दुबई अस्पतालमा कमलाको बिजोग : आमा पर्खंदै छोरी, सहयोग खोज्दै श्रीमान्

 चैत १७, २०७५ आइतबार १६:५३:२३ | उमाकान्त पाण्डे

यूएई – दुबई अस्पताल । साताै‌ तल्लाको ७१० नम्बर कोठा । यही कोठाको एउटा बेडमा मृत्युसँग संघर्ष गरिरहनुभएको छ, काभ्रे माझीफेदी ७ की कमला गिरी । १२ वर्ष पहिले श्रीमानसँगै काम गर्न आएकी कमला परदेशमा थलिएको डेढ महिना भयो । 

गएको फागुन १ गते अस्पताल भर्ना भएकी कमलाको एक महिनासम्म होश थिएन । एक महिनासम्म मुढोझैं भएकी कमलाको अहिले होश खुलेको छ । ल्युकेमिया ब्लड क्यान्सर रोगले गलेकी कमलाको उपचारमा पैसा नहुँदा समस्या भएको छ ।

एक महिनासम्म आईसीयूम कक्षमा उपचार गराएपछि अहिले कमलालाई सामान्य वार्डमा सारिएको छ । जीवनका हरेक क्षणमा सँगै रहने भन्दै १२ वर्षअघि काम खोज्दै कमला र विमल यूएई आउनु भएको हो । 

श्रीमान् एउटा कम्पनीमा सेल्सम्यानको रुपमा काम गर्नुहुन्छ । कमला पनि श्रीमानको स्पोन्सर भिसामा रहेर कहिले सेल्स् र क्यासियरका रुपमा काम गर्नुहुन्थ्यो ।

चार वर्ष पहिले छोरी जन्मिएपछि उनको हेरविचार गर्नुपर्ने भएकोले कमलाले काम गर्न छोड्नु भएको थियो । श्रीमान विमलको कमाइले दुःखसुख गुजारा चलिरहेकै थियो ।

गएको माघ २६ गते कमलालाई सामान्य ज्वरो आयो । विमलले नजिकैको मेडिकलबाट ज्वरोको औषधी ल्याएर खुवाउनुभयो । स्वास्थ्यमा सुधार नभएपछि दुबईको इरानी अस्पताल जानुभयो कमला ।

विमल काममा भएकाले एउटै तलामा बस्ने साथीको सहारामा कमला अस्पताल पुग्नुभएको थियो । तर अवस्था झन् झन् कमजोर हुँदै गएकोले माघ २८ गते वरदुबईको अल रफा अस्पताल लगियो । स्वास्थ्य रिपोर्टमा कमलामा ल्यूकेमिया ब्लड क्यान्सरको लक्षण देखिएको अस्पतालले जनायो । 

निजी अस्पतालमा उपचार गराउँदा खर्चले धान्न नसक्ने बुझेर कमलालाई दुबई रशिद अस्पताल पुर्याइयो । तर अस्पतालले क्यान्सर रोगको उपचार नहुने भन्दै दुबई अस्पतालमा लैजान भन्यो ।

फागुन १ गते डेरा दुबईमा रहेको दुबई अस्पतालमा कमलालाई भर्ना गरियो । त्यही दिनदेखि कमला बेहोस हुनुभएको हो । एक महिनासम्म आईसीयु कक्षमा राखेर उहाँको उपचार भयो । स्वास्थ्यमा सामान्य सुधार हुन थालेपछि अहिले सामान्य वार्डमा सारिएको छ । 

खर्च जुटाउनै समस्या

कमलाको उपचारमा अहिलेसम्म ४ लाख दिर्हाम खर्च भइसकेकोे श्रीमान् विमलले बताउनुभयो । झन्डै दुई महिना यता अस्पतालको शैयामा लडिरहेकी कमलाको झण्डै ३ लाख दिर्हामको बिल उठेको छ । तर तिर्न सक्नु भएको छैन ।

श्रीमती अस्पतालमा भर्ना भएदेखि विमल काममा जान पनि पाउनुभएको छैन । चार वर्षीया छोरीको पढाई पनि रोकियो । कमलाको उपचारमा दैनिक ४५ सय दिर्हाम खर्च हुन्छ ।

‘अहिले डाक्टरले औषधी लेखेर दिन्छन्, बाहिर किन्न जान पर्छ,’ विमल भन्नुहुन्छ, ‘साथीभाइको सहयोगले औषधी त जुटाइरहेको छु तर बेड चार्ज, स्वास्थ्य परीक्षण, के के हो के के कसरी धान्नु ।’आमा बिरामी भएदेखि छोरीको आँखा ओभाएका छैनन् । छोरीलाई एक्लै घरमा छाडेर अस्पताल धाउन पनि समस्या छ विमललाई । 

६ पटक किमो गराउनुपर्ने डाक्टरले बताएका छन् । तीनपटक किमो भइसकेको छ । एकपटक गर्दा ७ हजार दिर्हाम खर्च हुन्छ । विमल भन्नुहुन्छ, ‘मसँग त एक रुपैयाँ पनि छैन, सबै सकियो, यूएईमा रहेका नेपाली समाजसँग सहयोग त मागेको छु, तर कसरी के गर्ने भनेर सोच्न सकेको छैन ।’

दूतावासको चासो  

डेढ महिना पहिले कमलाको अवस्थाका बारेमा पहिलो पटक उज्यालोमा समाचार प्रकाशन भएपछि नेपाली दूतावास यूएईले चासो देखाएको थियो । श्रम काउन्सिलर भेषबहादुर कार्कीले परिवारसँग सम्पर्क गर्नुभएको थियो ।

बिरामीको खर्च मिनाहाका लागि सम्बन्धित अस्पतालाई दूतावासले पत्र लेखेको थियो । परिवारको आर्थिक अवस्थाबारे अस्पताललाई अवगत गराउँदै उपचारमा लागेको खर्च छुट गरिदिन पत्रमार्फत अनुरोध गरेको दूतावासले जनाएको छ । 

दूतावासबाट आधिकारिक प्रतिनिधि आउनुपर्ने जनाउँदै अस्पतालले पत्र बुझेको छैन । ‘दूतावासले लेखेको पत्र मेरो गोजीमा छ, अस्पतालमा बुझाउन पाएको छैन,’ विमलले भन्नुभयो । 

यसबारेमा थप जानकारी लिने र आवश्यक पहल गर्ने दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता सागरप्रसाद फुयाँलले बताउनुभयो । आवश्यक परे सोमबार बिरामीलाई भेट्न दूतावास  प्रतिनिधि अस्पताल जाने वा आधिकारिक पत्राचार गर्ने उहाँले जानकारी दिनुभयो । 

कमलाको उपचारमा सहयोग गर्न यहाँ कार्यरत नेपालीलाई सामुहिक आह्वान गरिएको छ । आबुधाबीमा दुई दिनमा झण्डै दुई हजार दिर्हाम संकलन भइसकेको यूएईमा कार्यरत गायक प्रकाश पौडेलले जानकारी दिनुभयो । 

यस्तै सम्बन्धित जिल्ला समाज, संघसंस्था तथा व्यक्तिहरुले समेत बिरामीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो पनि पढ्नुहोस्

पैसा नहुँदा दुबई अस्पतालमा १० दिनदेखि अचेत कमलाको उपचारमा समस्या

अन्तिम अपडेट: बैशाख ६, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया