जहाँ कमजोर विद्यार्थीको स्तर उकास्न मित लगाइन्छ, चाउचाउ र बिस्कुटका कार्टुनबाटै शैक्षिक सामाग्री बनाइन्छ

 चैत १९, २०७५ मंगलबार ७:३८:१२ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि छविसपाथिभेरा गाँउपालिका वडा नम्बर ३ मा रहेको लक्ष्मी आधारभूत विद्यालयका एक शिक्षकले मितेरी कक्षा सञ्चालनदेखि खेर गएका खेस्रा र तासहरुको समेत प्रयोग गर्ने गर्नुभएको छ । उहाँले गाँउघरमा प्रयोग भइसकेका तासका पत्ता, खेस्रा कापी, चाउचाउ बिस्कुटका कार्टुनहरुको प्रयोगबाट शैक्षिक सामाग्री निर्माण गर्ने गर्नुभएको छ ।   

विद्यालयका शिक्षक पुष्पराज जोशीले अब लौरो समातेर भन्दा पनि बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरुको माध्यमबाट विद्यार्थीहरुको शैक्षिक गुणस्तर राम्रो हुने बताउनुभयो । कक्षा १ र २ मा हालै मितेरी कक्षा सञ्चालन गरिनुका साथै तासको पत्ताको प्रयोग गरेर बालबालिकालाई अध्यापन गराइरहेका शिक्षक जोशी भन्नुहुन्छ ‘कक्षामा जान्ने विद्यार्थी र नजान्ने विद्यार्थीबीच मितेरी लगाएर जान्ने विद्यार्थीले नजान्ने विद्यार्थीलाई आफूजस्तै जान्ने बनाउने शर्तमा मितेर लगाई दिने गरिएको छ ।’


 
कक्षा १ मा अध्ययनरत काले सार्कीसँग जमुना सार्कीको मितेरी छ । काले सार्की कक्षामा सबैभन्दा जान्ने विद्यार्थी हुन् भने जमुना सबैभन्दा कमजोर छिन् । अहिले जमुना पनि जान्ने विद्यार्थी भइसकेकी छिन् । उनीहरुले मितेरी लगाएको ६ महिना भयो । उनीहरु एउटै बेन्चमा बस्छन्, मध्यान्तरको समयमा पनि सँगै हाँसखेल गर्दै कक्षाकोठामा सिकाइएका कुराहरु एक आपसमा सिक्ने हुँदा अहिलेको परीक्षामा जमुना राम्रो जान्ने भएको शिक्षकको भनाइ छ ।  

कक्षा २ मा अध्ययनरत किणी सार्की र विमल विकबीच पनि मितेरी लगाइएको छ । कक्षामा सबैभन्दा जान्ने किणी र कक्षामा सबैभन्दा कमजोर विमलसँग मितेरी लगाई दिएपछि विमलमा निकै परिवर्तन भएको शिक्षक बताउँछन् । बाह्रखरी समेत राम्रोसँग नआउने विमल अहिले बाह्रखरी मात्रै नभई अङ्ग्रेजीको पाठ समेत पढ्न सक्ने र अहिलेको परीक्षा राम्रो गरेको बताउनुहुन्छ ।


  
उनीहरु जस्तै मनिस सार्की र रविन सार्कीको समेत मितेरी छ । कक्षा १ र २ मा शुरु गरिएको मितेरी कक्षा अब कक्षा ५ सम्म नै सञ्चालन गरिने तयारी गरिरहेको विद्यालयका प्राध्यानाध्यापक पदम राज उपाध्यायले बताउनुभयो । एक जान्ने विद्यार्थीसँग अर्को नजान्ने विद्यार्थीको मितेरी लगाउँदा विद्यार्थीहरुबीच हुने मेलमिलाप राम्रो हुनुका साथै पढाई पनि राम्रो हुने गरेको उहाँको भनाइ छ । 

यति मात्रै नभई विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि बजारमा र गाँउ घरमा फ्याँकिएका चाउचाउ, बिस्कुटका कार्टुन र प्रयोग गरेर फ्याँकिएका तासहरुको समेत प्रयोग गर्ने गरेको विद्यालयका शिक्षक पुष्पराज जोशीले बताउनुभयो । ‘प्रयोग गरेर सडकमा फालिएका खेस्रा र कार्टुनबाट विद्यार्थीहरुको ध्यान आकर्षण गर्न सकिने खालका शैक्षिक सामाग्री निर्माण गर्ने गरिएको छ । विभिन्न पशुपन्क्षी, सजीव तथा निर्जीव वस्तु र फलफूलका चित्र सहित कार्टुनबाट निर्माण गरी बालबालिकाहरुलाई सिकाइने गरेको छ ।’ उहाँले भन्नुभयो । 


 
विद्यालयमा हाजिर हुँदा आफ्नो रोल नम्बर आउँदा यहाँका बालबालिकाहरुले उपस्थित छु (यस सर) भन्न छोडेर लाइनमा हाजिर गर्दा शिक्षकहरुले विद्यार्थीको हातमा तासका कार्टुनमा लेखिएका जनावर र फलफूलका नाम दिने गरेका छन् । जुन विद्यार्थीको रोल नम्बर आउँछ त्यो विद्यार्थीले कार्टुनमा लेखिएको अक्षर गाई (काउ) वा केरा (बनाना) यस्तै विभिन्न जनावर र फलफूलका नाम भन्ने गरेको शिक्षक जोशीले भन्नुभयो ।  

कक्षा कोठामा जाँदा शिक्षकहरु यस्तै शैक्षिक सामाग्रीहरु लिएर जाने गरेका छन् । यस्ता शैक्षिक सामाग्रीहरु लामो समयदेखि शिक्षण गरिरहेका शिक्षक पुष्पराज जोशीले निर्माण गर्नुहुन्छ । कोठामा विभिन्न अक्षरहरु कुँदेर शैक्षिक सामाग्रीहरु बनाउने गरेको जोशीले बताउनुभयो । अरु समयभन्दा घरमा भएको खाली समय र विद्यालयको मध्यान्तरको समयमा यस्ता शैक्षिक सामाग्रीहरु जोशीले बनाउने गरेको बताउनुभयो । 

लामो समय बाजुरा जिल्लाकोे सरस्वती प्रावि र पाते प्रावि पाते, दहकोटमा अध्यापन गराउँदै आउनुभएका जोशी शिक्षा पदक पुरस्कारबाट समेत सम्मानित हुनु भएको छ । विसं २०४४ सालबाट जोशी शिक्षक पेशामा आबद्ध हुनुहुन्छ । उहाँले बाजुरा जिल्लाका यी दुबै स्कुललाई नमूनाका रुपमा परिचित गराई सक्नु भएको छ । 


 
 

अन्तिम अपडेट: चैत ४, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया