विदेशपछि तराईबाट पहाड उक्लेर उद्यमी

 चैत १७, २०७५ आइतबार १०:४४:४३ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डाै – देशमा काम पाइएन भन्दै विदेश जाने अनि विदेशमा दुःख भोगेपछि देशमै केही गर्छु भनेर फर्किनेको संख्या हिजोआज बढ्दै गएको छ । ‘विदेशमा पनि दुःख गरेर मात्रै पैसा कमाइने रहेछ, त्यस्तै दुःख आफ्नै देशमा गर्छु अनि पैसा पनि कमाउँछु, त्यो पनि परिवारसँगै बसेर’ भन्नेहरु धेरैै छन् । 

लगन, सीप अनि परिवारको साथ भयो भने आफ्नै ठाउँमा बसेर पनि मज्जाले कमाइ गर्न सकिन्छ । यस्तै उदाहरण बनेका छन् मोरङ उर्लाबारीका २७ वर्षीय भवानी घिमिरे र २५ वर्षीया पूजा गौतम । पूर्वी पहाड ताप्लेजुङ, पाँचथर र तेह्रथुमका हुनेखाने तराई बसाईं सरिरहेका बेला यो जोडी भने उद्योग सञ्चालन गर्न पहाड चढेको छ । तराईबाट पहाड चढेको यो जोडीको आफ्नै कथा छ ।

२०४८ साल माघ १ गते जन्मिएका भवानी २० वर्षको उमेरमा २०६९ जेठमा साउदी अरब पुग्नुभयो । ६० डिग्रीसम्मको तापक्रममा उहाँले त्यहाँ पेट्रोल पम्पमा काम गरे । २०७१ भदौमा ६ महिनाको बिदामा आएका उहाँले पे्रमिका पूजासँग विवाह गर्नुभयो । विवाहलगत्तै फेरि फागुनमा साउदीको ५५–६० डिग्री सेल्सियसमा पसिना बगाउन पुग्नुभयो । विवाह गरेको ११ महिनापछि पूजाले छोरालाई जन्म दिएपछि भवानीको जिम्मेवारी थपियो ।

उहाँ चार वर्षको साउदी बसाई सकेर २०७३ माघमा स्वदेश फर्किनुभयो । त्यसपछि परिवारसँगै बस्ने र देशमै केही गर्ने निर्णय लिनुभयो । उहाँसँग धेरै सम्पत्ति त थिएन, युवा जोश र आँट थियो । अनि परिवारको साथ पनि । तर के गर्ने ? विकल्प थिएन । 

त्यहीबेलामा भवानीका दाइ छवि घिमिरेले पाँचथरको लुम्फाबुङमा डेरी उद्योग चलाउनुभएको थियो । छविले भवानीलाई पनि डेरी उद्योग संचालन गर्न सुझाव दिनुभयो । दाइको सुझावपछि भवानी हौसिनुभयो र पाँचथर पुग्नुभयो ।

साविकको सुभाङ गाविस ९ अहिले हिलिहाङ ५ मा रहेको मामाघर गएर सल्लाह लिनुभयो । सबै कुरा चित्त बुझ्यो । त्यसपछि लुम्फाबुङमा दाइको उद्योगमा दुई दिन बसेर काम सिकेपछि २१ महिनाको काखे बालकलाई छाडेर २०७४ को जेठ १५ गते श्रीमती पूजासँग उहाँ हिलिहाङ ५ पुगे । 

तराई (मोरङ उर्लाबारी)मा जन्मिइ हुर्किएका यो जोडी पहाड (पाँचथर हिलिहाङ) पुगेर डेरी उद्योग खोले । जहाँ स्थानीयको दुध संकलन गरेर छुर्पी र घिउ बनाउन थाले । उनीहरुले बनाएको छुर्पी अमेरिका, अष्ट्रेलिया, जापान र दक्षिण कोरियामा निर्यात हुन्छ । तीन लाख रुपैयाँ पूँजीबाट सुरु भएको भवानी र पूजाको डेरी उद्योग अहिले तीन गुणा बढी पूँजीको भइसकेको छ । 

अहिले भवानीले गाउँगाउँको दुध मोटरसाइकलमा संकलन गर्नुहुन्छ । डेरीको आम्दानीबाटै उहाँले मोटरसाइकल किन्नुभएको हो । ‘डेरी राम्ररी चल्न थालेको २१ महिनामै दुई लाख ५० हजार रुपैयाँमा मोटरसाइकल किनेँ’, उहाँले भन्नुभयो, ‘टाढाटाढाका गाउँलेलाई सहज होस् भनेर अहिले घर–घरमा गएर दुध संकलन गर्दैछु ।’ 

उहाँको यो उत्साहाले गाउँका किसानले पनि दुध बेचेर राम्रो आम्दानी गर्न थालेका छन् । भवानीले मोटरसाइकलमा ४०–४० लिटर अटाउने दुई वटा ट्याङकी अड्याउने स्ट्याण्ड बनाउनुभएको छ । त्यही स्ट्याण्डमा ट्याङकी राखेर उहाँ दैनिक झण्डै दुई घण्टा पर पुग्नुहुन्छ । दुध बोकेर आउनुहुन्छ । त्यतिबेलासम्म नजिकै घर हुनेहरुले डेरीसम्म दुध लगिसकेका हुन्छन् । 

दुध संकलन गरेपछि तताउने काम हुन्छ । त्यसपछि तातेको दुधको तर काट्ने अनि दुध फटाउने, फाटेको दुधलाई माड्ने, पखाल्ने अनि फेरि पकाएपछि फ्रेममा लगाएर थिचेपछि तयार हुन्छ छुर्पी । यो छुर्पीको ‘फ्याट’ चिल्लो पदार्थ निकालिएको हुन्छ । 

छुर्पी बनाउने क्रममा घिउ पनि निकाल्ने गर्छन् । किलोको ८ सय रुपैयाँका दरले विक्रि हुने यो छुर्पी पूजा र भवानीले दैनिक ६ किलोसम्म तयार पार्छन् । यही दूधबाट दैनिक ५–६ किलो घिउ पनि बन्छ । किलोको ५ सय रुपैयाँ पर्ने घिउ किन्न स्थानीयबासिन्दाले पहिलेदेखि नै अडर गर्ने गर्छन् ।

बिहान ५ बजे उठेपछि १ बजेसम्ममा सबै काम सकेपछि यो जोडी फुर्सदिलो हुन्छ । त्यसपछि छुर्पी सुकाउने, काट्ने काम बिस्तारै हुन्छ । घिउ दिनकै बिक्री भए पनि छुर्पी भने एक महिना जम्मा गरेपछि सदरमुकाम फिदिम पठाइन्छ । त्यहीँबाट आएको पैसा किसानलाई पनि मासिक रुपमा दिन्छन् । पहिले दुई तीन घण्टा हिँडेर जोरपोखरीसम्म दुध लैजानुपर्ने बाध्यतामा रहेका गाउँले गाउँमै डेरी खुलेपछि खुशी भएका छन् । डेरीले गाउँलेको आम्दानीसमेत बढाएको छ । 

सुरुका दिनमा एउटा मात्र डेरी उद्योग थियो यो गाउँमा । अहिले डेरी थपिएका छन् । तर पनि व्यापार राम्रै छ । अहिलेको जस्तै गरी व्यापार हुने हो भने अबको पाँच वर्षमा गाडी किन्ने लक्ष्य छ भवानीको । उहाँ भन्नुहुन्छ, ‘मेहनत गर्ने हो भने असम्भव केही पनि छैन, अहिलेको जस्तै व्यापार भयो भने अबको पाँच वर्षमा गाडी किन्छु । मेरो व्यवसायलाई अझै फैलाउँछु ।’

व्यवसाय राम्रै चलेपछि आफ्नो डेरी उद्योग दर्ता गर्ने भवानीको योजना छ । तर यसमा स्थानीय सरकार बाधक बनेको उहाँले गुनासो गर्नुभयो । पाँचथर हिलिहाङका जनप्रतिनिधिले मोरङको नागरिकता भएको भन्दै उद्योग दर्तामा आनाकानी गरेको उहाँले बताउनुभयो ।

‘जनप्रतिनिधिले तपाईं मोरङको मान्छे । पाँचथरमा उद्योग संचालन गरिरहनु भएको छ । मोरङको मान्छे भएकाले उद्योग दर्ता गर्न मिल्दैन भन्छन्’, भवानी भन्नुभयो, ‘मैले मेहनत गरेको छु । कसैलाई ढाँटेको छलेको छैन । मोरङको भएर के भयो त ? उद्योग दर्तामा अवरोध गरेको देख्दा दुःख लागेको छ ।’ 

दुई वर्षअघि २०–२५ रुपैयाँमा बिक्री हुने दुधको मूल्य भवानीले उद्योग खोलेपछि ३८ रुपैयाँसम्म पुगेको छ । ‘किसानले घरमै बसेर पनि जीविकोपार्जन गर्न थालिसकेका छन्’, भवानी भन्नुहुन्छ, ‘यति हुँदा पनि मेरो उद्योग दर्ता गर्न मिल्दैन ?’ 

जनप्रतिनिधि र स्थानीय सरकारले उद्योगलाई प्रोत्साहन गर्नुको साटो अनावश्यक कुरा झिक्नु गलत भएको उहाँको भनाई छ छ । स्थानीय उत्पादन आफै किनेर बजारसम्म पुर्याउनुपर्ने निकायका पदाधिकारीको स्वभावले दुःखी बनाए पनि स्थानीयबासिन्दाको सहयोगले उहाँलाई हौसला थपेको छ ।

‘हामीले बनाएको छुर्पी फिदिममा दिन्छौं । त्यहाँबाट राँके, इलाम, बिर्तामोड, इटहरी हुँदै काठमाण्डौ पुगेर विदेश निर्यात हुन्छ’, भवानी भन्नुहुन्छ, ‘यो बीचमा कति बिचौलिया छन् ? सरकार आफैंले हाम्रो छुर्पी किन्ने हो भने त बिचौलियाले खाने पैसा राज्यको आम्दानी हुन्थ्यो नि ।’ 

कोसेली पनि छुर्पी नै लैजान्छन् 

दुई तीन महिनामा तराई झर्ने यो जोडीले कोसेली पनि छुर्पी नै लैजान्छन् । पूजा हाँस्दै भन्नुहुन्छ, ‘आफ्नै हात जगन्नाथ, आफैंले मेहनत गरेर बनाएको छुर्पी नै कोसेली लिएर जान्छौँ । तराईमा नौलो पनि हुने भएपछि सबैले खोई ? भनेर सोध्छन् । सँगै आफ्नो सीप पनि देखाउन पाइयो । सबैले मिठो मानेर खाइदिनुहुन्छ अनि यस्तै मेहनत गर भनेर शुभकामना पनि दिनुहुन्छ खुसी लाग्छ ।’

तीन वर्षका छोरा मोरङमै

पूजा र भवानीका तीन वर्षीय छोरा अहिले मोरङमा छन् । उनी हजुरबुबा हजुरआमासँग मोरङ उर्लाबारीमा बस्छन् । सन्तानको स्वास्थ्य, शिक्षा लगायतका सुविधाको लागि आफूबाट अलग्गै राख्न बाध्य भएको यो जोडीको भनाइ छ । छोरालाई भेट्न कहिले पूजा त कहिले भवानी तराई झर्छन् । कहिले हजुरबुबा हजुरआमा नै नाती लिएर पहाड उक्लन्छन् । 

तराईमा छोरा बुबाआमासँग छोडेर पहाडमा उद्योग गर्न पुगेको जोडी स्वदेशमै काम गर्न पाउँदा खुसी छ । ‘विदेशका दुःख भन्दा यहाँ धेरै सहज छ । मावली गाउँ भएकाले सबैले भाञ्जाभाञ्जी भन्नुहुन्छ’, भवानीले सुनाउनुभयो, ‘यो सबै सफलता गाउँलेको सहयोगले भएको हो । काममा गाउँलेको सहयोगले उत्साह थपिएको छ ।’ 

गाउँलेको सहयोगले नै आफूले उद्योगलाई बढाउने निर्णय गरेको उहाँले बताउनुभयो । ‘अझै पाँच–सात वर्ष यही उद्योग सञ्चालन गर्ने योजनासहित काम गरिरहेको छु’, उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया