फोहोरबाट मोहोर अभियान : ६० हजार तलबको जागिर छाडेर कबाडी संकलन

 चैत १६, २०७५ शनिबार १४:२५:७ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

वरपर जस्तापाताले बारिएको छ । भित्र पुराना प्लास्टिक, प्लास्टिकका पुराना भाँडाकुँडा, फलामलगायत धातुका टुक्रा, पुराना फर्निचर र कागज थुपारिएको छ ।

बेलाबेला गाडीले यस्तै सामान बोकेर आउँछन् । अनि कामदार त्यस्तै पुराना वस्तु जोखेर अर्को गाडीमा राख्छन् । ल्याएको र बिक्री गर्न लागिएको सरसामानको लगत लिन व्यस्त हुनुहुन्छ, उद्योग सञ्चालक भगवती अधिकारी । ‘बिहान ९-१० बजेतिर आएपछि दिनभर यहीँ कबाडी सामानसँगै सँगै हुन्छु’, सामान मिलाउँदै भगवतीले भन्नुभयो ।

भगवती अधिकारी स्टाफ नर्स र उहाँका श्रीमान् सिभिल इन्जिनियर । श्रीमान वातावारण संरक्षणसम्बन्धी काम गर्ने एउटा एनजीओमा काम गर्नुहुन्छ । भगवती पोषणसम्बन्धी काम गर्ने अर्को एनजीओमा काम गर्नुहुन्थ्यो । 

२० वर्षदेखि काम गर्दै आएको कार्यालयमा तलबभत्ता गरेर महिनाको ६० हजार रुपैयाँ थियो । तर त्यो आकर्षक जागिर छाडेर अहिले कवाडी सामान संकलनमा लाग्नुभएको छ । भन्नुहुन्छ ‘जागिरमा पनि सन्तुष्ट थिएँ, तर त्योभन्दा बढी यहाँ खुशी मिलेको छ, अरु ९ जना भाइहरुले रोजगारी पाएका छन्, मैले आफ्नै काम गर्न पाएको छु, अनि वातावारण स्वच्छ बनाउनको लागि थोरै भए पनि योगदान गर्न पाएकी छु ।’

भगवती अधिकारी र उहाँका श्रीमानले पाँच वर्षअघि कबाडी संकलन गरेर बेचौं भन्ने सल्लाह गरे । तर आकर्षक जागिर छाडेर कबाडीमा होमिन कम चुनौती थिएन । आफन्त तथा चिनजानका मान्छेले पनि पनि कबाडी सामानको व्यवसाय गर्ने कुरालाई राम्रो मान्दैनथे । तर भगवतीका श्रीमान् वातावारण संरक्षणसम्बन्धी काम गर्ने भएकोले कबाडीमा पैसा कमाउन सकिने र पुनः प्रयोग गर्न मिल्ने बस्तुको संकलन गर्दा वातावारण स्वच्छतामा सहयोग पुग्ने कुरा राम्ररी बुझेका थिए । भगवती भन्नुहुन्छ, ‘राम्रो हुन्छ भन्ने त कोही भेटिएन तै पनि सुरु गर्‍यौं ।’

घरेलु तथा साना उद्योग विकास समितिमा उद्योग दर्ता गर्न जाँदा नै उहाँहरुलाई हतोत्साहित गरियो । कर्मचारीहरुले नै आ यस्तो कबाडी संकलन गरेर पनि कहाँ हुन्छ ? के नाम हो यस्तो फोहोर मोहोर ? यो तराईवासी र भारतीयले गर्ने काम तपाईँहरुले के गर्नुहुन्छ भन्ने जवाफ पाएको सम्झदै भगवती भन्नुहुन्छ, ‘त्यस्तै मान्छे हो भने त्यहीबेला आ होस् भनेर फर्कन्थे, तर हामी हाम्रो लक्ष्यप्रति स्पष्ट थियौँ, त्यसैले फोहोर मोहोर नामको उद्योग दर्ता गरेर काम सुरु गर्‍यौँ ।’

खोला छेउको जग्गा भाडामा लिएर व्यवसाय थाल्दा उहाँहरुले एउटा गाडी र तीन जना कामदार राख्नुभएको थियो । विस्तारै व्यवसाय बढ्दै गयो । अहिले दुईवटा गाडी छन् भने ९ जना कामदारहरु खटिरहन्छन् । गाडीमा माइकिङ गर्दै टोलटोलमा पुगेर पुनःप्रयोग गर्न मिल्ने सामग्री बटुल्छन् ।

कबाडी उद्योग क्षेत्रमा ल्याएर वर्गीकरण गर्छन् र पुनः प्रयोग गर्नेहरुलाई बिक्री गर्छन् । ‘टोल वा घरमै पुगेर कवाडी बस्तु किनेर ल्याउँछौं, यहाँ ल्याएर छुट्याउँछौँ । अनि एक गाडी पुगेपछि कुन सामान कसले लाने हो उनीहरुलाई बिक्री गर्छौं, यहीँबाट हाम्रो व्यवसाय चलेको छ’, भगवतीले भन्नुभयो । 

विभिन्न होटलहरुसँग त्यहाँका कबाडी बस्तु खरिद गर्न सम्झौता गरिएको छ । त्यसैले एउटा गाडी विभिन्न होटलमा कबाडी लिन जान्छ भने एउटा गाडी टोल-टोलमा घुमाउँछन् । अधिकारी भन्नुहुन्छ ‘सुरुमा त माइकिङ गर्दै घुम्थ्यौँ, घर-घरमा गएर कबाडी सामान संकलन गरेर राख्न भन्थ्यौं तर हिजोआज त धेरैले कवाडी सामान संकलन गरेर अलि धेरै जम्मा भएपछि खबर गर्नुहुन्छ, अनि गएर ल्याउँछौँ ।’

काठमाण्डौ उपत्यकामा संकलन हुने फोहोर तह लगाउन स्थानीय तहलाई निकै चुनौती बढ्दै गएको छ । फोहोर संकलन गरे पनि लगेर जम्मा गर्ने ठाउँको अभाव भैरहेको छ । त्यसरी फोहोर जम्मा गर्ने र लगेर एक ठाउँ थुपार्ने कामबाट समस्या समाधान नभई झन् बढ्ने अधिकारी बताउनुहुन्छ । 

कसरी गर्ने फोहोर व्यवस्थापन ?

अधिकारीले फोहोर व्यवस्थापनका लागि श्रोतकै वर्गीकरण आवश्यक रहेको बताउनुहुन्छ । जनचेतना अभिवृद्धि गरेर घरमै फोहोरलाई कुहिने र नकुहिने छुट्याउनुपर्छ । कुहिनेलाई सकेसम्म घरमै कम्पोष्ट मल बनाएर कौसीमै भए पनि तरकारी रोप्न प्रयोग गर्नुपर्छ भने त्यो पनि ठाउँ नभएकाहरुबाट नगरपालिकाले संकलन गरेर मल बनाएर बेच्ने वा व्यवस्थापनका अरु उपाय खोजिनुपर्छ । नकुहिनेमध्ये अधिकांश बस्तुको पुनः प्रयोग गर्न सकिन्छ  ।

ती बस्तु विभिन्न सामग्री बनाउने उद्योगलाई दिनुपर्छ । यसो गरिएमा थोरै फोहोर मात्र ल्याण्डफिलमा पुग्छ र सजिलै फोहोर व्यवस्थापन हुन्छ । फोहोर संकलन गर्नेले पनि कुहिने र नकुहिने फोहोर संकलनका लागि छुटाछुटै गाडी डुलाउने हो भने एकाध महिनामा समस्या घट्दै जान्छ ।

भक्तपुर नगरपालिकाले यसअघि फोहोर संकलन गरेपछि पुनः प्रयोग गर्न मिल्नेलाई छुट्याएर अधिकारीको उद्योगलाई बेच्थ्यो तर अहिले वर्गीकरणमा समस्या भएको भन्दै संकलन भएका बस्तु सिधै ल्याण्डफिल साइटमा लैजान्छ । यसबाट ल्याण्डफिल साइट छिटो भरिने, नकुहिने बस्तुका कारण वातावारणमा नकारात्मक असर पुग्नेसँगै कच्चापदार्थ आयातसमेत बढ्ने हुँदा धेरै किसिमबाट घाटा हुने अधिकारी बताउनुहुन्छ । 

फोहोर संकलनमा समेत विभिन्न अवरोधहरु हुने गरेका छन् । फोहोर संकलन गर्दा पनि अप्रत्यक्ष लाभ लिन खोज्नेहरुका कारण समस्या हुने गरेकोले यस्ता कबाडी बस्तुको संकलन र बिक्री गर्ने काम वातावारणको दृष्टिबाट महत्वपूर्ण हो भनेर सरकारले सहज वातावारण बनाइदिनुपर्ने अधिकारी बताउनुहुन्छ । 

अधिकारीका श्रीमान श्रीमतीले यहाँ संकलन भएका प्लािस्टकजन्य वस्तुबाट उपत्यका बाहिर पाइपका लागि कच्चा पदार्थ उत्पादन गर्ने उद्योग सञ्चालनको लागि प्रक्रिया सुरु गरेका छन् । केही समयमा उद्योग सुरु गरेर काठमाण्डौ उपत्यकामा फ्याँकिने प्लास्टिकलाई बढीभन्दा बढी संकलन गरेर कच्चा पदार्थ उत्पादन गर्ने लक्ष्य रहेको अधिकारीले बताउनुभयो । 

एक वर्षअघि जागिरबाट राजीनामा दिंदै गर्दा छोरीहरुले समेत जागिर नछोड्नु भनेको सम्झँदै अधिकारी भन्नुहुन्छ, ‘जागिर छाड्छु भन्दा धेरैले आश्चर्य मानेका थिए । तर मैले सोचेँ, मैले अहिले काम गर्ने ठाउँमा जागिर खान त अर्को मान्छे पनि आउँछ, तर टोल टोलमा कबाडी संकलन गर्न जान जो कोही तयार हुँदैनन्, वातवारणका लागि थोरै भए पनि योगदान गर्न मैले जागिर छाड्नैपर्छ, अनि मेरो व्यवसायमा ९ जनाले काम पाएका छन्, मैले आफ्नै काम गर्न पाएको छु, अरुलाई जे सुकै भनून् म जागिर छाडेर कवाडीमै रमाउँछु, अनि जागिर छाडेर यहाँ पुरै समय दिन थालेँ ।’ 

अहिले आफूहरुले पुन: प्रयोग गर्न मिल्ने सबै किसिमका कबाडी संकलन गर्ने गरेको अधिकारीले बताउनुभयो । पुराना फर्निचरहरु ल्याएर केही नाफा राखी बेच्छन्, यसबाट यस्ता वस्तु बढी भएकाहरुलाई थोरै भए पनि पैसा आउने र आवश्यकता हुनेलाई सस्तोमा प्राप्त हुन्छ ।

यस्तै प्लास्टिक, कागज, पुराना कपडा, फलाम लगायतका धातुहरु संकलन गरेर जम्मा गरी त्यस्ता सामानबाट विभिन्न बस्तु उत्पादन गर्नेहरुलाई बिक्री गर्छन् । महिनामा पाँच टनभन्दा बढी कबाडीको कारोबार हुने भएकोले त्यत्ति भए पनि फोहोर व्यवस्थापन भएको अधिकारी सगर्व सुनाउनुहुन्छ । 

‘अहिले पनि धेरैले कबाडी संकलन गर्छु भन्दा नाक खुम्च्याउँछन्, के अभाव थियो र यस्तो काम गरेको भन्छन्, तर हामी यसमा खुशी भएका छौँ, विदेश गएर आएकाहरु हाम्रोमा काम गर्दा खुशी छन्, हामीले आफ्नो काम पाएका छौं र फोहोर भनेर फ्याँकिने बस्तुको पुनः प्रयोगमा ल्याउन पहल गरेका छौँ, यसबाट सरसफाइदेखि लिएर कच्चा पदार्थको आयात कम गर्नमा समेत भूमिका खेल्छ, त्यसैले अहिले दिनमा १० घण्टा कबाडीसँगै रमाउन सकेकी छु’, अधिकारीले भन्नुभयो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

1 Comments

  • Bhim limbi

    March 30, 2019, 10:36 p.m.

    उदाहरणीय काम कृपाया फाे नं र लाेकेशन उपलब्ध गराई दिनुहुन अनुराेध छ। यश मेलमा पठाईदिनु हाेला । ldnkrbhim@gmail

  •  0 Reply

तपाईको प्रतिक्रिया