फोकर मित्रता जहाजको अपहरण

 चैत १६, २०७५ शनिबार ९:१९:९ | आर.के. यादव
unn.prixa.net

पाकिस्तानले कब्जा गरेको कश्मीर(पीओके)मा मोहम्मद मकबुल बट्ट नाम गरेको एक आतङ्कवादीले विध्वंसकारी व्रिmयाकलापहरू गर्न एउटा आतङ्कवादी सङ्गठन राष्ट्रिय मुक्ति मोर्चा(नेसनल लिबरेसन फ्रन्ट)को गठन गर्‍यो ।

मोर्चाले भारतबाट जम्मु र कश्मीरको मुक्तिका लागि अलफतह नामको आन्दोलन सुरु गर्‍यो र आफ्ना धेरै सदस्यहरूलाई विध्वंसात्मक क्रियाकलापका लागि त्यहाँ पठायो । गुप्तचर एजेन्सीहरूको सहयोगले जम्मु कश्मीर पुलिसले उनीहरूका ३६ जना सदस्यहरूलाई पक्राउ गर्‍यो ।

यस आन्दोलनबारे भित्री जानकारी हासिल गर्न ‘रअ’ले हासिम कुरैसी नामको आफ्नो गुप्तचरलाई घुसपैठ गराउने निर्णय लियो किनकि ऊ पाकिस्तानले कब्जा गरेको भूभागबारे र उसको गुप्तचर क्रियाकलापबारे पनि जानकार थियो । तर कार्यस्थलमा पुगेपछि उसले आफ्नो इमानदारिता परिवर्तन गर्‍यो र पाकिस्तानी गुप्तचर व्रिmयाकलापका लागि काम गर्ने भयो । कुरैसी आफैले स्वीकार गरेको थियो। उसलाई मकबुल बट्टको निर्देशनमा पाकिस्तानले कब्जा गरेको कश्मीरमा आईएसआईका गुप्तचरहरूले तालिम दिएका थिए । उसलाई पाकिस्तानको पूर्वपाइलटले विमान अपहरणको तालिम दिए । 

पाकिस्तानी गुप्तचर संस्थाले जनवरी १९७१ को मध्यतिर कुरैसीलाई जम्मु र कश्मीरमा पठायो र त्यसैबेला सीमा पार गर्ने बेलामा उसलाई बीएसएफले पक्राउ गर्‍यो । भारतीय गुप्तचर एजेन्सीहरूले सोधपुछ गर्दा उसले सबै भेद खोल्यो र आफूलाई पाकिस्तानी गुप्तचर संस्थाले श्रीनगर विमानस्थलबाट भारतीय जहाज अपहरण गर्न पठाएको कुरा बतायो ।

उसले इन्डियन एयरलाइन्समा कार्यरत तत्कालीन प्रधानमन्त्री श्रीमती इन्दिरा गान्धीका छोरा राजीव गान्धी पाइलट भएर उडाएको जहाज अपहरण गर्नुपर्ने थियो । यसबारे जानकारी पाएपछि काओले पाकिस्तानी गुप्तचर संस्थालाई उनीहरूकै खेलमा परास्त गर्न विमान अपहरणको प्रतियोजना (काउन्टरप्लान) बनाए । यस योजनालाई भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले स्वीकृत गरिन् । 

‘रअ’ र बीएसएफले हासिम कुरैसीलाई भारतीय अधिकारीहरूबाट लाग्ने अभियोगबाट बच्न आफ्ना लागि काम गर्न फकाए । उनी फकिए पनि । कुरैसीलाई श्रीनगर विमानस्थलबाट इन्डियन एयरलाइन्सको जहाज अपरहरण लाहोर लैजान दिने र उनले त्यहाँ पुगेर विमानमा सवार यात्रुहरूको जीवनको सट्टामा भारतका जेलहरूमा कैद रहेका अलफतहका ३६ जना सदस्यहरूको रिहाई माग गराउने गरी एउटा योजना गरियो ।

आफूलाई त्यसताकाका पाकिस्तानमा भइरहेको राजनैतिक सङ्कटका प्रमुख रचयिता जुलफिकर अली भुट्टोसँग कुरा गर्न नदिउन्जेलसम्म विमानको नियन्त्रण पाकिस्तानी अधिकारीहरूलाई नदिन उनलाई निर्देशन दिइयो । कुरैसीले भुट्टोसँग भेट गरिसकेपछि सो जहाज उडाउने योजना पनि काओले बनाए । यसो गर्दा पाकिस्तानी अधिकारीहरूका आँखामा कुरैसीलाई जेलमा रहेका अलफतहका सदस्यहरूप्रति काम गरेको देखाउन सकिन्थ्यो । यस अपरेसनलाई अति गोपनीय राख्न अन्तिम योजनाले अन्तिम रूप नलिउन्जेल कुरैसीलाई बेङ्गलोरस्थित ‘रअ’को सुरक्षित भवनमा पुर्‍याइयो । यो कुरा जम्मू-कश्मीर सरकार तथा अन्य गुप्तचर संस्थाहरूलाई समेत जानकारी गराइएन । 

योजनालाई अन्तिम रूप दिइसकेपछि जनवरी ३०, १९७१ का दिन हासिम कुरैसीलाई उनकै नातेदार असरफ कुरैसीको सहयोगमा श्रीनगर विमानस्थलबाट इन्डियन एयरलाइन्सको फोकर मित्रता विमान गङ्गालाई २६ जना यात्रुहरूसहित अपहरण गर्न लगाइयो र विमानका पाइलट क्याप्टेन कच्रुलाई लाहोर विमानस्थलमा लैजान दबाब दिइयो । ‘रअ’ले उनलाई एउटा ग्रिनेड र खेलौना पेस्तोल लैजान दियो । लाहोर विमानस्थलका पाकिस्तानी अधिकारीहरूले विमानलाई पाक नियन्त्रित कश्मीरका राष्ट्रिय मुक्ति मोर्चाका कार्यकर्ता लडाकुहरूले अपहरण गरेको भनी जानकारी दिएपछि विमान ओर्लन दिए ।

अल इन्डिया रेडियोले तुरुन्तै यस अपहरणको खबर प्रसारण गर्‍यो र सम्पूर्ण विश्वले यो अपहरणका पछि पाकिस्तानी सरकारको हात रहेको थाहा पायो । कुरैसीले ‘रअ’ले निर्देशन गरेअनुसार यात्रुहरूको जीवनरक्षाको बदलामा भारत सरकारको नियन्त्रणमा रहेका ३६ जना अलफतहका सदस्यहरूको रिहाइको माग गरे र पाकिस्तानी अधिकारीहरूलाई भुट्टोसँग विमानस्थलमा भेट गर्ने व्यवस्था मिलाउन भने । प्रकट रूपमा भारत सरकारले आफ्नो नियन्त्रणमा रहेका ३६ जना अलफतहका सदस्यहरूलाई रिहा गर्न मानेन । पाकिस्तानी अधिकारीहरूले कुरैसीलाई लाहोर विमानस्थलमा खुला रूपमा हिँडडुल गर्न दिए ।

त्यहाँ उसले टेलिफोन प्रयोग गर्‍यो र पत्रकारहरूसँग भेट गर्‍यो । अर्को अपहरणकर्ता यात्रुहरूलाई विमानमा रुँगेर बस्यो । भुट्टोले कुरैसीसँग फेब्रुअरी १, १९७१ का दिन भेट गरे र उनीहरूले केही समयका लागि विमान नजिकै कुराकानी गरे । त्यसपछि यात्रुहरूलाई मुक्त गरी विमानलाई ध्वस्त बनाइयो । परस्पर विरोधी रिपोर्टहरू आइरहे तापनि पछि सो विमानलाई पाकिस्तानी गुप्तचरहरूले बमले उडाएको पुष्टि भयो । यही कुरा हासिम कुरैसीले पछि जेलमुक्त भएपछि स्वीकार गरे । सबै यात्रुहरू एवम् चालकदलका सदस्यहरूलाई अमृतसर हुँदै सडकमार्गबाट भारत पठाइयो । 

पाकिस्तानी सरकारले सुरुमा कुरैसीलाई राजनैतिक शरण दिएर स्वतन्त्रता सेनानीको उपाधि दियो । पाकिस्तानका धेरैजसो नेताहरूले यस घटनाको निन्दा गरे तर भुट्टोले भने यस विषयमा केही बोलेनन् । यसबाट सो अपहरण भुट्टोको सहमतिमा पाकिस्तान सरकारले गराएको हो भन्ने भारतले गरेको दाबी पुष्टि भयो । यो ‘रअ’का प्रमुख आर.एन. काओको मास्टरस्ट्रोक योजना थियो, जसले यस अपहरणको अन्तर्राष्ट्रिय भर्त्सना निम्त्यायो । यस परिस्थितिको फाइदा लिँदै भारत सरकारले फेब्रुअरी १९७१ मा आफ्नो आकाशबाट हुने सबै पाकिस्तानी उडानहरूमा प्रतिबन्ध लगायो । साथै पश्चिमी पूर्वी पाकिस्तानका उडानहरू श्रीलङ्का भएर गर्नुपर्ने हुनाले आर्थिक क्षति गराउन सफल भयो ।

केही समयपछि पाकिस्तानी जनसाधारणले अपहरणकर्ताहरू कुनै स्वतन्त्रता आन्दोलनका नभएर भारत सरकारका एजेन्टहरू थिए भन्ने कुरा थाहा पाए । आन्तरिक र बाहिरी दबाबका कारण १९६८ मा रिहा गरिएका शेख अब्दुल्लाहले समेत अपहरणकर्ताहरूलाई भारतीय एजेन्ट भएको दोष लगाए । यसपछि पाकिस्तान सरकारले एउटा जाँचबुझ आयोग गठन गर्‍यो । सो आयोगले विमान अपहरणको काण्ड भारतीय गुप्तचर एजेन्सीहरूले गरेका शृङ्खलाबद्ध कार्बाहीहरूमध्येको पराकाष्ठा भएको निष्कर्ष निकाल्यो ।

भारतीय आकाशमाथि पाकिस्तानी विमानहरूको उडानमा प्रतिबन्ध लगाइएपछि पूर्वी पाकिस्तानमा मुजिबको आन्दोलनलाई दमन गर्न हवाइ मार्गबाट सैनिकहरू पठाउने याह्या खानको योजनालाई बाधा गर्‍यो । पछि अमेरिकी सरकारले गोपनीय रूपमा श्रीलङ्का र हिमालय श्रेणी हुँदै हवाइ मार्गबाट सैनिक ओसार्न पाकिस्तानलाई मद्दत गर्‍यो ।

यो १९७१ को बङ्गलादेशको मुक्ति युद्धका लागि ‘रअ’को मास्टर स्ट्रोक थियो । तर यो कुरा पाकिस्तान सरकारले बुझ्न सकेको थिएन । उसले हासिम कुरैसी अल¬ फतह आतङ्कवादी समूहको सदस्य थिएन भन्ने तथ्य कहिल्यै अस्वीकार गरेन ।

यस अपहरण काण्डमा हासिम कुरैसी र असरफ कुरैसीलाई अन्य चारजनासहित पछि विशेष अदालतमा भारतीय गुप्तचर संस्थाका लागि काम गरेको अभियोग लगाइयो । उसलाई १९ वर्षको कैद सजाय सुनाइयो । १९८० मा जेल मुक्त भएपछि हासिम नेदरल्यान्ड गयो । 

त्यसपछि ‘रअ’का अधिकारीहरूले नेदरल्यान्डस्थित आफ्नो प्रमुखलाई हासिमलाई पत्ता लगाउन निर्देशन दिए । उसलाई तुरुन्तै पत्ता लगाइयो र नेदरल्यान्डमा उसको पुनस्र्थापनाका लागि सबै किसिमको सहयोग प्रदान गरियो । गोपनीय अपरेसनलाई विश्वसनीयता प्रदान नगरेको विषयलाई लिएर ‘रअ’का अधिकारीहरूले डिसेम्बर २००० मा हासिमलाई भारत ल्याए । भारतीय दण्डसंहिताका विभिन्न खण्डहरूअनुसार उसलाई गङ्गा अपहरण काण्डमा गिरफ्तार गरी मुद्दा लगाइयो ।

एउटै काण्डमा  दुईटा देशमा सजाय भोगिसकेको भए तापनि ऊ अझै एउटै अभियोगमा श्रीनगर अदालतमा मुद्दा खेपिरहेको छ । ‘रअ’का अधिकारीहरूले अझै पनि हासिमको रेखदेख गरिरहेका छन् । यद्यपि मे २००८ मा ‘रअ’का सचिव अशोक चतुर्वेदीले छोटो अवधिका लागि उसको नियमित क्षतिपूर्ति रोकिदिए ।

तर ‘रअ’का नयाँ सचिवले बितेका तथ्यहरू जाँच गरी क्षतिपूर्ति पुनः चालू गरिदिए । ऊ अहिले जम्मु र कश्मीरको मुख्य धारामा संलग्न छ र कश्मीरी मानिसहरूका लागि कल्याणकारी सामाजिक कार्यमा व्यस्त छ । 

- ‘रअ’का पूर्व अधिकृत आर.के. यादवकाे पुस्तक ‘मिसन रअ’ काे नेपालीमा अनुवाद कुमुद अधिकारीले गर्नु भएकाे छ । 


 

अन्तिम अपडेट: चैत १०, २०८०

आर.के. यादव

यादव भारतीय गुप्तचर संस्था ‘रअ’ का पूर्व अधिकृत हुन् । उनको ‘मिसन रअ’ र ‘न्यूक्लियर बम्ब इन गङ्गा’ नामक पुस्तक प्रकाशित छन् । 

तपाईको प्रतिक्रिया