्छ भन्ने लक्षण देखाएको छ, यसको  प्रतिफल पनि राम्रो नै हुनेछ’, उपाध्यक्ष चेनले भन्नुभयो । 

शेहजाद नासिम - मेनहार्डट ग्रुप, सिंगापुर

उद्घाटन समारोहमा सिंगापुरको मेनहाड्र्ट ग्रुपका सीईओ शेहजाद नासिमले पनि सम्बोधन गर्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्नुभयो । ओलीले विश्वका ठूला आर्थिक मञ्चमा नेपालको विकासको लागि गरेको आग्रह र प्रतिकद्धताको तारिफ गर्नुभयो । 

‘यो सम्मेलन गरेर नेपालले विश्वलाई अब नेपाल पनि व्यापारका लागि खुला छ भन्ने सन्देश दिएको छ, यसले राम्रो आशाको सञ्चार गराउनेछ’, उहाँले भन्नुभयो । उहाँले नेपालले प्राकृतिक सम्पदाको प्रचारप्रसार गरेरै पनि लगानी भित्राउन सक्ने र पूर्वाधार बनाउन सक्ने सुझाव दिनुभयो । 

‘हामीसँग नेपालको जस्तो सगरमाथा छैन, तर पनि वार्षिक १ करोड ७० लाख पर्यटक सिंगापुर भित्राएका छौँ, नेपालले पनि प्रयास गरेमा सक्छ’, उहाँले भन्नुभयो । 

एमजी जर्ज मूटहूट - अध्यक्ष, मूटहूट ग्रुप भारत

सम्मेलनको उद्घाटन सत्रका वक्ता बनेका भारतको मूटहूट ग्रुपका अध्यक्ष एमजी जर्ज मूटहूटले पनि नेपालको प्रशंसा नै गर्नुभयो । 

‘नेपालमा लामो समयपछि स्थायित्वतर्फ गैरहेको देखेका छौँ, आशा छ केपी शर्मा ओलीको पाँच वर्षे कार्यकालमा नेपालले फड्को मार्नेछ, हामी जस्ता थुप्रै कम्पनीको उत्कृष्ट गन्तव्य नेपाल बन्न सक्नेछ’,  मूटहूटले भन्नुभयो, ‘प्रधामन्त्रीको बडी ल्याङ्ग्वेज हेर्दा पनि नेपालमा धेरैभन्दा धेरै विदेशी लगानी आओस् भन्ने देखिन्छ, वातावरण बन्दै गएको जस्तो लागेको छ ।’

उहाँले पहिले नेपाल आएको स्मरण गर्दै अहिले धेरै सुधार भएको पनि बताउनुभयो । ‘म सन् १९८२ मा नेपाल आउँदा निकै अभाव र समस्या मात्रै थियो, अहिले आर्थिक रुपमा उदीयमान देश हुन खोज्दैछ, यसमा नेपालले थप प्रगति गर्नुपर्छ ।’

याे पनि पढ्नुहोस् । 

विदेशीले बहाना मात्रै गरेका हुन कि नेपालमा लगानी गर्न साँच्चै झण्झट छ  ?

विदेशीलाई देखाउने परियोजना यस्ता : लगानी गरौँ गरौँ जस्ता

‘नेपालको मुहार फेर्ने परियोजनाको लागि पैसा छैन, त्यसैले लगानी सम्मेलन’

अन्तिम अपडेट: चैत ७, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया