दशैं तिहार मनाउन घर आउँछु भनेकी रामबहादुरकी दिदी ज्ञानु यूएईमा हराइन्

 चैत १६, २०७५ शनिबार १४:२२:५९

रीना श्रेष्ठ/सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोक – ‘दशैं तिहार मनाउन आउँछु भनेकी दिदीले त्यसपछि त फोन पनि गरेकी छैन,’ खुइय सुस्केरा हाल्दै रामबहादुर श्रेष्ठले भन्नुभयो, ‘बिरामी छु पनि भन्थी, के भयो होला ।’

सिन्धुपाल्चोकका रामबहादुर यूएई गएकी दिदीको सञ्चो बिसञ्चोको खबरको पर्खाईमा हुनुहुन्छ । झण्डै ६ महिना भयो, रामबहादुरकी दिदी ज्ञानु श्रेष्ठ यूएईमा हराउनुभएको । 

गएको दशैंमा नै घर आउने तयारीमा रहेकी दिदीको फोन पनि नआएपछि रामबहादुर आत्तिनुभएको छ । ‘पराइदेशमा दिदी सिकिस्त बिरामी पो परिन् कि ? कुनै अप्ठ्यारो पो पर्‍यो कि ?’ रामबहादुरका मनमा कुरा खेलिरहन्छ । 

‘फोनमा बिरामी छु भनेको मान्छेले फोनै नगरेपछि कसरी मन बुझाउनु,’ रामबहादुर भन्नुहुन्छ, ‘आफ्नो चेलीबेटी विदेशी भूमीमा हराएपछि चुप लागेर कसरी बस्नु ।’
चौतारा  साँगाचोकगढी नगरपालिका ४ कि ज्ञानु २०७० सालमा यूइर्ए जानुभएको हो । सूर्य इन्टरनेशनल म्यानपावरबाट क्लिनरको काममा त्यहाँ पुग्नुभएकी ज्ञानु सन्तुष्ट नै हुनुहुन्थ्यो । 

रामबहादुरसँग फोनमा काम र कमाइको बारेमा नराम्रो कुरा कहिल्यै पनि गर्नुभएको थिएन । ‘काम त राम्रो नै छ भन्थिन् दिदीले,’ रामबहादुर भन्नुहुन्छ, ‘घर आउने बेलामा चाहिँ के भयो होला ।’

४० कटेपछि परदेश

कुन बाध्यताले दिदीलाई परदेश पुर्‍यायो भन्ने त थाहा छैन रामबहादुरलाई । तर ४० कटेपछि कमाउन भन्दै परदेश पुगेकी दिदीलाई कस्तो आपत आइलाग्यो होला भनेर दुःख लाग्छ । ४७ वर्षकी ज्ञानुका तीन जना छोरी छन् । उनीहरु पढ्दै छन् । श्रीमान् पनि  काठमाण्डौमा काम गर्छन् ।

घरको काममा भए पनि ज्ञानुले भाइ रामबहादुरलाई बेलाबेलामा फोन गरिरहनुहुन्थ्यो । भिडियो कल पनि गर्नुहुन्थ्यो ज्ञानुले । ‘एकदिन भिडियो कल गर्दा मैले दिदीको अनुहार सुन्निएको देखेको थिएँ, के भयो भनेर सोधेको चिसोले यस्तो भयो भनिन्’ दिदीले फोन गर्न छाडेपछि भने रामबहादुरलाई बहिनीको यो जवाफ मुख सुन्निनुको कारण थिएन कि भन्ने लाग्छ । 

त्यो तातो खाडीमा चिसोले भन्दा पनि कसैले कुटपिट गरेर पो मुख सुन्नियो कि भन्ने लाग्छ रामबहादुरलाई । 

खोजीको पहल

गएको असोजमा फोन गर्दा घर आउँछु भनेकी दिदीको कुनै खबरसमेत नआएपछि रामबहादुरले खोजीका लागि सुरक्षित आप्रवासन सामी परियोजनाले सिन्धुपाल्चोकमा सञ्चालन गरेको सूचना केन्द्रमा निवेदन दिनुभएको छ । 

रामबहादुरले दिएको निवेदनको आधारमा सूचना केन्द्रले ज्ञानुको खोजीका लागि कन्सुलर सेवा विभागमा अनलाइनमार्फत निवेदन पेश गरेको थियो । तर कन्सुलर विभागबाट कुनै पनि प्रतिक्रिया आएको छैन ।
 

अन्तिम अपडेट: चैत १८, २०८०

तपाईको प्रतिक्रिया