विश्वभरका लगानीकर्तालाई सन्देश : नेपाल अब जाग्दैछ

 चैत १६, २०७५ शनिबार २२:३२:५३ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ - निकै ठूलो उत्साहसहित अर्थमन्त्री डाक्टर युवराज खतिवडाले दुई दिनसम्म चलेको लगानी सम्मेलनको समापन गर्नुभयो ।

‘तपाईँहरुको चासो, प्रतिबद्धता र लगानीको लागि देखाएको इच्छाले म ढुक्क भएको छु, हामीले नेपाललाई विदेशी लगानीको नयाँ तर उत्कृष्ट गन्तव्य बनाउन सफल हुनेछौं’, समापन समाराहेमा अर्थमन्त्री खतिवडाले भन्नुभयो ।

४० देशका तीन सय कम्पनीका ७ सय भन्दा धेरै लगानीकर्ता, नेपालका ६ सय उद्योगी व्यापारी अनि विभिन्न सरकारी निकाय सहभागी लगानी सम्मेलनमा विदेशीले खुब चासो मानेर नेपालमा लगानी गर्दा कस्तो भएको छ, र भविष्यमा कहाँ लगानी गर्ने भन्ने विषयमा छलफल बहस गरे ।

१५ वटा परियोजनामा हस्ताक्षर भयो, एउटा परियोजनामा लगानीको प्रतिबद्धता आएको छ, अनि लगानी बोर्डले छानेका ७७ वटा परियोजनामा लगानी गर्न आउँदो अप्रिल २२ तारिख अर्थात वैशाख ९ गतेसम्म आवेदन दिन सकिने भएकाले यसको सकारात्मक प्रभाव पर्नेमा सरकार ढुक्क छ । 

यसपटकको सम्मेलनको उद्घाटनदेखि समापनसम्म नेपालमा लगानीको लागि प्रशस्तै कानुन बनेका, वातवरणीय हिसाबले विश्वकै उत्कृष्ट रहेको र लगानीपछि नाफा लैजान कुनै गाह्रो नभएको कुरा स्वदेशीसँगै विदेशीले पनि मज्जाले बुझे र बुझाए ।

‘आजको भोलि नै लगानी आउने होइन, तर नेपालबारे विश्वभर सन्देश पुग्यो’

लगानी सम्मेलन सकिएलगत्तै उज्यालो अनलाइनसँग कुरा गर्दै अर्थसचिव डा. राजन खनालले लगानी सम्मेलन सरकारले सोचेभन्दा पनि राम्रो भएको दाबी गर्नुभयो । 

‘लगानीका लागि आजै नै खर्बौको प्रतिबद्धता आउनेभन्दा पनि हामीले नेपाल अब जाग्न सुरु ग¥यो भन्ने सन्देश दिन सफल भएका छौँ, ४० देशका तीन सय कम्पनीका  सात सय पाहुनाले नेपाल लगानीको उत्तम गन्तव्य हो भन्नेमा प्रष्ट भएका छन्’, अर्थसचिव खनालले भन्नुभयो । 

यस्तै लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारीले यसपटकको लगानी सम्मेलन नेपालको विकास निर्माणमा कोशेढुंगा बन्नेगरी सफल भएको बताउनुभयो । 

‘हामीले जुन खालको इभेन्ट गर्यौँ, यस्ता इभेन्टले हामीलाई बैदेशिक लगानीका थुप्रै ढोका खोल्ने अवसर दिन्छ, हामी अब लगानीका लागि धेरै पर्खन सक्दैनौँ भन्ने पनि देखिएको छ’, सीईओ अधिकारीले भन्नुभयो । 

विश्वका ठूला संस्था र कम्पनीको ऐक्यबद्धता

लगानी सम्मेलनमा विश्व बैंक, एसियाली विकास बैंक, एसियाली पूर्वाधार विकास बैंक, एक्जिम बैंक, मलेसिया विकास प्राधिकरण, म्यानमार, यूएईलगायत देशका मन्त्री, जापानको माइगा कम्पनी, भारतको मूटहूट ग्रुपलगायतका प्रमुखहरुले विभिन्न सत्रमा नेपाल अब लगानीको गन्तव्य किन नहुने भन्दै उत्साह जगाए ।

विभिन्न सत्रमा उनीहरुले नेपालले लगानीमैत्री कानुन निर्माण गरेकोमा खुशी व्यक्त गरे । 

यस्तै सूर्य नेपाल, एनसेल, युनिलिभर, बुटवल पावर कम्पनी, चौधरी ग्रुप, गैरआवासीय नेपालीलगायतका बहुराष्ट्रिय कम्पनीले नेपालमा लगानी गरेर एक हजार प्रतिशतसम्म नाफा कमाएको र नाफा सजिलै आफ्नो देश फर्काउन सकिएको उदाहरण दिएकाले विदेशी लगानीकर्ता थप उत्साहित भए ।

जति तारिफ गरे पनि कम हुने निजी क्षेत्रको सहभागिता

सम्मेलनमा नेपालको निजी क्षेत्रले सरकारको खुलेर प्रशंसा गरे, कैयौं विदेशी लगानीकर्तासँग नेपालका उद्योगी व्यापारीले दुईपक्षीय तथा बहुपक्षीय बैठक गरेर साझेदारीमार्फत नेपालमा लगानी गर्न सकिने वातावरण बनाएका छन् । 

सम्मेलनमा नेपाल उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ् कमर्सलगायतका निजी क्षेत्रका छाता संगठनले बलियो उपस्थिति जनाए । शेखर गोल्छा, भवानी राणा, रुप ज्योती, अनुपमा खुञ्जेली, हरिभक्त शर्मालगायतले विभिन्न सत्रमा भनाइ राखे । उनीहरुको एउटै भनाइ थियो, ‘नेपाल विदेशी लगानी पर्खेर बसेको छ, नेपाल सरकार तपाईँहरुलाई सहयोग गर्न निकै सकारात्मक रहेको देखेका छौँ ।’

‘यतिका धेरै विदेशीको अभुतपूर्व सहभागिता नै यो सम्मेलनको सफलताको पाटो हो, त्यसमाथि सरकार र हामीले एउटै मुखमा विदेशी लगानीकर्तालाई स्वागत गरेका छौँ, यसले बडो गज्जबको सन्देश गएको छ’, परिसंघका अध्यक्ष हरिभक्त शर्माले उज्यालो अनलाइनसँग भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब हामीले विदेशमा गएर नेपालमा लगानी गर  भनेर आग्रह गर्दा धेरै यो लगानी सम्मेलन सम्झनेछन्, हामीले सुधार गरेका कानुन, यहाँको वातावरण अनि सांस्कृतिक विविधताको प्रचारप्रसारमा पनि सम्मेलन उत्कृष्ट रह्यो । 

याे पनि पढ्नुहोस् । 

लगानी सम्मेलनको पहिलो दिन : विदेशीले गरे प्रशंसा, नेपाली मख्ख !

विदेशीले बहाना मात्रै गरेका हुन कि नेपालमा लगानी गर्न साँच्चै झण्झट छ  ?

विदेशीलाई देखाउने परियोजना यस्ता : लगानी गरौँ गरौँ जस्ता

‘नेपालको मुहार फेर्ने परियोजनाको लागि पैसा छैन, त्यसैले लगानी सम्मेलन’

 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

1 Comments

  • Samuel Shaw

    March 31, 2019, 1:59 p.m.

    It's a wise step on time but let's not be happy with MOU with various organizations but it must be followed systematically and one by one priority basis for the prosperity of either parties in win win situation.God bless

  •  0 Reply

तपाईको प्रतिक्रिया