बुवाको कविताबाट थालेको यात्रा ‘ऐना’ हुँदै ‘सखी’सम्म आइपुग्यो

 चैत १६, २०७५ शनिबार १३:१४:२९ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै – एउटा कुशल सर्जकले असल सिर्जना जन्माउँछ वा असल सिर्जनाले सफल सर्जक ? यो आफैमा कुखरा पहिला कि अण्डा पहिला भनेजस्तै हो । सबैका आ–आफ्ना मत होलान् तर २०७२ सालको मदन पुरस्कार विजेता रामलाल जोशी भने दिवंगत बुवाको डायरीमा भेटिएको एउटा कविताले आफूमा यी दुवै कुराको विजारोपण गराएको बताउँछन् ।

ताते-ताते गर्दै जीवनको बाटोमा डोर्‍याउने बुवाको हात त चार वर्षको कलिलो उमेरमा नै गुमाउन पुगे जोशीले । तर त्यही हातले लेखेको एक कविताले भने मदन पुरस्कार हुँदै सखी उपन्याससम्म पुर्‍याे । बुवाले सानो डायरीमा लेखेर जानुभएको त्यो सानो कविता रामलाल जोशीका लागि ठूलो संसारको फराकिलो ढोका सावित भयो । ‘त्यो कविता ऐना, सखी लगायत मेरा सम्पूर्ण सिर्जनाहरुको बिउ हो जसले मभित्र भएको सिर्जनात्मक टुसाहरु अंकुरण गरायो ।’ 

उनी भन्छन्, ‘त्यो कविता मेरा लागि केवल कविता मात्रै थिएन जीवनका लागि कोरिदिएको मार्ग थियो ।’ कक्षा चारमा पढ्दा स्कुलको एउटा कार्यक्रममा जोशीले बुबाको डायरीको कविताका केही शब्द मात्रै परिर्वतन गरेर सुनाएको त्यो दिन आज पनि सम्झिन्छन् । जहाँबाट उनको साहित्यिक यात्रा प्रारम्भ भयो । त्यो कार्यक्रम कुनै प्रतियोगिता नभए पनि कविता मन पराएर दुई जनाले खुसी भएर १०/१० रुपैयाँ दिएको सम्झन्छन् र भन्छन्, ‘ त्यो नै मेरा लागि जीवनको सबैभन्दा ठूलो पुरस्कार थियो ।’ 

बाल्यकालमा अलिक जिद्दी र उट्पटयाङ थिए 

हेर्दा सौम्य र शान्त स्वभावका जोशीलाई बाल्यकालको बारेमा सोध्दा मुस्कुराउदै भन्छन्, ‘बाल्यकालमा अलिक जिद्दी र उट्पटयाङ थिए ।’ आफूले सानो छँदा निक्कै उट्पट्याङ गरेको बताउने उनी पत्रकारदेखि प्रधानपञ्चसमेत भएको बताउँछन् । स्वभाव असाध्यै जिद्धी, मकैको बोरा फाल्नेदेखि साथीका सठका टाँक छुटाउनसमेत उनी पछि परेनन् । दौँतरीको बीचमा आफै ठूलो हुनुपर्ने, अरुले सानो रुख चढे आफू त्योभन्दा ठूलो रुख चढ्नुपर्ने उनको स्वभाव थियो । उट्पट्याङकै बीचमा पनि आफूले केही राम्रो काम गरेको उनी सम्झन्छन् ।

कक्षा ५ मा पढ्दा साथीको समूह बनाएर पञ्चायत भेला गर्ने भन्दै आफूले बाटो, सरस्वतीको मन्दिर, बनाएको उनी बताउँछन् । हाँस्दै उनी भन्छन्, ‘मैले गरेको मेहनतलाई देखेर, मेरा कलिला काँधले ठूला ढुङगा, माटो र काठको बोझ देखेर सायद सरस्वती माता पनि खुसी हुनुभयो की ?’ गाउँका कसैले नपत्याएको काम गर्दा ठूलै काम गरेको भान हुने उनी बताउँछन्  ।

त्यति मात्र होइन, चन्दा उठाएर सौगात नामको पत्रिकासमेत निकालेको र आफू त्यसको सम्पादक भएको जोशी बताउँछन् । यो २०४८ सालको कुरा थियो । त्यो बेला नेपालमा चुनाव पनि चलिरहेको थियो । राम्रो कामका लागि  नेताहरुसँग चन्दा उठाउने उत्तम बेला त्यो भएको उनको भनाइ छ । त्यतिबेला १२ हजार रुपैयाँमा १ हजार प्रति पहिलोपटक सौगात पत्रिकासमेत निकाल्न भ्याए । 

शिक्षण पेसालाई निरन्तरता दिन सकेनन् 

२०३१  फागुन १७ गते डोटीको कानाचौरमा जन्मिएका रामराल जोशीलाई पिता हरिभक्त जोशीको देहावशानपछि आमा तुलसादेवी जोशीले आफूहरुलाई हुर्काउन र जीवन धान्न गर्नुपरेको संघर्षले संघर्षको परिभाषा र स्वरुपसँग अवगत गरायो । जीवन भोगाइका अनेकौँ संघर्षहरुको सामना गर्न प्रेरणा प्रदान गर्यो । जीवनमा केही गर्नुपर्ने अठोट पलायो र हरेक कुराप्रतिको गाम्भिर्यता र लगनशीलता थपिदियो ।  

बाल्यकाल मात्रै होइन, किशोरावस्था र युवावस्थामा पनि जोशीले जीवनका अनेकौँ पाटाहरु नजिकबाट नियाले र अस्तित्वका लागि संघर्ष गरे ।  त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका जोशीले झण्डै बाह्र वर्ष जति धनगढीका विभिन्न स्कुल/कलेजहरुमा पढाउने काम गरे । ‘शिक्षण पेशाले मलाई धेरै कुरा सिकायो’, उनी भन्छन्, ‘शिक्षण पेसाबाट मलाई सिकाउनेभन्दा पनि सिक्ने अवसर प्रप्त भयो ।’

रामलाल जोशीले लेखन र अध्ययन क्षेत्रमा अलि बढी सक्रिय हुन थालेपछि र प्रायः कार्यक्रमहरुमा जानुपर्ने भएपछि शिक्षण पेसालाई निरन्तरता दिन त सकेनन् ।  तर कहिले कविता कहिले कथा त कहिले उपन्यासका माध्यमबाट आफ्नो अनुभव र भोगाइहरु भने पाठकहरुमाझ पस्की नै राखेका छन्  ।  

कुनामा बसेर सागरमा होमिएका लेखक 

२०५७ सालमा प्रकाशन गरेको ‘हत्केलामा आकाश’ गजलसङग्रहपछि रामलाल जोशी लामो समय गुप्तबास नै बसे । तर एकाएक २०७२ सालमा उहाँले ‘ऐना’ कथासङ्ग्रह पाठकसामु पस्किए । झण्डै २ वर्ष लगाएर लेखेको बताउने उनको यो कृतिले एक खालको हलचल नै ल्यायो र  मदन पुरस्कार समेत जित्न सफल भयो । उनी आफूलाई कुनामा बसेर सागरमा होमिएको लेखक बताउँछन् ।

पुराना दिन स्मरण गर्दै उनी भन्छन्,  ‘मैले समाजमा देखिएका तर नलेखिएका कुरा लेखेको थिएँ ।’ भोगिएका तर आम मानिसमा नपुगेका कुरा लेखेको बताउँछन् जोशी । आफूले जीवनमा थोरै रचना तर पाठकको धेरै माया पाएको बताउँछन् । यसले गर्दा आफूलाई जीवनमा अझै परिस्कृत र परिर्वतन भएर लेख्नुपर्ने कुराले निरन्तर झकझक्याउने उनको भनाइ छ । 

‘ऐना’ले चिनायो ‘सखी’ले जिम्मेवारी बढायो 

‘ऐना’ का कथाहरूले सीमान्तकृत समुदायको प्रतिनिधित्व गरेको देखिन्छ ।  जोशीका कथा सुदूरपश्चिमका सीमान्तकृत वर्गको मात्र ऐना नभएर यो सिङ्गो नेपाली समाजमा उपेक्षित समुदायमाथिको थिचोमिचो देखाउने ऐना भएको छ । उनका सामाजिक यथार्थतावादी कथाहरुमा समाजको बस्तुपरक चित्रण गरेको पाइन्छ ।

त्यस्तै पछिल्लो उपन्यास ‘सखी’मा आफूले मोफसलमा बसाइका भोगाइ समेटेका छन् । यसमा कमलरी बसेकी नारीको व्यथा समेटिएको छ । आँसुको घडा, पीडाको पिरामिड र दुःखको दहलाई अवसरमा परिणत गरी आफ्नो जीवनलाई अनुपम बनाउन खोज्ने एउटी सिमान्तकृत कमलरी युवतीको सघर्ष, समर्पण र सफलताको गाथा उपन्यासमा पाइन्छ । 
 

अन्तिम अपडेट: भदौ २५, २०७६

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया