घरसँगै छोराको बिहेका लागि जोडेको गहना पनि उड्यो

 चैत १८, २०७५ सोमबार १८:४४:५२ | जयनारायण यादव
unn.prixa.net

बारा – आइतबार साँझ आएको भुमरीसहितको हावाहुरीले बाराको फेटा गाउँपालिका–१, की राजपति देवीको घर मात्रै उडाएन । घरसँगसँगै बुहारी भित्र्याउने सपना पनि उडाइदिएको छ । 

उहाँको छोरोको आउँदो वैशाख ५ गतेका लागि बिहे तय भएको थियो । त्यसका लागि आवश्यक तयारीमा जुटेका थिए उनीहरु ।

बुहारीका लागि गरगहना जोड्ने, विवाहमा लाग्ने आवश्यक खर्च जम्मा गर्ने काम हुँदै थियो । ‘सरसापट गरेर अलिअलि तयारी गर्दै थियौँ’, उहाँले भन्नुभयो, ‘तर आइतबार राति आएको हावाहुरीले सबै उडाइदियो ।’ 

सरसापट गरेर बनाएको गहनादेखि नगद जम्मै उडाइदिएको उहाँले बताउनुभयो । ‘घर, लत्ताकपडा, भाडावर्तन केही पनि बाँकी छैन अब त’, उहाँले भन्नुभयो, ‘घर थियो हुरीले उडाएपछि अब त सडकमा आइपुगियो ।’

अहिले वरपर अरु छिमेकीको पीडा हेर्दा आफ्नो पीडा त कमै रहेछ भन्ने लागेको उहाँ सुनाउनुहुन्छ । ‘हाम्रो त घर मात्रै उडाएको हो, हाम्रै कतिपय छिमेकीले आफन्त गुमाउनु परेको छ’, उहाँले भन्नुभयो । 

भएको सबै उडाएपछि अब कसरी बस्ने अनि खाने भन्ने चिन्ताले राजपतिलाई सताएको छ । मर्नबाट त बचियो तर अब तय भइसकेको छोरोको बिहे सडकमै बसेर कसरी गर्ने भन्ने सोचमा राजपति र उहाँको परिवार परेको छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया