‘कम्पोजर’ भनेको ‘मोनोफोनिक’ हुन्, ‘सिङ्गल ट्रयाक’ जस्तै, ‘अरेन्जर’ भनेको ‘पोलिफोनिक’ : रिदम कँडेल

 चैत १६, २०७५ शनिबार १५:२:१६ | दिलिप कुमार ज्याेति
unn.prixa.net

काठमाण्डाै – संगीत अर्थात मानव सभ्यतालाई प्रकृतिको अद्वितीय वरदान । आदिम युगदेखि आजसम्म संगीतका कोटी छटाहरु झंङ्कृत भए । लाखौं सभ्यतालाई आफ्नो स्वच्छन्द सौन्दर्यले सिञ्चित गरेर यसले आफ्नो मोहिनी पासोमा पारेको छ । तर पनि यो नित्य छ, पवित्र छ र नवीन छ । नाद योगीहरु संगीतको  महासागरमा गोता लगाउन हरदम लालायित छन् । यो प्रक्रिया मानव सभ्यता रहुन्जेल चलिरहन्छ ।

संगीतको प्रादुर्भावसँगै यसका विविध विधाहरु अस्तित्वमा आए । कतिपय विधाहरु सभ्यताको अन्त्यसँगै नष्ट भए । कहिले रैती, कहिले राजा र कहिले नगरवधुहरुको आधिपत्यसमेत स्वीकारेर आफूलाई विविध रंगमा रंगाउँदै तिरस्कृत र पुरस्कृत पनि बनेकाे छ संगीत । धर्म, अर्थ, काम र मोक्ष सबैमा सर्वोपरी रुपमा प्रवाहित छ संगीत ।

विगतमा जे जस्ता धारमा बगे पनि आधुनिक संगीतको धार भनै एकै प्रकारको छ अहिले । गायन र बादन । यस भित्र पनि आधुनिक प्रविधीले संगीत संयोजनको पाटोलाई बृहत र फराकिलो पारेको छ वर्तमानमा । 

संगीतको केन्द्र भए पनि सदैव पर्दा पछाडिको पात्र हुने गर्दछ संगीत संयोजक । यस्तै पर्दा पछाडि बसेर ‘आँसुको अर्थ के थाहा’, ‘तिमी के गयौ’ ‘लडेँ लडेँ’(चलचित्र तिमीसँग), चलचित्र ब्ल्याक, चलचित्र लभ स्टेशनलगायतका सयौं गीतहरुमा संगीत संयोजन र संगीत  गरिसकेका युवा गायक, संगीतकार तथा संगीत संयोजक रिदम कँडेल संगीत उद्योगका बहुआयामिक व्यक्तित्व हुन् ।

काका कृष्ण कँडेलको प्रेरणाले संगीतमा प्रवेश गरेका रिदमलाई संगीतको हुटहुटीले, गुरु तिलक सिंह पेलाको प्रशिक्षणमा रमाउँदै, ललितकला हुँदै रवीन्द्रलाई भारती विश्वविद्यालयसम्म पुर्‍यायो । प्रस्तुत छ शास्त्रीय संगीतकी प्रशिद्ध गायिका तथा अध्यापिका बैशाली जोरदारका शिष्य उनै रिदमसँग उज्यालो सहकर्मी दिलीपकुमार ज्योतीले गरेको संगीत अन्तरनिहीत कुराकानी :

आफूलाई के भन्न रुचाउनुहुन्छ संगीत संयोजक, संगीतकार वा गायक ? 

प्रथमतः म गायक नै हूँ । त्यसपछि संगीतकार अनि संगीत संयोजक । तर परिस्थितिले मेरो परिचय यसरी गरायो कि पहिलो प्राथमिकता संगीत संयोजक अनि संगीतकार र त्यसपछि गायक । 
संगीतमा मास्टर्स गरिसकेपछि बधाई र कामका आस्वासन त धेरै आयो । तर काम कसैले दिएन त्यसैले आफ्नै प्रयासमा संगीतका छोटो छोटो पिस तयार पार्थें र साथीभाइहरुलाई सुनाउँथे, उनीहरु मन पराउँथे । अन्ततः यो नै अरेन्जमेन्टमा बदलियो । मेरो बाध्यता बरदान साबित भयो । गायन, संगीत र संगीत संयोजन यो सबै संगीतको बिधा हो । यी तीनै बिधामा सबै पोख्त हुँदैनन् । मेरो प्रयास तीनवटै बिधालाई आत्मसाथ गरेर पूर्ण संगीतको अनुभूति गराउनु हो ।

संगीत संयोजन (‘अरेन्जमेन्ट’) भनेको कस्तो कर्म हो ? 

‘कम्पोजर’(संगीतकार) भनेको ‘मोनोफोनिक’ हुन, ‘सिङ्गल ट्रयाक’ जस्तै, ‘अरेन्जर’(संगीत संयोजक) भनेको ‘पोलिफोनिक’ । ‘अरेन्जर अलराउण्डर’ हो र हुन जरुरी छ । यो म्युजिक भित्रकै एउटा महत्वपूर्ण पाटो हो ।  

बाजाहरु कसरी बज्छन्, ती बाजाहरुको ‘रेन्ज’ कति छ, कुन ‘रेन्ज’मा कस्तो बज्छ, भौगोलिक र भाषिक आधारले पनि कुन गीतमा कुन बाजा प्रयोग गर्ने भन्ने जस्ता कुराहरु एउटा ‘अरेन्जर’ले जान्नु पर्दछ । कम्पोजर मुटु हो भने, सिङ्गर ढुकढुकी हो र अरेन्जर श्वासप्रश्वास हो । श्वासप्रश्वासबिना मुटु र ढुकढुकीको कुनै अस्तित्व छैन् ।

हिजोआजका गीतहरुको अरेन्जमेन्ट र बाजाहरु सबै एकै प्रकारको सुनिनुको कारण के हो ? 

एउटा बाध्यबादकले आफूले बजाउने बाजालाई जति न्याय गर्न सक्छ, त्यति न्याय ‘अरेन्जर’ले गर्न सक्दैन । सबै बाजा समूहको छुट्टाछुट्टै ‘अरेन्जर’ हुने हो भने शतप्रतिशत संगीत सिर्जना हुन्छ । त्यो हाम्रोमा कल्पनाभन्दा बाहिरको कुरा हो । फेरि हाम्रो संगीत उद्योगमा बाजा र तालको छुट्टाछुट्टै ‘अरेन्जर’ राख्ने वातावरण आर्थिक रुपले पनि सम्भव छैन ।

हाम्रो संगीत उद्योगमा ‘म्युजिक अरेन्ज’ गर्दा ‘बेस’ देखि ‘म्युजिक पिस’ र ‘रिदम’ समेत ‘अरेन्जर’ले तयार गर्नुपर्दछ यसकारण पनि नेपाली ‘अरेन्जर’हरुलाई धेरै गाह्राे छ ।  जसले गर्दा ‘अरेन्जमेन्ट’ फितलो र जुन गीत सुने पनि एउटै प्रकार र एकैप्रकारका बाजाहरु बजेको भान हुनु स्वभाविक हो ।

छिमेकी देशहरुले तयार पारेको संगीतको प्रतिस्पर्धामा उत्रन नसकेको  कारण त्यसैले हो ?

हो, भारतलगायत अन्य विकसित देशहरुमा ‘म्युजिसियन’को कमी छैन । कुनै गीत संगीत तयार गर्नु परे ‘सिम्फोनी’ नै चल्छ । हामी ‘म्युजिकल सफ्टवयर’ सम्म ‘क्रयाक’ भर्जन चलाउँछौ ।  हाम्रोमा एउटा ‘ट्रयाक’ तयार पार्दासमेत बाध्य बादकलाई कुर्नुपर्ने अवस्था छ ।

औंलामा गन्न सकिने सीमित बाद्यवादक हुनुहुन्छ । केही सीमित बाजाहरु मात्र प्रयोगमा छन् । एकै जनाले सबै ‘रेकर्डिङ’ भ्याउनुपर्छ । जसले गर्दा ‘म्युजिक प्रोजेक्ट’हरुमा विविधता पाउन र समयमा सिध्याउन गाह्राे छ । प्रतिस्पर्धा त धेरै परको कुरा हो । 

शास्त्रीय संगीतमा ‘मास्टर्स’ गरेको र युवा पुस्तालाई प्रतिनिधित्व गर्ने तपाई‌ंजस्तो स्रष्टालाई साधारण गीत, संगीत ‘कम्पोज’ गर्दा कस्तो अनुभूति हुन्छ ?  

सुरुका दिनमा हाम्रो बजारको ‘ट्रेण्ड’ र यहाँको काम हेर्दा धेरै नै दुःख लागेको थियो । तर पछि आफ्नो रुचीको विषय र विद्यावारिधि नै यसमा हुनाले जसोतसो सम्हालिएँ । यो बाहेक अरु विकल्प पनि थिएन । फेरि संगीत ‘फिलिङ्स’ पनि हो । कसैले धेरै बुझ्छन् कसैले थोरै । आ–आफ्नो चेतनाको स्तर अनुसार ग्रहण गर्ने चिज हो यो ।

नबुझेकालाई बुझाउने प्रयास र बुझ्नेसँग सिक्ने क्रम जारी छ मेरो । त्यसैले पनि मैले आफूले जानेको कुराहरु अरुलाई सिकाउन सधै अग्रसर हुन्छु । सिकाएरै भए पनि मेरो एउटा ‘अर्केष्ट्रा’ होस् भन्ने चाहना पनि छ ।

संगीत के हो तपाईँका लागि ?

संगीत ‘फिलिङ्स’सँग जोडिएको विषय हो । कस्तो संस्कारमा हुर्कियो र कस्तो ‘फिलिङ्स’ छ, त्यो कुरामा ‘डिपेन्ड’ गर्छ संगीत । त्यसपछि चाहिँ संगतको कुरा आउँछ । आफ्नो साथीभाइ र परिवारको सर्कल कस्तो छ । त्यसले पनि संगीतलाई निर्धारण गर्छ । त्यसैले संगीत ‘फिलिङ्स’ , संस्कार र संगत हो । यी तीन कुरालाई सँगै लिएर हिँड्ने मान्छे जुनसुकै परिस्थिती र परिवेशमा पनि संगीत क्षेत्रमा आफूलाई स्थापित गराउन सक्छ ।

‘अटो ट्युनर’को बढ्दो प्रयोगलाई कसरी हेर्नुहुन्छ ? 

‘अटो ट्युनर म्युजिकल सफ्टवयर’ हो । यसले विशेष त गीतको ‘टेक्निकिल’ पाटोलाई व्यवस्थित गर्दछ । आजकल सबै गीतमा प्रयोग हुन्छ । तर प्रयोगको तरिका नजान्दा गीतको गुणस्तर खस्केको छ । समयमै ध्यान नदिने हो भने आउँदा दिनमा ठूलै समस्या निम्त्याउन सक्छ यसले ।

संगीत उद्योगका अधिकांश कलाकार बेसुरा भएर हो ‘अटो ट्यूनर’को अत्यधिक प्रयोग बढेको ?

हो, अधिकांश कलाकार बेसुरा छन् । अहिले राम्रो गाउने कलाकारहरुलाई समय मिलाउन निकै गाह्राे छ । देश विदेशका कन्सर्टहरुले गर्दा रियाजको पनि कमी छ । ‘भोकल’ले रेस्ट पाउँदैन । समय मिले पनि उहाँहरुले ‘रेकर्डिङ’मा दिने समय थोरै छ । त्यसैले बेसुरा हुनु स्वभाविक हो । ‘मिक्सिङ’ गर्दा सुर नलागेको ठाउँमा प्राविधिकले आफ्नै तरिकाले ‘अटो ट्यून’ प्रयोग गर्छन् । जसले गर्दा केही कमी कमजोरी सुनिन्छ गीतमा । 

वर्षौं अभ्यास गरेर निखारिएका कलाकारहरुलाई समेत टाउको दुखाइ भएको यो ‘अटो ट्यूनर’को प्रयोग नेपाली गीतमा के आवश्यक नै छ र ? 

कतिपय गीतमा त्यो गीतको पार्टले नै ‘अटो ट्यून’ माग्छ । तर अहिले जति पनि गीत हाम्रो बजारमा छन् त्यसमा ‘अटो ट्यून’ आवश्यक छैन । संगीत उद्योगभित्र हामी गलत अभ्यास गर्दैछौँ । चाहिनेभन्दा बढी खायो भने चिनी पनि तीतो हुन्छ ।

‘अडियन्स’ पनि अलिकति भ्रमित भएको जस्तो लाग्छ । जुन गीत आए पनि ठिकै छ नि भन्ने अवस्था छ । ‘अटो ट्यून’कै कारण अहिले गायनमा ‘करियर ’बनाउन निकै गाह्राे छ । तर यो लामो समय चल्दैन । अबको पाँचदेखि १० वर्षको अन्तरालमा हाम्रो संगीतदेखि ‘अडियन्स’को स्वरुप उच्च कोटीको हुनेछ ।

व्यवसायिक गीतसंगीत त झन् उत्कृष्ट हुनुपर्ने होइन र ?

हो,  यस कुरामा चाहिँ लगानीकर्ता र कलाकार दुवैले ध्यान दिनुपर्छ । लगानी गरेपछि लगानीकर्ताले शतप्रतिशत खोज्छ । तर यहाँको बिडम्बना सबै लगानीकर्ता संगीत बुझ्ने वर्गका छैनन् । कोही शौखको लागि कोही मान प्रतिष्ठाको लागि लगानी गरिरहेका छन् । संगीत बुझेको लगानीकर्ता छ भने उसले चाहेको तरिकाले कलाकारलाई प्रयोग गर्न सक्छ ।

कलाकारले पनि १०० मा ९५ त राम्रो गाउन पर्‍याे । नसकेको केही ठाउँमा समय अनुसारको प्रविधि प्रयोग गर्दा सुहाउँदो हुन्छ । हाम्रोमा संगीत बुझ्ने स्रोता झन् सीमित वर्गमा छन् । आम जनमानस जति संगीतमा संस्कारित हुँदै जान्छन् त्यति नै उत्कृष्ट गीत संगीत सिर्जना हुँदै जान्छ ।

रवीन्द्र भारती विश्वविद्यालयबाट गायनमा मास्टर्स गर्ने क्रममा भारतीय संगीतलाई नजिकबाट नियाल्नु भएकोछ  ? हाम्रो र उनीहरुको सांगीतिक क्रियाकलापमा के अन्तर  पाउनुभयो ?

उनीहरुले संगीतमा धेरै अभ्यास गरिसकेका छन् । एउटा ‘कल्चर’को रुपमा संगीत स्थापित भैसक्यो त्यहाँ । संगीतज्ञहरुको ठूलो जमातले संगीतलाई ‘रुल’ गरिरहेको छ त्यहाँ । संख्यात्मक हिसाबले पनि ‘कम्पिटिसन’ धेरै छ त्यहाँ । जसले गर्दा उत्कृष्ट कलाकार जन्मिरहन्छ ।

तर हाम्रोमा गीत संगीत अझैसम्म पनि मोजमस्तीको साधनको रुपमा मात्र स्थापित छ । जुन दिन विलासिता नभई विद्याको रुपमा संगीतलाई ग्रहण गरिन्छ । त्यो दिनबाट हाम्रो संगीत पनि संस्कार बन्नेछ ।

कस्ता प्रकारका संगीत सुन्न रुचाउनुहुन्छ ?

यही संगीत भनेर बाँधिएको छैन । म प्रायः ‘र्यान्डम म्यूजिक’ सुनिरहेको हुन्छु । कहिले कताको, कहिले कताको, सबै खालको ‘मिक्स’ भएको सुन्छु । साधनाको समयमा ‘क्लासिकल’ नै सुन्न रुचाउँछु । भोकलमा उस्ताद अमिर खाँ र वेङ्कटेश कुमारलाई सुन्छु । ‘इन्स्ट्रुमेन्टल’मा ‘यान्नी’ , ‘डिप फरेस्टको ‘नाइट बर्ड टाइप’का संगीत र ‘इथ्निक इन्स्ट्रुमेन्ट’ भएका ‘वर्ल्ड म्यूजिक’ बढी सुन्छु ।

अन्तिम अपडेट: भदौ २८, २०७६

दिलिप कुमार ज्याेति

ज्याेति कला मनाेरञ्जनमा कलम चलाउनुहुन्छ ।  

 

तपाईको प्रतिक्रिया