श्रम मन्त्रालयमा सुरु भयो कल सेन्टर : देश र विदेशका लागि छुट्टाछुट्टैै नम्बर

 चैत १८, २०७५ सोमबार १६:५१:२ | मोहन पौडेल

काठमाण्डौं – हेलो को बोल्नुभयो ?

हजुर भन्नुस् म गोकर्ण विष्ट बोल्दै छु ।

तपाईंहरुकै समस्या सुन्नलाई यो कल सेन्टर सुरु भएको हो । बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म तपाईंहरुले यसमा फोन गरेर आफ्ना समस्या राख्न सक्नुहुन्छ । 
भन्नुस् तपाईंलाई के समस्या छ ?

हजुर मलेसियाको काम सुरु भइसकेको छ । 

फोन गर्ने व्यक्तिले सोधेका प्रश्न सुनिएन । तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले दिएका उत्तरबाट ती व्यक्तिले मलेसियाको रोजगारीकाबारेमा प्रश्न गरेको बुझ्न सकिन्थ्यो । 

मन्त्री र सेवाग्राहीबीचको यो कुराकानी सोमबार दिउँसोदेखि मन्त्रालयमा सञ्चालनमा आएको कल सेन्टरमा भएको हो । वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेकाहरुका गुनासो र समस्या, देशभित्रको श्रम र सामाजिक सुरक्षा विषयका गुनासा र समस्या सुन्न र समाधान गर्न आज सोमबारदेखि सिंहदरबारमा कल सेन्टर सुरु भएको हो । 

वैदेशिक रोजगार बोर्डको व्यवस्थापनमा सुरु कल सेन्टरमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीले वैदेशिक रोजगार विभाग, प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, वैदेशिक रोजगार बोर्डलगायत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतका निकायहरूका सेवा, कार्यक्रमहरूबारे कुनै पनि जानकारी, सुझाव वा गुनासो गर्न सक्नेछन् । 

कल सेन्टर बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ । आउने गुनासोको चाप बढी भए चौबीसैघण्टा सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । ‘स्वदेश तथा विदेशमा रहेकाले फोन, इमेल, इमो भाइवर लगायतबाट आफ्ना सुझाव, गुनासो वा जानकारी लिन सक्नेछन्’व्यवस्थापन गरेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजप्रसाद श्रेष्ठले भन्नुभयो, ‘जुन निकायसँग सम्बन्धित गुनासो वा सुझाव छ त्यसलाई तत्काल कल सेन्टरमार्फत त्यही निकायमा पठाउने व्यवस्था गरिने छ ।’

समस्या समाधान भए/नभएको मन्त्रीले आफैंले अनुगमन गर्ने

गुनासो वा सुझावको सुनुवाई भए/नभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मोबाइलबाटै हेर्नुहुने भएको छ । के कस्ता समस्या र गुनासा आएका थिए, अनि तीमध्ये के कति समाधान भए भन्ने जानकारी मन्त्रीले मोबाइलमा रहेको एपबाटै हेर्न सक्ने गरी व्यवस्था गरिएको छ ।

‘सेवाग्राहीलाई तत्काल सेवा दिन र साँच्चै नै सबै निकायलाई जिम्मेवार र उत्तरदायी बनाउनका लागि यो काम हामीले अघि बढाएका हौं, यसले सबैलाई फाइदा पुग्ने हाम्रो विश्वास छ,’ मन्त्री विष्टले भन्नुभयो । 

देशभित्र बाहिरका लागि छुट्टाछुट्टै नम्बर 

कल सेन्टरमा समस्या र गुनासा सुन्न देशभित्र र बाहिरका लागि छुट्टाछुट्टै नम्बरको व्यवस्था गरिएको छ । देशमा भएकाहरुले ११४१ र १६६००१५०००५ नम्बरमा फोन गर्न सकिनेछन् ।

अहिलेलाई नेपाल टेलिकमको मोबाइलबाट यी नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्ने छैन । केही समयपछि एनसेलका प्रयागकर्तालाई समेत निःशुल्क हुनेगरी व्यवस्था मिलाउने बोर्डको तयारी छ । विदेशमा हुनेहरुले भनेर ९७७ – १–५९७०००८ मार्फत फोन गरेर गुनासो वा जानकारी लिन सक्नेछन् । 

वैदेशिक रोजगारीका लागि जानुअघि देशभित्रै ठगीमा पर्दा वा विदेशमा पुगिसकेपछि भनेको काम र तलब नपाएर समस्यामा पर्दा कल सेन्टरमा फोन गरेर सहयोग माग्न सकिने छ । 

गुनासा र समस्या सुनेर तत्काल समाधान गरिने मन्त्री विष्टले जानकारी दिनुभयो । मन्त्रालयले यसअघि पनि वैदेशिक रोजगार विभाग र मन्त्रालयमा नै ‘हेल्प डेस्क’ सञ्चालन गरेको थियो । तर त्यो प्रभावकारी हुन नसकेपछि कल सेन्टर सुरु गरिएको हो ।

सेवाग्राहीको गुनासो तत्काल प्राप्त गर्न र  उनीहरुको गुनासोलाई तत्काल सम्बोधन गर्ने गरी काम अघि बढाउन मन्त्री विष्टले दिएको निर्देशनअनुसार मन्त्रालयभित्रै कल सेन्टर स्थापना गरिएको हो । 

सामाजिक सञ्जालबाट पनि गुनासो गर्न सकिने 

कल सेन्टरमा फोनसँगै सामाजिक सञ्जालबाट पनि गुनासा र समस्या टिपाउन सकिने गरी व्यवस्था मिलाइएको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो।

फेसबुक, इमो, भाइबर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालबाट पनि गुनासो गर्न सकिने गरी कलसेन्टरको स्थापना गर्न लागिएको छ ।  ९७७ – १–५९७०००८ नम्बरमार्फत भाइवर, इमो म्यासेन्जरमार्फत आफ्नो गुनासो सुझाव र जानकारी लिन सकिने छ ।

त्यसका लागि मन्त्रालयको फेसबुक पेज https://www.facebook.com/molcallcenter/ गुनासो तथा समस्या राख्न सकिने छ । कलसेन्टरमा फोन गरेर कुनै जानकारी लिन चाहेका तत्काल जानकारी लिन सकिने र गुनासो र सुझाव भएमा पनि सम्बन्धित निकायलाई तत्काल त्यसको सम्बोधन गर्नका लागि उत्तरदायी बनाउन कल सेन्टरले सहयोग गर्ने कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ५, २०८०

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया